linktrix Long Ad
Salt Trading Long Ad

महिला सशक्तिकरण र लैङगिक समानता हासिल गर्नु ठूलो उपलब्धी हो : राष्ट्रपति भण्डारी

637
shares

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन् ।

‘महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।’

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएकी छन् । ‘राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो’, सन्देशमा भनिएको छ, ‘त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।’

अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्ने विश्वास राष्ट्रपति गरेकी छन् । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ । यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।्

‘डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँचमार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ’, सन्देशमा भनिएको छ, ‘नवप्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports