ओमप्रकाश पुन सहितका नेताले छोडे विप्लवको साथ, उनीहरू माओबादीमा प्रबेश गर्ने
वि.सं.२०७९ असार ९ बिहीवार ११:०४
shares

धनगढी ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन सहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् । जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुन सहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवंम् विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफूहरुले सामूहिक राजीनामा दिएको पुष्टि गर्दैसेती महाकाली इन्चार्जरहेका ओमप्रकाश पुनले भने, ‘कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणलाई महसुस गयौं । हाम्रो नेतृत्व अहिले यो दिशामा जाने स्थिती देखिएन टुटफुट र विभाजित भएका कम्युनिष्ट शक्तिहरू स-साना समूहमा बसेर हुँदैन । उनले सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकोले सबैलाई एकताबद्ध गर्न अभियान थालेको बताए ।
नेता पुनले माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा पुगिनसकेको बताए । उनले माओवादी सँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताए ।

































