kumari
stcnepal

न्हुज: खल टोखाद्धारा जनकवि दुर्गा लाल श्रेष्ठलाई नागरिक अभिनन्दन

काठमाडौं । कवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ ‘न्हुज: प्रगतिशील साहित्य पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् । न्हुज: खल: टोखाद्धारा आयोजित नागरिक अभिनन्दन तथा विविध सांस्कृतिक कार्यक्रममा जनकवि श्रेष्ठलाई ५० हजार राशीको ‘न्हुज: प्रगतिशील साहित्य पुरस्कार २०८०’ अर्पण गरिएको हो।

उनलाई खल:कै व्यवस्थापनमा टोखामा सक्रिय सम्पूर्ण परम्परागत दापा खल:, भजन खल:, धिमे खल:, धाँ खल:, प्वं खल:, नायो खिं खल: लगायत सांस्कृतिक संघ संस्थाको तर्फबाट नागरिक अभिनन्दन र परम्परागत बाजा गाजासहित नगर परिक्रमा गराई ती सबै सांस्कृतिक समूहहरुको तर्फबाट संयुक्त रुपमा अभिनन्दन पत्र अर्पण गरिएको न्हुज: खल: का अध्यक्ष डा. दिपेन्द्र क्षेष्ठले जानकारी दिए । न्हुज: खल: र यस अन्तर्गत सञ्चालित न्हुज: पुस्तकालय, पञ्चायती निरंकुशताविरुद्ध जनतालाई राजनीतिक, शैक्षिक, सांस्कृतिक र भाषिक चेतना जगाउन वि.सं २०४१ भाद्र १ गते तत्कालीन नेपाल भाषा मंका खल:का अध्यक्ष स्व। पद्मरत्न तुलाधरबाट उद्घाटन भई निरन्तर सक्रिय सामाजिक संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै पाठन संस्कृति र सांस्कृतिक क्रियाकलापहरुको माध्यमबाट जनतालाई आफ्नो अधिकार प्राप्तिका लागि लड्न उत्प्रेरित गर्ने र कर्तव्य निर्वाहप्रति चेतनशील बनाउने काममा निरन्तर सक्रिय हुँदै आइरहेको अध्यक्ष डा श्रेष्ठको भनाई छ ।

नेपाली र नेपाल भाषामा अत्यन्तै प्रख्यात कृति तथा गीतहरुको रचना गरेका ९२ वर्षीय श्रेष्ठका ५० बढी प्रकाशित र त्यसभन्दा बढी प्रकाशोन्मुख पुस्तकहरू छन् । दुबै भाषामा उहाँका सयौं कालजयी गीतहरु छन् । उनका गीतहरुमा देशभक्ति भावना, सकारात्मक चिन्तन, संस्कृति तथा संस्कारप्रति मोह र समाजको प्रगतिशील रुपान्तरणको शंखघोष भेटिन्छन् भने कतिपय गीतहरुले मायाको माधुर्यता र स्पन्दनको अमिट छाप पनि छोड्छन् ।

footer