linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्रमा देखिएको चरित्रहीनताको चरित्र

754
shares

 

राजन कार्की
नेपाली कांग्रेस प्रजातन्त्रको बिडा उठाएको पाटी, समाजवाद, जनवाद भन्ने अथवा जनयुद्ध लड्ने लडाकादेखि कमाण्डर कम्युनिष्टहरु सबै सुन्निएर मोटाएका रहेछन् । लोकतन्त्रमा यिनले देखाएको चरित्र भनेको चरित्रहीनता हो । चरित्र नभएपछि राजनीति अपराधतन्त्र बन्नेरहेछ । समाजवादका नाममा, सशस्त्र विद्रोहको नाममा तर्साउने र लुट्ने सुन्निएर मोटाएकोहरुको हैसियत राम्रैसँग प्रमाणित भइसकेको छ । सुन्निएर मोटाउनु डरलाग्दो हुन्छ । कुनै पनि बेला यिनको राजनीति समाप्त हुनसक्छ । भ्रष्टाचार नामको, अनैतिकता नामको रक्तपिपासुहरुभित्र अनेकविधि ब्याधि रोगहरु छन् । राजनीतिका नाममा अपराधतन्त्रको बिकास गरिरहेका छन् । सुन्निएर मोटाउनु न शान्ति, न लोकतन्त्र । यो त कुनै पनि बेला आउनसक्ने महाव्याधि हो । कुनै पनि बेला समाप्त हुने खतरा हो ।
यिनीहरु पटक पटक सत्तामा गए, अहिले पनि सत्ता, संसद, शक्तिमा छन् । यिनले सम्पत्ति यसरी खाए कि खाद्य के अखाद्य के, छुट्याउने फुर्सदै पाएनन् । त्यसैले जनयुद्ध कमाण्डर देखि समाजवादका अगुवा भनिनेलाई कसैले लायक र नायक मानेका छैनन् । यी सबै अपराधशालाका हतियारजस्ता छन् । हतियारको काम काट्नु हो, सिध्याउनु हो । यिनले राजनीतिको नाममा देश र जनताको विश्वास सिध्याए । आशा र भरोसा बन्न सकेनन् ।
जनताको रगत चुस्ने नेता र ड्याकुल्लामा के फरक छ र ? ड्याकुल्लाको अस्तित्व कति छ कहाँ छ सबैलाई थाहा छ ।
अफगानिस्तान, श्रीलंका, बंगलादेशमा देश र जनता चुस्नेहरु कसरी सुन्निएर मोटाएका थिए, तिनको हविगत देखेकै होला, सबैले देखेकै छन् ।
नेपालका चरित्रहीन मोटा भ्रष्टाचारी हुनपुगे । स्वार्थभन्दा यिनको प्राथमिकतामा केही पनि परेन । प्रजातन्त्र र जनयुद्धका टाइगरहरू भैरव अर्यालको जयभुँडीको कथामा जसरी खन्चुवा टाइगर हुन् । मानौं खानकै लागि यिनीहरूले समाजवाद भनिरहेका थिए, जनयुद्ध गरेका थिए । समाजवाद र जनयुद्ध त सत्ता नपाएको आक्रोश रहेछ, के के न गर्छौं भनेर समाजवादी र विद्रोहीवीच सम्झौता भयो र जनयुद्ध रोकियो । जनआन्दोलन, जनयुद्धपछि राष्ट्रियता हा¥यो, बहुदल हा¥यो, हिन्दुराष्ट्र र राजतन्त्र हा¥यो । यथार्थमा नेपालीत्व हा¥यो । १८ वर्षको कालखण्डको पाना पल्टाउँदा देखिन्छ– लोकतान्त्रिक चन्द्रमा कहिले उदाएन, सधैं कालरात्रि बन्यो । देश असिना पानी र जंगली हात्तीले नष्ट पारेको झापा, चितवनको केराबारीजस्तो बनिसक्यो ।
नयाँ नेपाल बनाउँछु भन्थे, अस्तित्व मेटाउन थाले । अवस्था कहालीलाग्दो छ । स्वर्गजस्तो नेपाल नर्क भयो । स्वर्ग बनाउन फेरि विश्वकर्माको सोच, शक्ति र एकाग्रता चाहिने भयो । पश्चिमा फिरङ्गी र दक्षिणा भिरङ्गी सल्केका लोभीपापीको भीडबाट विश्वकर्माको अवतार अवतरण हुने कहिले ? जो छन् टुप्पाबाट पलाएका विनिर्माणका अतिवादी–भाषणवादी छन्, टुप्पाबाट जरा उम्रदैन । मूर्ख कालिदासले गरे जस्तो टुप्पामा बसेर फेद काट्ने कर्मको उपमा बनिसक्यो नेपाल । सूर्य त हरेक दिन उदाउँछ, कसैको मनमा उज्यालो छैन । लोकतन्त्र कालरात्रि बन्यो ।
