linktrix Long Ad
Salt Trading Long Ad

माओवादी नेता अग्नि सापकोटा र सांसद दोङ माथी अनुसन्धान गर्न सर्वोच्चले खोलिदियो बाटो

754
shares

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको हो ।माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरिएको थियो । असारको दोस्रो सातातिर बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा उनको हत्या गरेर शव गाडिएको अवस्थामा फेला परेको थियो ।शान्ति प्रक्रिया सुरू भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता सापकोटा, दोङ लगायत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि उनले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिन् ।

त्यसअघि सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरियो । तर, २०६५ साउन २६ गते तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले द्वन्द्वकालीन विषय भएकाले तामेलीमा राख्ने निर्णय गर्‍यो ।उक्त निर्णय विरुद्ध पुर्णिमाया फेरि सर्वोच्च गइन् । तर, २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि उक्त फाइल तामेलीमा राख्ने निर्णय गरेपछि अनुसन्धान अघि बढ्न सकेन ।

सर्वोच्चले आज यो मुद्दा अघि बढाउन उत्प्रेषण आदेश जारी गरेको हो । आदेशपछि पूर्णिमायाका कानून व्यवसायी पुष्पराज पौडेलले भने, ‘अब प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports