मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको एक हप्ताभित्र विश्वासको मत लिने तयारी
वि.सं.२०८० माघ १३ शनिवार १५:५८
shares

वीरगन्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेको स्रोतको जानकारी दिएको हो । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।
मुख्यमन्त्री यादवले भने,‘म अहिले जिल्लामा छु, ३/४ दिनमा जनकपुर फर्किन्छु । त्यसपछि गठबन्धन दलहरुसँग छलफल गर्छु, अनि विश्वासको मत लिन्छु । तर त्यो भनेको यही साताभित्रै हो, विश्वासको मत लिने ।’ सरकारमा रहेका कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेको मुख्यमन्त्री यादवको भनाइ छ ।
पाँच दिन अगाडि सरकारमा सहभागी जनमत पार्टीले सरकारबाट बाहिरिँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थिए






