लोकतन्त्र भनिन्छ, लोक देश छोड्न आतूर छ । आफ्नै खुट्टामा उभिने, जसले अर्काको बाक्चाल बोकेर हिड्दैन, मौलिक चालमा उभिन्छ, चल्छ र केही गर्छ । त्यो पुस्ता बिद्रोहभन्दा बढी विदेशीन आतुर छ, समाज परिवर्तन नहुनुको नसो, समस्याको जरो यहाँ छ । यो जरोले झन झन जरा गाड्दैछ । किन चिन्ता र चासो हुँदैन यी सुन्निएर मोटाएका भ्रष्टहरुलाई ।
जनयुद्ध, जनआन्दोलन र गणतन्त्र कार्यान्वयन, धर्मनिरपेक्षता पश्चिमा र दक्षिणाको प्रभाव स्थापित गर्नकै लागि थियो भन्नेमा शंका रहेन । आवश्यकता छ बुढोपुस्तालाई थन्क्याएर, युवापुस्तालाई नेतृत्वमा पु¥याउने कसरी ? युवाको विदेश पलायन रोक्ने कसरी ? आत्मनिर्भरताको सुरूआत गर्ने कहाँबाट , नेपालवादी थिङ्क टेंक छन्, तिनीहरू पनि लोभमा मुख गाड्ने हतारमा छन् । बुद्धले भनेका थिए– धैर्य सबैभन्दा ठूलो प्रार्थना हो । बुद्ध प्रार्थना अव धेरै भयो । अस्तित्व समाप्त हुन्जेल गरेको धैर्यको कति अर्थ बाँकी रहन्छ ? पुरातन कथन छ– पानीले ढुङ्गालाई पगाल्छ । पगाल्छ भने जनताकोे पानी मनले नेतृत्वको ढुङपनमा पाइन हाल्नैपर्छ, तवमात्र नेपालीत्वको बीउ बाँच्ला । विवेक भएकाहरु किन बोल्दैनन् ? किन लुकेर बसेका छन् ?
जनविद्रोही महायज्ञ आवश्यक भयो । त्यो यज्ञ गराउने पुरोहित जन्माउनु छ । जनतालाई नेतृत्व दिनसक्ने, विद्रोहको सफलतापछिको खाका सार्वजनिक गर्ने र अगाडि बढ्ने को हो ? पिपलपाते र एकदिने आन्दोलन गर्ने स्वार्थीहरूको डफ्फाले कुनै परिवर्तन ल्याउन सक्दैनन् । देशका लागि केही गर्छु, पुर्षाको भार थाम्छु, नयाँ पुस्तालाई सग्लो सुन्दर भविष्य दिन्छु भन्नेहरु सडकमा निस्कनुपर्ने भयो ।
प्रजातन्त्रमा शासक पनि जनता, शासित पनि जनता हुन् । जनताले अव बोल्नुपर्छ– जनमत, जनबल लिएका जनताका नेताहरू खाली पैसा र सुखमात्र खोजिरहेका छन् भने तिनको राजनीति समाप्त हुनुपर्छ । राजनीतिलाई व्यापार व्यवसाय बनाउनेहरूलाई नागरिकले युक्लिड बनेर घोक्रेठ्याक लगाउने हिम्मत गर्नुपर्छ । नागरिक विद्रोहको बिकल्प बाँकी छैन । चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका छन्, नेपालको सन्दर्भमा लोकनायकको मुखुण्डाधारीहरूले राजनीतिलाई हाटबजार बनाइदिए । अपराधतन्त्र, परिवारवाद बनाइदिए । स्वार्थको राजनीति अति भयो, यसको अन्त्य जनताले गर्नुपर्छ ।
धर्म, संस्कृति, आफ्नोपन मेटिन थाल्यो । हातहातमा मोवाइल र पश्चिमा प्रभावले नङ्गपन बढ्यो, मारूनी नाच हराउन थाल्यो, बल डान्स बढ्न थाल्यो । लोकतन्त्र बिछट्टै पश्चिमाकरण भएर गयो । यस्तै हो भने धर्म, संस्कृति र संस्कारको बिनासलीला यही पुस्ताले देख्नुपर्ने वातावरण बन्दैछ । भावी पुस्ताले पाउने पुस्तैनी सम्पत्ति यही हो त ?
