भोली आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय
वि.सं.२०७९ माघ २८ शनिवार १७:०३
shares

नेपाल चिकित्सक संघले आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ। शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो।
शुक्रबार राष्ट्रपतिको सवारका क्रममा चिकित्सक माथि कुटपिट भएको भन्दै संघले आपत्ति जनाएको छ। ‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई भिभिआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु मात्र नभई हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरूलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएको प्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’, संघले विज्ञप्ति जारी गर्दै भनेको छ।
लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ।



































