कार्तिक भित्र कांग्रेस र एमालेको सरकार निर्माण हुन्छ : हृदयेश त्रिपाठी
वि.सं.२०८० वैशाख १६ शनिवार ०७:३६
shares

रूपन्देही । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले वर्तमान गठबन्धन सरकार लामो समय टिक्न नसक्ने बताएका छन् । गृहजिल्ला पश्चिम् नवलपरासीमा त्रिपाठीले शुक्रबार पत्रकारहरु सँगको कुराकानीमा वर्तमान गठबन्धन ढलेर कात्तिक महिना भित्र कांग्रेस र एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
संविधानका केही प्रावधान र ऐन फेरबदल गर्ने सोचमा कांग्रेस र एमाले रहेको उनले बताए । ‘कांग्रेस र एमालेका वर्तमान नेतृत्व संविधानका कतिपय विषयमा असन्तुष्ट रहेकाले त्यसलाई फेरबदल गर्नका लागि ती दुई पार्टी मिलेर सरकार बनाउँछन् । त्यो कात्तिक महिना भित्रै हुन्छ’, उनको दाबी थियो ।
यी दुई ठूला पार्टी मिलेर सरकार बनाए पनि देशमा राजनीतिक स्थिरता भने नरहने उनले बताए । मुलकमा अर्थतन्त्र धरासायी हुँदै गएपनि वर्तमान सरकार त्यसतर्फ गम्भीर नभएकाले सरकार बन्नुको कुनै अर्थ नरहेको उनको टिप्पणी छ । ‘अर्थमन्त्रीले मुलकको वर्तमान आर्थिक अवस्थाका विषयमा श्वेतपत्र जारी गर्न खोजेपनि प्रधानमन्त्रीले रोकेका छन्’, उनले भने ।
अहिलेको संघीयता नाम मात्रको भएको र स्थानीय तहलाई असाधारण अधिकार दिएर प्रदेशलाई कमजोर बनाएको उनको तर्क छ ।रवि लामिछाने नेतृत्वको रास्वपाको स्पष्ट एजेण्डा नभएपनि उपचुनावको नतिजालाई पुराना र ठूला दलहरु प्रति जनताले देखाएको वितृष्णाका रुपमा बुझ्न सकिने त्रिपाठीको विश्लेषण छ ।






































