नेपाल प्रहरीमा पद बढयो तर तलव घट्यो
वि.सं.२०७९ फागुन २३ मंगलवार ०८:१५
shares

काठमाडौं ।नेपाल प्रहरीमा पद बढेको एक वर्ष भन्दा धेरै हुँदा पनि ठूलो संख्यामा प्रहरीको तलब भने बढ्न सकेको छैन । नयाँ थपिएका पदमा अझै तलब समायोजन हुन सकेको छैन । उच्चतस्तरीय तलब सुविधा आयोगको प्रतिवेदनका आधारमा यसबारे निर्णय गर्ने भन्दै थाति राखिएको थियो । गत शनिबार सो आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । सरकारी कर्मचारीहरुको तलब न्यूनतम ३४ हजार बनाउन आयोगले सिफारिस गरेको छ । आयोगको प्रतिवेदन कार्यान्वयन भएमा जवानको तलब झन्डै १० हजार बढ्नेछ ।
साथै नयाँ थपिएका बरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदको तलब बढाउन पनि अब बाटो खुलेको छ । यस विषयमा प्रतिवेदनमा के छ भन्ने खुलाइएको छैन । पद बढेर फुली थपिए पनि तलब नबढेका करिब २० हजार प्रहरी मर्कामा परेका छन् । तलब नबढ्दा उनीहरुले बढुवा भएको महसुस पनि गर्न पाएका छैनन् । सई दर्जामा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएकाहरु बरिष्ठ सई हुँदा अहिले सईमा खाएको भन्दा २६२ रुपैयाँ कम तलब पाउने गरेका छन् । सईमा ८ ग्रेड तलब खाएकाहरुको तलब ४३ हजार ९ सय ९४ रुपैयाँ थियो अहिले ४३ हजार ७३२ रुपैयाँ पाउँदै आएका छन् ।
गत साउन १ गते बाट सरकारले लागू गरेको नयाँ तलबमान अनुसार वरिष्ठ सईको तलब ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको भने ३४ हजार ७३० रुपैयाँ छ । यो स्केल अनुसार आठ ग्रेड पाउने सइहरुले बरिष्ठ सईभन्दा धेरै तलब बुझ्ने गरेका छन् । सरकारले ध्यान नदिदा प्रहरीमा यस्तो समस्या आएको हो । एकातर्फ दिनमा १६ घन्टासम्म खटिनुपर्ने बाध्यता प्रहरीलाई छ । अर्काेतर्फ सेवा–सुविधामा पनि यसरी अपमान हुँदा प्रहरी कर्मचारीको मनोबल कमजोर छ । सरकारले तत्कालै आयोगको सिफारिसका आधारमा प्रहरीको तलबमान समायोजनको निर्णय गर्नुपर्ने आवश्यकता देखिएको छ ।






































