लोकतन्त्रमा देखिएको चरित्रहीनताको चरित्र
वि.सं.२०८१ पुस १२ शुक्रवार १६:५४
shares

राजन कार्की
नेपाली कांग्रेस प्रजातन्त्रको बिडा उठाएको पाटी, समाजवाद, जनवाद भन्ने अथवा जनयुद्ध लड्ने लडाकादेखि कमाण्डर कम्युनिष्टहरु सबै सुन्निएर मोटाएका रहेछन् । लोकतन्त्रमा यिनले देखाएको चरित्र भनेको चरित्रहीनता हो । चरित्र नभएपछि राजनीति अपराधतन्त्र बन्नेरहेछ । समाजवादका नाममा, सशस्त्र विद्रोहको नाममा तर्साउने र लुट्ने सुन्निएर मोटाएकोहरुको हैसियत राम्रैसँग प्रमाणित भइसकेको छ । सुन्निएर मोटाउनु डरलाग्दो हुन्छ । कुनै पनि बेला यिनको राजनीति समाप्त हुनसक्छ । भ्रष्टाचार नामको, अनैतिकता नामको रक्तपिपासुहरुभित्र अनेकविधि ब्याधि रोगहरु छन् । राजनीतिका नाममा अपराधतन्त्रको बिकास गरिरहेका छन् । सुन्निएर मोटाउनु न शान्ति, न लोकतन्त्र । यो त कुनै पनि बेला आउनसक्ने महाव्याधि हो । कुनै पनि बेला समाप्त हुने खतरा हो ।
यिनीहरु पटक पटक सत्तामा गए, अहिले पनि सत्ता, संसद, शक्तिमा छन् । यिनले सम्पत्ति यसरी खाए कि खाद्य के अखाद्य के, छुट्याउने फुर्सदै पाएनन् । त्यसैले जनयुद्ध कमाण्डर देखि समाजवादका अगुवा भनिनेलाई कसैले लायक र नायक मानेका छैनन् । यी सबै अपराधशालाका हतियारजस्ता छन् । हतियारको काम काट्नु हो, सिध्याउनु हो । यिनले राजनीतिको नाममा देश र जनताको विश्वास सिध्याए । आशा र भरोसा बन्न सकेनन् ।
जनताको रगत चुस्ने नेता र ड्याकुल्लामा के फरक छ र ? ड्याकुल्लाको अस्तित्व कति छ कहाँ छ सबैलाई थाहा छ ।
अफगानिस्तान, श्रीलंका, बंगलादेशमा देश र जनता चुस्नेहरु कसरी सुन्निएर मोटाएका थिए, तिनको हविगत देखेकै होला, सबैले देखेकै छन् ।
नेपालका चरित्रहीन मोटा भ्रष्टाचारी हुनपुगे । स्वार्थभन्दा यिनको प्राथमिकतामा केही पनि परेन । प्रजातन्त्र र जनयुद्धका टाइगरहरू भैरव अर्यालको जयभुँडीको कथामा जसरी खन्चुवा टाइगर हुन् । मानौं खानकै लागि यिनीहरूले समाजवाद भनिरहेका थिए, जनयुद्ध गरेका थिए । समाजवाद र जनयुद्ध त सत्ता नपाएको आक्रोश रहेछ, के के न गर्छौं भनेर समाजवादी र विद्रोहीवीच सम्झौता भयो र जनयुद्ध रोकियो । जनआन्दोलन, जनयुद्धपछि राष्ट्रियता हा¥यो, बहुदल हा¥यो, हिन्दुराष्ट्र र राजतन्त्र हा¥यो । यथार्थमा नेपालीत्व हा¥यो । १८ वर्षको कालखण्डको पाना पल्टाउँदा देखिन्छ– लोकतान्त्रिक चन्द्रमा कहिले उदाएन, सधैं कालरात्रि बन्यो । देश असिना पानी र जंगली हात्तीले नष्ट पारेको झापा, चितवनको केराबारीजस्तो बनिसक्यो ।
नयाँ नेपाल बनाउँछु भन्थे, अस्तित्व मेटाउन थाले । अवस्था कहालीलाग्दो छ । स्वर्गजस्तो नेपाल नर्क भयो । स्वर्ग बनाउन फेरि विश्वकर्माको सोच, शक्ति र एकाग्रता चाहिने भयो । पश्चिमा फिरङ्गी र दक्षिणा भिरङ्गी सल्केका लोभीपापीको भीडबाट विश्वकर्माको अवतार अवतरण हुने कहिले ? जो छन् टुप्पाबाट पलाएका विनिर्माणका अतिवादी–भाषणवादी छन्, टुप्पाबाट जरा उम्रदैन । मूर्ख कालिदासले गरे जस्तो टुप्पामा बसेर फेद काट्ने कर्मको उपमा बनिसक्यो नेपाल । सूर्य त हरेक दिन उदाउँछ, कसैको मनमा उज्यालो छैन । लोकतन्त्र कालरात्रि बन्यो ।
