सरकारको नेपालमा रहेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी
वि.सं.२०७९ असार १३ सोमवार १८:०६
shares

काठमाडौं ।सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउन बाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।
‘छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने । तर, कहिले देखि परिचयपत्र दिने ? त्यस्ता परिचय पत्र पाउन बाट छुटेका शरणार्थीहरु कति छन ? भन्ने विषयमा गृहमन्त्री खाँणले कुनै जानकारी दिएका छैनन् । नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए ।
मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरु दुनियाँका जुनसुकै कुनामा जन्मिएको भए पनि उनीहरु मानव हुन्, नागरिकहरु नै हुन् । उनीहरुको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि विभिन्न काल खण्डमा बिभिन्न भू-भाग बाट आएर बसेका शरणार्थीहरु हुनुहुन्छ । ती शरणार्थीहरु पनि मानव नै हुन् । त्यसकारण उनीहरुको जीवनयापन सहज होस्, उनीहरुले मानव अधिकार प्राप्त गरुन भन्ने नै सरकारको चाहना छ ।’
नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरुका सन्तानहरु नेपालमै जन्मिएका र हुर्किएको उल्लेख गर्दै मन्त्री खाँणले उनीहरु प्रति नेपाल सरकार र नेपाली समाजको दायित्व रहेको बताए । उनले भने, ‘कतिपय शरणार्थीहरु जसको नेपालमै बालबच्चाहरु जन्मिएका छन्, हुर्कँदै छन्, बढ्दै छ्न । उनीहरुको पनि दायित्व हाम्रो समाजको र सरकारको हो ।’
कोरोना भाइरसको महामारी बाट बच्न कोरोना खोप लगाउँदा नेपालमा रहेका सबै मावनले पाउने गरी व्यवस्था मिलाएको उनले स्मरण गरे । ‘सुरुमा नेपाली नागरिकले मात्रै खोप लगाउन पाउने थियो । त्यसलाइ बदलेर नेपालमा बसोबास गरिरहेका सबैलाई खोप दिने व्यवस्था मिलायौं । शरणार्थीहरुलाई पनि पहिचान खुलेका, परिचय पत्र प्राप्त नगरेकाहरु सबैलाई खोप दिएका छौं, दिने भनेका छौं’ मन्त्री खाँणले भने ।





































