संसद रत्नपार्कमा चटकेले चटक देखाएजस्तो
वि.सं.२०८० साउन ५ शुक्रवार ११:१२
shares

काठमाडौ । संसद संसदजस्तो रहेन । संसदमा हरेक दिन चटक बढी हुन्छ । जतिसुकै विवाद भए पनि सत्ताधारीले बहुमतको आधारमा ध्वनीमतले जस्तोसुकै विधेयक पनि पारित गर्ने गरेका छन् ।
मिटर व्याजीलाई कारवाही गर्न ल्याएको विधेयक शोषककै पक्षमा भयो भनेर राजधानीमा बिद्रोह अरु चर्किएको छ । बिद्रोहीले गृहमन्त्रीको राजीनामा नै मागेका छन् । शोकमा भएका प्रधानमन्त्री जनतालाई शोकमा परेको देखेर पनि कुनै प्रतिकृया जनाउँदैनन् ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिपक्षीलाई झुक्याएर पास गरियो । सभामुखले निर्णयका लागि प्रस्तुत समेत गरेनन् । यो विधेयकअनुसार नेपालमा अपराधी हुनेछैनन् । जो अपराधी छन्, तिनले राजनीति गरेको भनेपछि तिनका मुद्दा सरकारले फिर्ता लिनसक्छ । संसदमा सुमना श्रेष्ठलगायतका सांसदले भने यो विधेयक कुन अपराधीको मुद्दा फिर्ता लिन ल्याएको हो ? इटाभट्टामा मान्छे पोल्नेलाई जेलमुक्त गर्न ल्याएको हो भनेर सोधे पनि प्रधानमन्त्री र गृहमन्त्री हाँसीरहे । विधेयक पारित भयो ।
जनयुद्ध, जनआन्दोलन र संवैधानिक रुपमा संसद र सरकारले चटक देखाइरहेको छ । जनआन्दोलनमा जनताले साथ दिए तर पर्दा पछाडि विदेशी चटकेकै हात रहेछ भन्ने खुलासा भयसक्यो । हरेक चुनावमा उमेदवारीदेखि जिताउनेसम्मका खेलमा, चुनाव सकिएपछि कसलाई मन्त्री अथवा संवैधानिक निकायमा पु¥याउने भन्ने विषयमा पनि चटक हुनेगरेको छ । गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने घोट्टा पिलाएर अवैधानिक रुपमा गणतन्त्र कार्यान्वयन भयो, त्यसपछि भारत र माओवादीले नै गिरिजालाई राष्ट्रपति अस्वीकार गरे । त्यो पनि चटकै थियो । अहिले पनि चटक चलिरहेको छ । अझैकति चल्ने हो चटक ।
सरकारको गतिमति देखेर अपराधीहरु खुशी छन् । अपराधीहरुर्को सरकारले मुद्दा फिर्ता लिने, अदालतले बरी गर्ने क्रम सुरु भएको छ । अदालत कानुनमा उभिन नसक्दा र अपराधीलाई दण्डित गर्नुृभन्दा पनि राजनीतिकरणमा रमाउनु र अपराधीले गलाभरि माला र गालाभरि अबिर दलेर जेलबाट समाजमा आउनु पनि चटकको नयाँ रङ्ढङ् हुनपुगेको छ । १० दलीय गठबन्धन सरकार अपराधीका लागि होली पर्वजस्तो हुनपुगेको छ ।
राजनीति रत्नपार्कमा धुलोलाई सर्वौषधि भनेर विक्री गर्ने चटकेका लागि भीडलाई भ्रमित पारेर धुलो बेच्नु र स्वार्थ पूरा गर्नुमात्र उसको धर्म हो । कहिले कहिले चटकेले मान्छे मारेर ब्यूँताएको इन्द्रजाल देखाएर पनि धूलोलाई औषधि नै हो भन्ने विश्वास दिलाएर धुलो बेच्छ र पैसा कमाउँछ । व्यवसायीले व्यवसाय गर्छ । राजनीति सेवा हुनुपथ्र्यो, नेतृत्व बर्गले राजनीतिलाई व्यवसाय बनाइदिए । लोकतान्त्रिक राजनीति तमासा अन्तहीन नाटकघरजस्तो हुनपुग्यो ।
देश बर्बादी, लथालिङ्ग अवस्थाबाट असफल राष्ट्र हुने ओह्रालो यात्रामा लाग्यो । बचाउने कोही देखिएनन् । त्यसैले भन्न सकिन्छ राजनीतिमा अपराधीकरण मिसाइएपछि राजनीति नै अपराधीकरणको पञ्जाभित्र पुगेको छ ।





