लोकतन्त्र भनिन्छ, लोक देश छोड्न आतूर छ । आफ्नै खुट्टामा उभिने, जसले अर्काको बाक्चाल बोकेर हिड्दैन, मौलिक चालमा उभिन्छ, चल्छ र केही गर्छ । त्यो पुस्ता बिद्रोहभन्दा बढी विदेशीन आतुर छ, समाज परिवर्तन नहुनुको नसो, समस्याको जरो यहाँ छ । यो जरोले झन झन जरा गाड्दैछ । किन चिन्ता र चासो हुँदैन यी सुन्निएर मोटाएका भ्रष्टहरुलाई ।
जनयुद्ध, जनआन्दोलन र गणतन्त्र कार्यान्वयन, धर्मनिरपेक्षता पश्चिमा र दक्षिणाको प्रभाव स्थापित गर्नकै लागि थियो भन्नेमा शंका रहेन । आवश्यकता छ बुढोपुस्तालाई थन्क्याएर, युवापुस्तालाई नेतृत्वमा पु¥याउने कसरी ? युवाको विदेश पलायन रोक्ने कसरी ? आत्मनिर्भरताको सुरूआत गर्ने कहाँबाट , नेपालवादी थिङ्क टेंक छन्, तिनीहरू पनि लोभमा मुख गाड्ने हतारमा छन् । बुद्धले भनेका थिए– धैर्य सबैभन्दा ठूलो प्रार्थना हो । बुद्ध प्रार्थना अव धेरै भयो । अस्तित्व समाप्त हुन्जेल गरेको धैर्यको कति अर्थ बाँकी रहन्छ ? पुरातन कथन छ– पानीले ढुङ्गालाई पगाल्छ । पगाल्छ भने जनताकोे पानी मनले नेतृत्वको ढुङपनमा पाइन हाल्नैपर्छ, तवमात्र नेपालीत्वको बीउ बाँच्ला । विवेक भएकाहरु किन बोल्दैनन् ? किन लुकेर बसेका छन् ?
जनविद्रोही महायज्ञ आवश्यक भयो । त्यो यज्ञ गराउने पुरोहित जन्माउनु छ । जनतालाई नेतृत्व दिनसक्ने, विद्रोहको सफलतापछिको खाका सार्वजनिक गर्ने र अगाडि बढ्ने को हो ? पिपलपाते र एकदिने आन्दोलन गर्ने स्वार्थीहरूको डफ्फाले कुनै परिवर्तन ल्याउन सक्दैनन् । देशका लागि केही गर्छु, पुर्षाको भार थाम्छु, नयाँ पुस्तालाई सग्लो सुन्दर भविष्य दिन्छु भन्नेहरु सडकमा निस्कनुपर्ने भयो ।
प्रजातन्त्रमा शासक पनि जनता, शासित पनि जनता हुन् । जनताले अव बोल्नुपर्छ– जनमत, जनबल लिएका जनताका नेताहरू खाली पैसा र सुखमात्र खोजिरहेका छन् भने तिनको राजनीति समाप्त हुनुपर्छ । राजनीतिलाई व्यापार व्यवसाय बनाउनेहरूलाई नागरिकले युक्लिड बनेर घोक्रेठ्याक लगाउने हिम्मत गर्नुपर्छ । नागरिक विद्रोहको बिकल्प बाँकी छैन । चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका छन्, नेपालको सन्दर्भमा लोकनायकको मुखुण्डाधारीहरूले राजनीतिलाई हाटबजार बनाइदिए । अपराधतन्त्र, परिवारवाद बनाइदिए । स्वार्थको राजनीति अति भयो, यसको अन्त्य जनताले गर्नुपर्छ ।
धर्म, संस्कृति, आफ्नोपन मेटिन थाल्यो । हातहातमा मोवाइल र पश्चिमा प्रभावले नङ्गपन बढ्यो, मारूनी नाच हराउन थाल्यो, बल डान्स बढ्न थाल्यो । लोकतन्त्र बिछट्टै पश्चिमाकरण भएर गयो । यस्तै हो भने धर्म, संस्कृति र संस्कारको बिनासलीला यही पुस्ताले देख्नुपर्ने वातावरण बन्दैछ । भावी पुस्ताले पाउने पुस्तैनी सम्पत्ति यही हो त ?
कुनै बेला रोमन सम्राट आफ्ना बिरोधीहरूलाई जनावर पालेर तिनको आहारा बनाइदिन्छे । झण्डै झण्डै त्यस्तै नीति लागु गरेर अन्यायको सिकार बनाइरहेका छन् आधुनिक नेपाली सम्राटहरु । पहिले सोझै कान समाइन्थ्यो, अहिले घुमाएर, फरक यत्तिमात्र हो । कानुन छ, कानुनमा राजनीतिकरण गरिएपछि देखिने रोमन काल नै हो । पार्टीहरूका, नेताहरूका यही नीतिका कारण नेपालजस्तो विकासशील मुलुकमा लोकतन्त्र खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाबुको अनुहार बनेको देखिन्छ । लोकतन्त्र कसैलाई मटन भोजन, कसैलाई बटर पाउरोटी र अधिकांशका लागि खोलेफाँडो पनि भागमा पर्दैन । जनता रगतको आँसु रोइरहेका छन् ।
स्थापित नेतृत्व आफूलाई लोकतन्त्रका भगवान ठान्छन् । सत्ताका लागि शक्तिशालीहरूको जहिले गाँड कोराकोर देखिन्छ । यो बाघ, सिंह को हुने दन्तबजानमात्र हो । बाँकी इतरकाहरूले हेर्ने तमासा हो । औंलामा गन्न सकिनेहरू ङारङुर गर्ने, यसैलाई परिवर्तन मान्नेहरू तमासा हेर्ने । राजनीतिको संस्कार उपनिवेशवादी छ, जनभावना स्वाधीनतामा छ । यी जन जो आफ्नो स्वार्थी राजनीतिलाई लोकतन्त्र भनिरहेको छ, त्यो बदलिनुपर्छ । यसका विरूद्ध जनता आँधी कहिले बन्ने ? जसरी राजतन्त्र उल्टाएर लुटतन्त्र ल्याउन हजारौं जनता मारियो, अव मर्न तैयार हुने को छ र अर्को परिवर्तन सम्भव होला ? अर्को जनयुद्ध नभए जनताले सुखका दिन देख्न पाउनेछैन ।
बाँचेर मर्ने कि बाँच्नका लागि मर्न तैयार हुने ? आजको प्रश्न यही हो ।
श्री ३ जंगे भन्दा अजंगे बनेकाहरूले बुझ्नुपर्छ– अजंगे भनेको जंगलीपन हो । लोकतन्त्र भनेको नेतातन्त्र होइन । नयाँ पुस्ताले अजंगेहरूलाई बुझाउन ढिला गर्नुहुन्न । सपना देख्ने र देखाउने छेपाराहरूको पछि लाग्नु भनेको पछाडि फर्कनु हो । जंगल पस्नु हो । आजका शिक्षित युवाहरू जंगली बन्न सक्दैनन् । आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्दै आधुनिकतामा रम्नु रमाउनु सभ्यताको विकास हो । असभ्य र अस्थिर राजनीति अन्धकारतिरको यात्रा हो ।
संविधान, व्यवस्था असफल हुँदा देशमा मानवीय विपत्ति आउँछ । वर्तमान नेपाल बिपत्तिमा छ ।
यो विपत्तिबाट मुक्ति भनेको जनविद्रोह, चरित्र नै मुख्य आधार हो । यसका लागि जनताले निर्णय लिनुपर्छ । जनताले निर्णय नलिंदासम्म यी सुन्निएर मोटाएकाहरुले रगत चुस्न छाड्ने छैनन् ।
वर्तमान नेतृत्व चिहानमा पुगुन्जेल पनि चरित्रहीन र सत्तास्वार्थ देखाइरहनेछन् । जनतालाई चेतना भया ।


































