यसकारण माधव र देउवा प्रधानमन्त्री बन्ने के ग्यारेन्टी ?
वि.सं.२०८० पुस २६ बिहीवार ११:१६
shares

काठमाडौ । ३२ सिटमात्र प्रतिनिधिसभामा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका छन् । नेपाली कांग्रेसले बलियो समर्थन गरेको भएपनि प्रधानमन्त्री दाहालको सत्ता संकटमुक्त भने छैन । नेकपा एमालेले आगामी निर्वाचनमा एकलौटी सरकार बनाउने रणनीति लिएको हुनाले एमालेलाई कमजोर पार्न सत्ता गठबन्धन र प्रधानमन्त्री दाहाल लागि परेका छन् ।
सत्ता गठबन्धन र प्रधानमन्त्री दाहाललाई राम्रो थाहा छ ग्राउण्ड लेभलमा नेकपा एमालेको शक्ति दह्रो रहेको छ भनेर कांग्रेस, माओवादी सहितमा कुनै पनि दल एक्लाएक्लै एमालेसँग जुधेर जित्न सक्ने अवस्था अहिलेसम्म देखिएको छैन । त्यही कारणले गर्दा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले २०८४ सम्म आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अहिलेको सत्ता गठबन्धनलाई त्याग्ने निर्णय गर्न सक्ने अवस्थामा रहेका छैनन् त्यसको एउटै कारण हो दाहाल पछि माधव नेपाललाई एक वर्ष सरकारको नेतृत्व गर्न दिने र त्यसपछिको २ वर्ष आफू प्रधानमन्त्री बन्ने आफैँ प्रधानमन्त्री रहेका बेला २०८४ मा संसदको निर्वाचन गराउने र आफ्नो पार्टी वा अहिलेको सत्ता गठबन्धनकै बहुमत ल्याउने ।
कांग्रेसको विधान अनुसार देउवा २ पटक सभापति भईसकेका हुनाले अब उनी तेस्र्रो पटक सभापति बन्न नसक्ने भएकाले भरिसक्य पार्टीको विधान नै संशोधन गरेर फेरी प्रधानमन्त्री बन्न सकिने आंकलन देउवाले गरेका हुनाले उनी पार्टी ध्वस्त भएपनि सत्ता गठबन्धनलाई भत्काउन चाहँदैनन् ।
अहिले कांग्रेसले दाहाललाई आँखा चिम्लिएर समर्थन गरिरहेको छ के माधव नेपाललाई प्रधानमन्त्री बनाउन पनि त्यसरी नै समर्थन गर्छन् ? माधव पछि देउवा सरकारलाई दाहालले समर्थन गर्दछन् भने के विश्वास ? त्यसबेला पुष्पकमल दाहालको रणनीति फेरिन सक्छ उनी सत्ता बाहिर बस्न नसक्ने अवस्थामा रहेकाले देउवाको सट्टा एमालेसँग मिलेर पछिल्लो दुई वर्ष पनि आलोपालो एक÷एक वर्ष दाहाल र केपी ओली प्रधानमन्त्री बन्न सक्ने अवस्था समेत देखिएको छ ।
सत्तामा बसेर क्रान्ति जारी छ तरिका मात्र फेरिएको बताउँदै आएका दाहालले सत्ता प्राप्तिका लागि जस्तोसुकै हथकण्डा अपनाउन सक्ने अवस्था देखिन्छ ।






































