kumari
stcnepal

युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

काठमाडौं ।आसिफ खान र भृत्य अरविन्दको विस्फोटक ब्याटिङ सँगै यूएईले घरेलु टोली नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको यूएईका लागि महम्मद वसिम र भृत्य अरविन्दले ७९ रनको साझेदारी गरे । बुधबार मात्र पपुवा न्यूगिनी विरुद्ध शतक बनाएका बसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो ।

अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो । तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे ।

अरविन्द भने ९४ रन बनाएर अन्तिम बलमा आउट भए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

footer