आज प्रकृति र पितृको पुजा गरी उँभौली पर्व मनाईदै
वि.सं.२०८० वैशाख २२ शुक्रवार ०७:२१
shares

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रो सँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मीयाम सुरू भएसँगै मानिस बेँसीबाट लेकतिर जाने भएकाले पनि यसलाई उँभौली भनिएको जानकारहरू बताउँछन् ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जंगली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि हो । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानी लगायत पूर्वी नेपालका खोटाङ, भोजपुर, ओखलढुंगा, संखुवासभा लगायतका क्जिल्लामा बस्ने किराँत समुदायले धुमधामका साथ यो पर्व मनाउँछन् ।






