कुनै बेला रोमन सम्राट आफ्ना बिरोधीहरूलाई जनावर पालेर तिनको आहारा बनाइदिन्छे । झण्डै झण्डै त्यस्तै नीति लागु गरेर अन्यायको सिकार बनाइरहेका छन् आधुनिक नेपाली सम्राटहरु । पहिले सोझै कान समाइन्थ्यो, अहिले घुमाएर, फरक यत्तिमात्र हो । कानुन छ, कानुनमा राजनीतिकरण गरिएपछि देखिने रोमन काल नै हो । पार्टीहरूका, नेताहरूका यही नीतिका कारण नेपालजस्तो विकासशील मुलुकमा लोकतन्त्र खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाबुको अनुहार बनेको देखिन्छ । लोकतन्त्र कसैलाई मटन भोजन, कसैलाई बटर पाउरोटी र अधिकांशका लागि खोलेफाँडो पनि भागमा पर्दैन । जनता रगतको आँसु रोइरहेका छन् ।
स्थापित नेतृत्व आफूलाई लोकतन्त्रका भगवान ठान्छन् । सत्ताका लागि शक्तिशालीहरूको जहिले गाँड कोराकोर देखिन्छ । यो बाघ, सिंह को हुने दन्तबजानमात्र हो । बाँकी इतरकाहरूले हेर्ने तमासा हो । औंलामा गन्न सकिनेहरू ङारङुर गर्ने, यसैलाई परिवर्तन मान्नेहरू तमासा हेर्ने । राजनीतिको संस्कार उपनिवेशवादी छ, जनभावना स्वाधीनतामा छ । यी जन जो आफ्नो स्वार्थी राजनीतिलाई लोकतन्त्र भनिरहेको छ, त्यो बदलिनुपर्छ । यसका विरूद्ध जनता आँधी कहिले बन्ने ? जसरी राजतन्त्र उल्टाएर लुटतन्त्र ल्याउन हजारौं जनता मारियो, अव मर्न तैयार हुने को छ र अर्को परिवर्तन सम्भव होला ? अर्को जनयुद्ध नभए जनताले सुखका दिन देख्न पाउनेछैन ।
बाँचेर मर्ने कि बाँच्नका लागि मर्न तैयार हुने ? आजको प्रश्न यही हो ।
श्री ३ जंगे भन्दा अजंगे बनेकाहरूले बुझ्नुपर्छ– अजंगे भनेको जंगलीपन हो । लोकतन्त्र भनेको नेतातन्त्र होइन । नयाँ पुस्ताले अजंगेहरूलाई बुझाउन ढिला गर्नुहुन्न । सपना देख्ने र देखाउने छेपाराहरूको पछि लाग्नु भनेको पछाडि फर्कनु हो । जंगल पस्नु हो । आजका शिक्षित युवाहरू जंगली बन्न सक्दैनन् । आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्दै आधुनिकतामा रम्नु रमाउनु सभ्यताको विकास हो । असभ्य र अस्थिर राजनीति अन्धकारतिरको यात्रा हो ।
संविधान, व्यवस्था असफल हुँदा देशमा मानवीय विपत्ति आउँछ । वर्तमान नेपाल बिपत्तिमा छ ।
यो विपत्तिबाट मुक्ति भनेको जनविद्रोह, चरित्र नै मुख्य आधार हो । यसका लागि जनताले निर्णय लिनुपर्छ । जनताले निर्णय नलिंदासम्म यी सुन्निएर मोटाएकाहरुले रगत चुस्न छाड्ने छैनन् ।
वर्तमान नेतृत्व चिहानमा पुगुन्जेल पनि चरित्रहीन र सत्तास्वार्थ देखाइरहनेछन् । जनतालाई चेतना भया ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports