मोरक्को लगातार द्रोस्रोपटक विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, क्यानडा बाहिरियो
वि.सं.२०८३ असार २१ आइतवार ०९:०१
shares

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
खेलको सुरुवातीमा क्यानडाले उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोको रक्षापंक्तिमाथि दबाब सिर्जना गरेको थियो । खेलको पहिलो हाफमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता रहेका इस्माइल साइबारी मांसपेशीको चोटका कारण २२ औं मिनेटमा मैदान छाड्न बाध्य भए । उनको स्थानमा सुफियान राहिमीलाई मैदानमा उतारियो ।
दोस्रो हाफपछि मोरक्कोले खेलको नतिजा नै उल्ट्यायो । ५० औं मिनेटमा असरफ हाकिमीको उत्कृष्ट पासमा अजदिन ओनाहीले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्यो र मोरक्कोलाई १–० को अग्रता दिलायो ।
अग्रतासँगै मोरक्कोको आत्मविश्वास ह्वात्तै बढ्यो भने क्यानडाको टोली दबाबमा पर्यो । ८२ औं मिनेटमा तीव्र गतिमा गरिएको काउन्टर अट्याकका क्रममा ब्राहिम डियाजको पासमा ओनाहीले नै आफ्नो दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए ।
इन्जुरी समय (९० प्सल ८ औं मिनेट)मा सुफियान राहिमीले ब्राहिम डियाजको उत्कृष्ट थ्रु बलमा गोल गर्दै मोरक्कोका लागि ३–० को शानदार जित सुनिश्चित गरे ।
यो जितसँगै मोरक्को लगातार दोस्रोपटक फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । कतार (२०२२) विश्वकपमा सेमिफाइनलसम्म पुगेर यसअघि नै इतिहास रचेको मोरक्कोको टोलीले उपाधिको दौडमा पुनः आफ्नो बलियो दाबी प्रस्तुत गरेको छ ।






































