होला त एमाले–माओवादीबीच सहकार्य
वि.सं.२०८० असोज २५ बिहीवार १९:२४
shares

काठमाडौ । गत पुस १० गते नेकपा एमाले र माओवादी सहितका दलहरुको सहयोग र समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले एक महिना नपुग्दै एमालेसँगको सहमति तोडेर नेपाली कांग्रेसको पुच्छर समाउन पुगेका थिए ।
कांग्रेस सहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र महन्थ ठाकुरले नेतृत्व गरेको पार्टीको समर्थन दाहाल सरकारलाई रहेको भएपनि पछिल्लो समयमा फेरी नेकपा एमाले र माओवादीबीचमा सहकार्य हुन सक्ने सम्भावना बढेको छ ।
नेकपा एमाले र माओवादीबीचमा सहकार्य हुने अवस्था आएमा कांग्रेस एक्लो हुने र अरु सबै पार्टीहरुले एमाले माओवादीबीचको सहकार्यलाई समर्थन गर्न सक्ने अवस्था देखिएको छ ।
संक्रमणकालिन न्यायको विषयमा नेकपा एमालेको सहयोगबिना कुनै पूर्णता नपाउने र नेकपा एमाले प्रमुख प्रतिपक्षी दल रहेकाले गर्दा कानुन निर्माणमा उसको महत्वपूर्ण भूमिका रहने भएकाले गर्दा माओवादीको दोस्रो तहमा नेताहरु एमालेसँग सहकार्य हुनुपर्ने भन्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई एमालेसँगै सहकार्य गर्न आग्रह गरिरहेका छन् ।
संक्रमण कालिन न्यायका विषयमा राष्ट्रसंघका महासचिव गटरेस नेपाल आउनु भन्दा अगाडि सहमति जुटाउने प्रधानमन्त्री दाहाल लागि परेका थिए । तर इजरायल–हमास युद्ध चलेपछि महासचिव गुररेसको नेपाल भ्रमण स्थागित भएको छ । संक्रमणकालिन न्यायमा सहमति जुटाएर प्रधानमन्त्री दाहालले नयाँ सन्देश दिन चाहेका थिए । संक्रमणकालिन न्यायका विषयमा एमालेले अहिले सम्म सहमति जनाएको छैन ।
पुष्पकमल दाहाल जसरी भएपनि आफैँ पालामा शान्ति प्रक्रियाका सबै काम टुँग्याउने प्रयासमा रहेका छन् ।
कांग्रेस यो मुद्दामा सहजै सहमत भएपनि एमालेले सहमति नजनाएको खण्डमा यो मुद्दा बाँकी नै रहने भएकाले गर्दा माओवादीका नेताहरुले एमालेसँग सहकार्य गरेरै भएपनि संक्रमणकालिन न्यायसम्बन्धी मुद्दा टुँग्याउनुपर्ने बताइरहेका हुनाले केही समयपछि एमाले र माओवादी केन्द्रबीचमा सहकार्य हुन सक्ने सम्भावना देखिएको छ ।
एमालेले दाहाल सरकार ढाल्ने खेलमा लागेको भन्दै माओवादीले कांग्रेसको विकल्पमा एमालेको साथ लिन खोजेको छ । कांग्रेस भित्र पनि शेखर कोइराला सहितका नेताहरु दाहाल सरकारको विकल्प खोज्नुपर्ने बताइरहेका छन् । त्यस कार्यले गर्दा दाहाल कांग्रेससँग तर्सिएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका नेताहरुले समेत पुष्पकमल दाहालले दोस्रो विकल्पका रुपमा एमालेसँग सहकार्य गर्न सक्ने बताउँदै आएका छन् ।






































