दाहालका लागि समाजवादी मोर्चा ?
वि.सं.२०७९ चैत ३ शुक्रवार ०९:४१
shares

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध सर्बोच्च अदालतमा मुद्दा दर्ता भएपछि पूर्व माओवादी धारमा रहेका विभिन्न दलहरुका नेताहरु एकै ठाउँमा उभिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पूर्व माओवादी धारका नेताहरुलाई एकै ठाउँमा ल्याएर समाजवादी मोर्चा बनाउने र निकट भविष्यमा ठुलो कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्घोष गरेका भएपनि अहिले पूर्व माओवादी धारका नेताहरु समाजवादी केन्द्रमा नआउने भएका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले भने समाजवादी मोर्चामा सहभागि हुन सक्ने सम्भावना बढेको छ ।
अहिले सत्ता गठबन्धनमा रहेका दलहरु मध्येका र सरकारलाई समर्थन दिएका दलहरु समेत एकै ठाउँमा उभिन सक्ने अवस्था देखिएको छैन । अहिले कम्युनिष्ट नाम गरेका झण्डै १२÷१५ वटा पार्टीहरु रहेका छन् ती सबैले आ आफ्नो हैसियत अनुसारको पसल चलाई रहेका छन् । सानो पार्टीको भएपनि उनीहरु अध्यक्ष भएका छन् । सबै कम्युनिष्टहरु एकै ठाउँमा उभिँदा नेताहरुको व्यवस्थापन हुन नसक्ने र ठुलो पार्टी अर्थात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै अध्यक्ष रहने भएकाले गर्दा साना कम्युनिष्ट पार्टीहरु समाजवादी मोर्चामा आउन सक्ने सम्भावना देखिएको छैन ।
मोहन विक्रम सिंह, मोहन बैद्य, सीपी गजुरेले, सीपी मैनाली लगायतका धेरै कम्युनिष्ट नेताहरुले आ आफ्नो पार्टी सञ्चालन गरिहेका छन् । चित्रबहादुर केसीले समेत पार्टी सञ्चालन गरिरहेका हुनाले के उनीहरु सबै पुष्पकमल दाहाललाई अध्यक्ष स्वीकार गर्न तयार होलान त ? भ्यागुताको धार्नी पु¥याउन खोजेर दाहालले कांग्रेस, एमालेलाई दबावमा राख्ने प्रयास गरेपछि सो प्रयास सफल हुन सक्ने सम्भावना नै देखिँदैन । नेकपा एमालेलाई बाहिर राखेर भारेभुरे पार्टीहरु एकीकरण भएपनि त्यसको कुनै अर्थ रहँदैन ।
मुलुकको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी एमाले भएकाले बरु भारेभुरे पार्टीहरु एमालेमा विलय भएमा बलियो कम्युनिष्ट बन्न सक्छ । माओवादी केन्द्रको प्रभाव दिन प्रतिदिन घट्दै गएको निर्वाचनले देखाएको हुनाले माओवादीकै नेतृत्वमा ठुलो कम्युनिष्ट पार्टी बनाउने निरर्थक प्रयासको कुनै औचित्य छैन । माओवादी केन्द्रले आफ्नो नीति सिद्धान्तलाई कांग्रेसको पाउमा बुझाएको आरोप कम्युनिष्ट पार्टीहरुले लगाउँदै आएका हुनाले पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी मोर्चा बनेपनि त्यो लामो समयसम्म टिक्न सक्दैन ।






































