काँग्रेसको कुटिल रणनीतिक उद्देश्यमा दाहाल फस्दै
वि.सं.२०७९ माघ २६ बिहीवार १३:०५
shares

प्रधानमन्त्री दाहालको अग्नि परीक्षा अब सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर राजनीतिक चरित्र कै कारण अहिलेको सत्ता गठबन्धनमा संकट उत्पन्न हुनसक्ने सम्भावना बढेर गएको छ । दाहाल जति पटक प्रधानमन्त्री बने त्यति नै पटक अस्थिर चरित्र देखाएर उनी लामो समयसम्म प्रधानमन्त्री बन्न नसकेको इतिहास साक्षीँ रहेको छ ।
यसभन्दा अगाडि दुई पटक प्रधानमन्त्री बनेका दाहालले आफ्नै अस्थिर चरित्रका कारण पद गुमाउनु परको थियो । अहिले पनि त्यस्तै अवस्था देखिएको छ । मंसिर ४ गते भन्दा अगाडि शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी सहितको पाँच दलिय गठबन्धन रहेको थियो ।
सो गठबन्धन निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएको भएपनि उसले संघीय संसद र सातै प्रदेश सभाहरुमा सरकार निर्माण गर्न आवश्यक बहुमत ल्याउन सकेन । काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भयो भने नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो पार्टी बन्न पुगे ।
निर्वाचनको परिणाम सार्वजनिक हुने बित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घोष गरे, सरकार निर्माण गर्ने चाबी माओदीको हातमा रहेको छ भनेर तर काँगे्रसले आफ्नो पार्टी सबैभन्दा ठूलो दल बनेको हुनाले सरकारको नेतृत्व आफैले गर्न पाउनु पर्ने र राष्ट्रपति समेत आफ्नै पार्टीले पाउनुपर्ने अडान लिएपछि पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने इच्छामा तीव्र ब्रेक लागेपछि उनी छटपटाएर एमाले अध्यक्ष केपी ओलीको निवासमा पुगेका थिए ।
एमालेका अध्यक्ष ओली कै संयोजनमा अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सहितका पार्टीहरु तयार भए । पुष १० गते पुष्पकमल दाहाल र केपी ओली सहित अन्य दलका अध्यक्षहरुबीचमा सहमति भयो । त्यही सहमतिका आधारमा दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।
प्रधानमन्त्री दाहाललाई स्वीकार गर्ने एमालेलाई राष्ट्रपति र संघीय ससंदको सभामुख दिने, सातै प्रदेशमा संघीय सरकारमा सहभागी हुने दलको संयुक्त सरकार निर्माण गर्ने, प्रदेश सभामुख, मुख्यमन्त्री र पसभामुख पनि भागवण्डा गर्ने भनेर ।
त्यसै दिन प्रधानमन्त्री आलोपालो हुने र एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा संघीय संसद्को सभामुख माओवादी केन्द्रबाट हुने सहमति भएको र त्यसैअनुसार सहमति कार्यान्वयन हुँदै गर्दा प्रधानमन्त्री दाहालको चाहना पाँच वर्षसम्म प्रधानमन्त्री रहिरहने भएकोले गर्दा अहिलेको सत्ता गठबन्धनमाथि दाहालले नै संकट थपिदिएका छन् ।
प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने दिन पुष २६ गते काँग्रेसले दाहाल सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको माला जप्न थालेका हुन् ।
नेपाली काँग्रेसले सत्ता नपाउने भएकाले ऊ पानी बेगरको माछाजस्तो छटपटाइ रहेको बेला उसले प्रधानमन्त्री दाहालको अस्थिर राजनीतिक चरित्रलाई मध्यनजर गरेर सत्ता गठबन्धन टुक्रयाउने रणनीतिक उद्देश्यका साथ दाहाल सरकारलाई विश्वासको मत दिएको थियो ।
काँग्रेसको रणनीतिक उद्देश्यलाई दाहालजस्ता चतुर व्यक्तिले बुझेका छैनन् होला भनेर भन्न सकिन्न । तर किन र केका लागि उनी अहिले पुष १० गते भएको सहमति तोड्न लागि परेका छन् त भन्ने प्रश्नसमेत उठेको छ ।
दाहाल सरकार संविधानको धारा ७६ को (२) अनुसार गठन भएको सरकार हो । यो सरकारले विश्वासको मत गुमाएको खण्डमा संविधानको धारा ७६ को (३) अनुसारको सरकार गठन हुन्छ । त्यो भनेको संसद्को सबैभन्दा ठूलो पार्टीको नेतृत्वमा सरकार गठन हुनु हो ।
अहिले नेपाली काँग्रेस नै संसद्मा सबैभन्दा ठूलो दल भएकोले उसैको नेतृत्वमा सरकार बनाउनका लागि काँग्रेसले अनेक जालझेल गरेर प्रधानमन्त्री दाहाललाई आफ्नो पक्षमा पार्ने रणनीतिक उद्देश्य लिएको छ ।
काँग्रेसले अहिलेको सत्ता गठबन्धनलाई टुक्रयाउन सकेको खण्डमा आफ्नो हातमा सत्ता आउने आँकलन गरेको छ । अहिलेको सत्तागठबन्धन टुटेपनि काँग्रेस छदैछ भन्ने अभिव्यक्ति प्रधानमन्त्री दाहालले केही समय अघि दिएका थिए ।
काँग्रेसले अहिलेको सत्ता गठबन्धन टुक्रयाउन सकेको खण्डमा केही समयका लागि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत कायम राख्ने र केही समयपछि फिर्ता लिएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य पार्ने रणनीतिक उद्देश्य लिएको छ ।
त्यसबेला अहिले सत्ता गठबन्धनमा रहेका दलहरुले दाहाललाई विश्वासको मत दिन सक्ने अवस्था नरहने र काँग्रेसले पनि नदिने भएकाले प्रधानमन्त्री दाहाल पदमुक्त हुने निश्चित हुनेछ ।
दाहाल पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ का (३) अनुसार सरकार निर्माण गर्न आव्हान गर्नुपर्ने हुन्छ । अहिले काँग्रेसले आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्दछ भन्नुको पछाडि पनि संविधानको धारा ७६ को (३) सँग जोडिएको छ । आफ्नो पार्टीको राष्ट्रपति बनेको अवस्थामा आफुलाई सहज हुने भएकाले गर्दा प्रधानमन्त्री दाहालकै बलमा काँग्रेसले राष्ट्रपति पाउनुपर्ने माग गरिरहेको छ ।
काँग्रेसले बिनार्सत दाहाललाई विश्वासको मत दिएको किमार्थ होइन ? उसको ध्यान भनेको अहिलेको सत्ता गठबन्धन टुक्रयाउने र प्रधानमन्त्री दाहालकै बलमा राष्ट्रपति लिएर सत्ता आफ्नो पोल्टोमा पार्ने कुटिल रणनीतिक उद्देश्य काँग्रेसको हो, त्यो पनि प्रधानमन्त्री दाहालकै सहयोग र समर्थनमा ।
यसरी प्रधानमन्त्री दाहालले दुई डुंगामा खुट्टा राख्ने प्रयास गरेको खण्डमा उनी उठ्नै नसक्ने गरी डुबेर आफ्नो अस्थिर राजनीतिक चरित्र उर्जागर गर्न तयार होलान त ? भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।





































