linktrix Long Ad
Salt Trading Long Ad

२२ सहसचिवको सरूवा, को-कहाँ ?

689
shares

काठमाडौँ । सरकारले २२ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार गरिएको सरुवामा सहसचिव हुन्, कमल प्रसाद भट्टराई । गत वैशाख २० गते मात्रै भट्टराईको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय वा अन्तर्गत भनेर सरुवा गरिएको थियो । तर, मन्त्री सुदन किरातीले अनिच्छाकै कारण भट्टराई सरुवा भएको ठाउँमा जान पाएनन् । बरु सामान्यमै बसिरहे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सुरुमा कर्मचारी प्रशासन महाशाखाको सहसचिव रहेका भट्टराई मन्त्रालयकै योजना तथा विकास सहायता समन्वय महाशाखामा आन्तरिक सरुवा गरेका थिए । भट्टराईको नाम सरुवा/बढुवाका आकांक्षीसँग आर्थिक मोलमलाई गरेको गुनासो मन्त्री मोदी समक्ष पुगेपछि कर्मचारी प्रशासन महाखाबाट झिकेर योजनामा सरुवा गरेका थिए । आन्तरिक सरुवा गर्दा पनि भट्टराईले चलखेल गर्न खोजेको आशंका पछि मोदीले उनलाई मन्त्रालयबाटै सरुवा गर्न सफल भए । तर, जहाँ (पर्यटन मन्त्रालय) भट्टराईको सरुवा भयो, त्यहाँ मन्त्री सुदन किरातीले जिम्मेवारी दिन आनाकानी गरे । स्रोतका अनुसार मन्त्री किरातीले सहसचिव भट्टराई पहिल्यै विवादित कर्मचारी भएको रिपोर्टिङ पाएका थिए ।

सरकारले बिहीबार मात्रै सरुवा गरेका २२ सहसचिवहरू मध्ये तीन जना गृहमा पुगेका छन् । लुम्बिनीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शन्त बहादुर सुनार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव गोपाल कुमार अधिकारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुरेश राउतको गृहमा सरुवा गरिएको छ । सरकारले पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं सहसचिव कृष्ण प्रसाद लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्रालयमा रहेका सहसचिव शोभाकान्त पौडेल अर्थ पुगेका छन् । खानेपानीमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सहसचिव अर्जुन गौतमलाई पठाइएको छ ।

प्राय राम्रो पोष्टिङ पाइरहने सहसचिव मदन भुजेलको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा लैजान माओवादी नेताहरू लागिपरेका थिए । कृषिबाट सहसचिव काली प्रसाद पराजुलीलाई चिकित्सा शिक्षा आयोगमा पठाइएको छ । त्यस्तै सहसचिव मेघ नाथ तिमल्सेनालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै सरुवा गरिएको छ । कृषिका लेखनाथ दाहालको कोशी प्रदेशस्थित नीति तथा योजना आयोग, कर्णाली प्रदेशका सहसचिव नारायण प्रसाद शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, संघीयको अतिरिक्तमा रहेका कमल कुमार अधिकारीलाई सहरी विकास मन्त्रालयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कविराज पौडेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा र बागमती प्रदेशका सहसचिव धिरेन्द्र कुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालय र मन्त्रालयका यज्ञनाथ दाहाललाई बागमती प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव भगवान् अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सहसचिव गणेश राज वस्तिलाई सहरी विकास मन्त्रालयबाट प्राकृतिक स्रोत तथा वित्त आयोग र अयोगका सहसचिव दीपक कुमार दासलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports