भ्रष्टाचारको फाइल सीआईबीले नै खोल्ने विश्वास छ : महामन्त्री विश्वप्रकाश शर्मा
वि.सं.२०८० भदौ २ शनिवार १५:२६
shares

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नै खोल्ने विश्वास व्यक्त गरेका छ । उनले भ्रष्टाचारको फाइल खोल्न उच्चस्तरीय छानविन समिति जरुरी नभएको बताएका हुन् ।
कांग्रेस नीति तथा प्रशिक्षण शाखा धनकुटाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अख्तियार सम्बन्धी ऐन कानुन बनाउन नेतृत्व गर्ने कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन नहुनेमा जोड दिए । भ्रष्टाचार निर्मूल गर्ने कानुन बनाउने अनि भ्रष्टाचार गर्नेलाई नपक्रिने भन्ने नहुने बताउँदै शर्माले भने, ‘सम्पूर्ण भ्रष्टाचारको फाइल खोल्नुपर्छ । जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ ।’
भ्रष्टाचारको फाइल खोल्न सीआईबी हुँदाहुँदै उच्चस्तरीय समिति जरुरी नरहेको बताउँदै महामन्त्री शर्माले भने, ‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई पूर्वप्रधानमन्त्री लगायतलाई छानबिनको दायरामा ल्याउने सीआईबी हो । कांग्रेसको कार्यकर्ता तहमा भ्रष्टाचार निर्मूल अभियानमा पार्टी लागेको छ भन्ने सन्देश जान जरुरी छ ।’ उनले जनताका आवाज संसद्बाटै बोलिने भएकाले संसद् अवरुद्ध गर्न नहुनेमा जोड दिँदै भने, ‘जनताका आवाज टुँडिखेलमा बोल भनेको होइन । संसद् अवरुद्ध गरेर आवाज बोलिँदैन ।’






































