linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्टतन्त्रको शासन, ध्रुवे हात्तीको आसन

637
shares

राजन कार्की

लोकतान्त्रिक शासन व्यवस्थामा भ्रष्टाचार, अनीति, लुटाह घटनाका अनेक दृष्टान्त दिनदिनै देखिएका छन् । दोस्रो आवधिक निर्वाचनपछि पनि अराजकता र भ्रष्टतन्त्रमा कुनै कमी आएन ।

यसपटकको निर्वाचन र सरकार गठनपछि राजनीतिक आदर्श, नीति र सिद्धान्तमात्र होइन, नेतृत्वको निष्ठामा समेत प्रश्न उठेको छ ।

के हो राजनीति भन्ने सवालको जवाफ दिन नसकिने भएको छ । हरेक नेता सत्ताको भागबण्डाका लागि आफू कहाँ उभिएको छु भन्नेसम्म बिर्सेको देखियो ।

अचम्म त के पनि देखियो भने चुनाव जित्नका लागि, सरकार गठन गर्नका लागि गठबन्धन बने । पहिलेको गठबन्धन टुट्यो, निर्वाचनमा भएको गठबन्धन पनि टुट्यो । एकले अर्कोलाई आरोप प्रत्यारोपको श्रृङ्खला रोकिएन ।

पहिले ओली र प्रचण्ड मिले, झगडा भयो प्रचण्ड र देउवा मिले । चुनावपछि ओली र प्रचण्ड मिलेका छन् । यो मिलेमतो फेरि टुट्ने टुट्ने भीरमा पुगेको छ । राष्ट्रपतिको चुनावअघि नै टुट्न पनि सक्छ । किनकि प्रचण्ड देउवासँग निकट पुगिसके, ओली सशंकित छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी दोबाटोमा उभिएको छ ।
यो सरकार संसारकै आश्चर्यलाग्दो विश्वासको मत पाएको सरकार हो । ९९.२५ प्रतिशत विश्वासको मत पाएको । यो संसद ंसंसारकै आश्च्र्यलाग्दो संसद हो, जहाँ प्रतिपक्ष नै छैन । र, यो सरकार यस्तो सरकार हो, जो जुनसुकै बेला ढल्न सक्छ ।

माक्र्सवादी र माओवादी, राजावादी र भ्रष्टाचारविरोधी मिलेर बनेको सरकार । भ्रष्टाचारविरोधी सरकारबाट बाहिरिएको छ, राजावादी र माक्र्सवादी निकट छन्, माओवादी फेरि प्रजातन्त्रवादीको दैलो ढुक्न पुगिसकेको अवस्था छ । अर्थात् नेपाली राजनीति बाँदरको हातको नरिवलजस्तो हुनपुगेको छ ।

यो सरकारलाई वर्णशंकर भन्दा पनि हुन्छ । नेपाली राजनीति चटकेले देखाउने चटकजस्तो पनि लाग्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीमाथि नागरिकता र पासपोर्ट काण्ड ल्याएर जोल्ट हानियो, उसको २० बाट शक्ति १९ मा झरेको छ । यस घटनापछि अध्यक्ष रवि लामिछानेले जुन प्रकारले १२ भाइ पत्रकारमाथि हमला गरे, यसपछि राजनीति र पत्रकारिता वर्तमान बागमतीको नियतिमा देखापरेको छ ।

३३ वर्ष अघि बहुदल आयो भने प्रजातान्त्रिक नेपाल बन्छ भन्ने यिनै हुन् । यिनैले ०४७ को उत्कृष्ठ संविधान लेखे, जारी गरे र संविधानअनुसार चल्न सकेनन्, च्यातिदिए । हिन्दुधर्म र राजतन्त्र फालेपछि सुखैसुख पाइन्छ भनेर जनतालाई सपना देखाइयो, न शान्ति आयो न सुख पाइयो । अजङ अजङका अराजकतामात्र भोग्नुप¥यो ।

२०७२ को संविधान घोषणा भयो, न समृद्ध नेपाल र न सुखी नेपाली भए । निर्वाचनमा बहुमत पाए स्थिर सरकार र विकास दिने वाचा गर्ने यिनै हुन्, जो दुई तिहाइको शक्तिको मात चढेर अहिले सडकमा उभिएर एकले अर्कोलाई खुइल्याइरहेका छन् ।

सही कुरो के हो भने सत्ता र शक्तिका लागि आज जो झगडा गरिरहेका छन्, यिनीहरु आफ्नै वचन, आफ्नै घोषणापत्र, नीति, नैतिकता र सिद्धान्तमा अडिन सकेनन् । मौसम अनुसारका ट्यूनिक लगाउँदा लगाउँदै इम्परर न्यू क्लथको कथाजस्तै नाङ्गै भइसकेको हेक्का नै पाएनन् ।

यतिबेला अँध्यारो कोठामा हुने गरेको सेटिङ–झगडा सडकमा पुगेको छ । नागरिक समाज, अधिकारकर्मी, बुद्धिजीवी, हरेक पेशाकर्मी, व्यवसायीहरू एउटा न एउटा पक्षमा उभिएका देखिन्छन् । न्यायको मन्दिरमात्र होइन, जनताको आवाज लेख्ने, बोल्ने र छाप्नेसमेत धुलाम्मे हुनपुगेका छन् ।

स्वतन्त्र कोही छैनन्, हुन चाहदैनन् । आम नागरिकमा असन्तुष्टि यसरी उर्लिएको छ कि अर्को परिवर्तन अवश्यम्भावी चाहियो । तर परिवर्तनपछि आउने के, पाउने के ?
माओवादीले समानुपातिक ल्यायो, त्योभन्दा बदनाम अरु कुनै निर्णय हुनसकेन । कांग्रेसले खुलापन ल्यायो, यति खुला भयो कि कुनै पनि नेता र कसैले हाँकेको सरकारको लगौंटी पनि बाँकी रहेन । एमालेले बृद्ध भत्ता ल्यायो, त्यही नीतिमा एमालेले आफूलाई बाँकावीर सम्झिरहेको छ । बाँकी परिवर्तन भयो, हात लाग्यो शून्य । शुन्यभन्दा पर जनअसन्तुष्टि, जनाक्रोशमात्र छ ।

शक्तिराष्ट्रहरु नेपालमा छिरिसकेका छन् । मुख्य सवाल उत्तर, दक्षिणका छिमेकीलाई आफ्नो सुरक्षा र प्रभाव स्थापित गर्नुछ, अमेरिकालाई दक्षिण एसियामा प्रभूत्व स्थापित गरेर विश्वनेतृत्वको सर्वेसर्वाको पदवी टिकाउनु छ ।

नेपाल चीन र अमेरिकाको शीतयुद्धमा लगलग कामन थालिसकेको छ । नेतृत्वमा परम्परागत नीति र घोषित संविधान बचाउनै पर्ने बाध्यता छ । तथापि नेतृत्वमा त्यो ल्याकत देखिदैन ।

झट्ट हेर्दा माक्र्स र माओवादी यो सरकारलाई चीन, भारत र अमेरिकाको बलियो साथ छ । यथार्थमा यो सरकार चीन निकट हो कि दक्षिण पश्चिम ? भन्न सकिन्न । जनयुद्धकालीन त्रासदीबाट उम्केको १५ वर्ष भइसक्यो, यो अवधिमा पनि संक्रमणकालीन न्याय स्थापित हुनसकेन ।

जो पीडक हुन्, उनै सत्तामा छन्, जो पीडित हुन्, उनीहरु न्याय मागिरहेका छन् । राजनीतिक स्वार्थका मुद्दामा महिनादिनमा फैसला हुन्छ, राजनीतिक स्वार्थ प्रभावी हुँदा ज्यानमारा मुद्दामा कहिले पनि फैसला हुँदैन । विधिको यस्तो विभेदकारी अवस्थाले अराजकता बढी छ । अराजकता भनेको असफलता हो, कसैले बुझेनन् ।

लाज मान्ने र देशप्रतिको जिम्मेवारी पूरा गर्ने हो भने राउण्ड टेबुल बहस गरेर एउटा निकास निकाल्नुपर्छ, बिना बिभेद त्यो बहसमा संसदवादी, राजतन्त्र, हिन्दुवादीदेखि विप्लववादीसम्मको सहभागिता हुनुपर्छ । यसका लागि आन्तरिक र बाह्य समर्थन समेत लिन जरूरी छ ।

बाह्य समर्थन यसकारण कि कुनै पनि नेता कुनै न कुनै बाह्य शक्तिमा अडेस लागेका छन् । जनता चुनावका हतियारमात्र बने, हाम्रा नेताहरू विदेशीका मतियार बन्नाले संकट बढेको हो । यो संकटको समाधान सहमतिबाट निकालिएन र अहिलेकै अराजकता बढ्न दिइयो भने राष्ट्र असफल हुनसक्छ । किनकि कानुन व्यवस्था, राजनीतिदेखि केही पनि सही तरिकाले चलेका छैनन् ।

राजनीति र कूटनीतिक बृत्तमा नाम चलेका व्यक्तिहरू भन्छन्– अमेरिका, चीन, भारत, बेलायत, युरोपियन युनियनका राजदूतहरूले आ–आफ्ना देशमा नेपालमा जनप्रतिनिधिहरू नाङ्गेझार भइसकेका र भ्रष्टाचारसहितको जवाफदेहिताविहीन बढ्दो अराजकताले नेपाललाई गाँज्दै लगेको कारण नियन्त्रणबाहिर जानसक्ने आँकलनको नोट पठाइसकेका छन् ।

यसैकारण नेपालको विश्वासनीयता घट्दै गएको छ । नेपालको भर कुनै विदेशी मित्रले गरिहाल्ने अवस्था छैन । प्रष्ट भन्ने हो भने हामीले हाम्रो हितलाई प्रधानता नदिएर विदेशीको चासोमा ध्यान दिंदा हामी छायाँमा परेका हौं ।

यतिबेला नेपाल छिमेकी र शक्तिराष्ट्रको निगरानीमा छ । विदेशका कनिष्ट अधिकारी आउँदा अथवा राजदूतहरुको ज्यादा सक्रियतामा रत्तिदा नेपालको सम्मान बढेको छैन ।

संसदीय प्रणालीमा अदालतले ७ दिनमा सरकार बनाउने देश पनि नेपाल हो । यहाँ विधि कम, बाहुबली ज्यादा चल्छ । नेतृत्व भ्रष्ट भयो भने व्यक्ति धनाढ्य हुनेरहेछन् । राष्ट्रमा विधिको शासन खलबलिने रहेछ भन्ने वर्तमान विश्वको ताजा उदाहरण नेपाल बनेको छ ।

०४६ सालपछि, विशेषगरी अझ १५ वर्षदेखि नेपालको शासनसत्ता, भोगविलाश, भव्यताको जननी गरीब नेपालीको रगत पसिना हो । नेपालका शासक, प्रशासक, उद्यमी व्यापारी, समाजसेवी, अधिकारकर्मी, नागरिक समाज, ठूला सञ्चारकर्मीका अगुवाहरूको भव्य रहनसहन गरीबकै रगतको मूल्यको उपज हो ।

भन्नलाई सेक्सपियरले भनेका थिए– पापले साहसी बनाउँदैन । तर नेपालमा नेताहरूको दुस्साहस मान्छेबाट ‘मांसाहारी’ स्तरमा झरेको होला । तैपनि यिनीहरू आफूलाई लोकतन्त्रवादी हौं भन्छन् । अचम्म छ । उनीहरूको हरेक पाइलाको लक्ष्य सम्भ्रान्त, सिंहदरवार र शीतल निवासतिरै अग्रसर देखिन्छ ।

जनजिविका र देशकोबारेमा कुनै प्रभावशालीलाई कुनै चासो देखिन्न । ज्योतिषशास्त्रका अनुसार बृहस्पति र राहु एक भएको स्थितिलाई चाण्डाल योग भनिन्छ । नेपालमा राहु केतु एक भएका छन् र नेपाल १७ हजारको बली चढाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र चिहानमा दनदनी बलिरहेको शवको नियति भोगिरहेको छ । हरेक बर्गको नेतृत्व शुद्ध केही छैन, कोही देखिदैनन् ।

सुरा र सुन्दरी, सत्ता र सम्पत्ति ः यही भयो लोकतान्त्रिक परिवर्तन । तत्काल सुधार जरुरी छ । सुधार भएन भने १९७५ को सिक्किम अथवा २०४९ को भूटान बन्न सक्छ । विदेशी सैनिक अखडा हुनसक्छ ।
हरेक शक्तिराष्ट्रहरू भन्छन्– आवर म्यान इज दियर ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports