linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्टाचारीहरुको कुनै देश र धर्म हुँदैन, नक्कली भुटानी शरणार्थी काण्ड राष्ट्रघाती र देशद्रोही अपराध नै हो

728
shares

 

काठमाडौ । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री सहित पूर्व सभासद् आङटावा शेर्पा समेत पक्राउ परेपछि नेपाली कांग्रेसभित्र तरङ्ग उत्पन्न भएको छ । नक्कली भुटानी शरणार्थी काण्डका नाइकेहरु नै पक्राउ परेका र उनीहरुलाई सहयोग गर्नेहरु समेत पक्राउ परी प्रहरी हिरासतमा रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरुले कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमतीलाई र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीलाई रकम बुझाएको बयान दिएका र एक अडियो समेत सार्वजनिक भईसकेको अवस्थामा सभापति देउवा नै उनीहरुलाई बचाउने प्रयासमा लागि परेका छन् ।
केही दिन पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान सहित रक्षामन्त्री रहेका पूर्ण बहादुर खड्काले प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर अब उप्रान्त कसैलाई पक्राउ गर्नु अघि आफूहरुलाई जानकारी गराउन निर्देशन दिएको चर्चा चलिरहेको र प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा मात्र कसैलाई पक्राउ नगर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएको चर्चा चलिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोसुकै मुछिएका भएपनि उनीहरुलाई कानुनी कारबाही हुने र सरकारले प्रहरी प्रशासनलाई कुनै दबाब नदिने अभिव्यक्ति प्रधानमन्त्रीबाट आइरहेपनि कांग्रेसका नेताहरुको दबावमा प्रधानमन्त्रीले प्रहरी महानिरीकलाई त्यस्तो आदेश दिएको बताइएको छ ।
नेपाली कांग्रेस सत्ता गठबन्धनको महत्वपूर्ण घटक भएको र कांग्रेसका नेताहरुलाई पक्राउ गरि कारबाही गरेको खण्डमा सत्ता गठबन्धन नै टुट्न सक्ने अभिव्यक्ति रक्षामन्त्री पूर्ण बहादुर खड्काले प्रधानमन्त्री समक्ष गरेका समाचारहरु प्रकाशित र प्रशासरित भईरहेका बेला प्रहरी महानिरीकलाई प्रधानमन्त्रीले आदेश दिनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
संसद हुँदै सडकसम्म नक्कली भुटानी शरणार्थी काण्डको व्यापक विरोध हुँदै आएको छ । सार्वभौम नेपाली नागरिकलाई अनागरिक बनाएर अमेरिका पठाउने नाममा नेपाली जनतालाई ठगिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके केशव दुलाल र सानु भण्डारी नै भएका र उनीहरुकै सल्लाहमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा वादलले कार्यदल बनाएको र सो कार्यदलमा दुलाल र भण्डारीले भनेकै व्यक्तिलाई राखिनु अर्को अपराध थियो ।
नक्कली भुटानी शरणार्थी काण्डको विजारोपण रामबहादुर थापा गृहमन्त्री रहेकै बेला भएपनि काम फत्ते नहुँदै केपी ओली नेतृत्वको सरकार ढलेको र त्यसपछि कांगे्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन भएको र गृहमन्त्रीमा बालकृष्ण खाँण नियुक्त भएपछि उक्त प्रकरणले पूर्णता पाउने आशामा दुलाल सहित भण्डारी र अन्य व्यक्तिहरुको मिलेमतोमा गृह प्रशाासनको अनुभव नै नभएका तत्कालिन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह सचिवमा सरुवा गरिएको थियो । पाण्डेको सरुवा पनि दुलाल र भण्डारीकै सल्लाहमा भएको थियो भन्ने प्रमाणित हुँदै गएको छ ।
नक्कली भुटानी शरणार्थी काण्ड सामान्य भ्रष्टाचार होइन । नेपाली नागरिकलाई अनागरिक बनाएर अमेरिक पठाउने सपना देखाएर रकम असुल उपर गर्नु राष्ट्रद्रोह र राष्ट्रघाती कार्य हो । यस प्रकरणमा जो सुकै र जुनसुकै पार्टीका नेताहरु मुछिएका भएपनि उनीहरुमाथि छानविन गरि कानुनी कारबाही हुनैपर्दछ ।
राजनीतिक दबाब र प्रभावमा आरजु देउवा र मञ्जु खाँणलाई प्रहरीले सामान्य खोधपुछसम्म गर्न सकेको छैन भने खाँण त सम्पर्क विहिन रहेकी छन् । उनी यो प्रकरणमा नमुछिएकी हुन् भने किन सम्पर्क विहिन् भईन् त ? भन्ने जनमानसले प्रश्न उठाएका छन् ।
आफ्ना पार्टीका नेता यो प्रकरणमा मुछिएर पक्राउ समेत परिसकेकाले नेकपा एमालेले सांसद तथा पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको भएपनि कांग्रेसले बालकृष्णा खाँण र आङटावा शेर्पालाई आजसम्म निलम्बन समेत गरेको छैन ।
उल्टो सरकारका अर्थमन्त्री एवं पार्टी प्रवक्ता प्रकाश शरण महतले पत्रकार सम्मेलन नै गरेर उनीहरुको बचाउ गर्ने प्रयास गरेका र पार्टी सभापति देउवाले मौनता साँधेको हुनाले कांग्रेसले यो अपराधलाई सहयोग र समर्थन गरेको जस्तो देखिएको छ ।
भ्रष्टाचारीहरुको कुनै देश र धर्म हुँदैन । पैसाको लागि उनीहरु जेसुकै र जस्तासुकै राष्ट्रघाती र देशद्रोही काम गर्न तयार हुन्छन् भन्ने यो प्रकरणले देखाएको र आजसम्म भएका ठुला ठुला भ्रष्टाचारका काण्डमा कसैलाई कानुनी दायरामा नल्याएको हुनाले नै यो काण्ड भएको हो ।
त्यही कारणले गर्दा र मुलुकको छवि अन्तर्राष्ट्रिय जगत्मा उच्च राख्नका लागि पनि यस अघि भएका भ्रष्टाचारहरु ललितानिवास जग्गा काण्ड, माओवादीका लडाकुहरु राखिएको शिविरमा भएको भनिएको भ्रष्टाचार काण्ड, बुढीगण्डकी जलविद्युतमा भएको भनिएको भ्रष्टाचार काण्ड, यति काण्ड, ओम्नी काण्ड, लगायतका सबै काण्डको छानविन गरी भ्रष्टाचारमा संलग्न भएका सबैलाई कानुनी दायरामा ल्याउनै पर्दछ ।
ललिता निवास जग्गा काण्डमा संलग्न भएकाहरुले नै अहिले भ्रष्टाचारको विरोध गरिरहेका छन् आफैँ भ्रष्टाचारमा संलग्न भएकाहरुले किन उक्त काण्डको छानविन गर्नुपर्दछ भन्न सकिरहेको छैनन् त ?
मुलुकको छवि उच्च राख्नका लागि र नेपाललाई भ्रष्टाचारीहरुको देश हो भन्ने सन्देशलाई गलत सावित गर्नुपनि भ्रष्टाचारीहरुमाथि कारबाही हुनुपर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports