थाइल्याण्डकी प्रधानमन्त्री संवैधानिक अदालतद्वारा निलम्बित
वि.सं.२०८२ असार १७ मंगलवार १९:१२
shares

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो ।
मुलुकको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको सङ्घर्षले हाबी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।अड्तीस वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ ।
पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन्, तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उहाँले मन्त्रिपरिषद्को नैतिकता उल्लङ्घन गर्नुभयो कि भएन भनेर विचार गरिरहेकाले उनलाई निलम्बन गरिएको छ ।कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।लिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरेकी थिइन्, उनले हुन सेनलाई ‘काका’ भनी सम्बोधन गरिन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरिन् । उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्याउन पुग्यो ।
रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लङ्घन गरेको आरोप लगाए ।‘संवैधानिक अदालतले ७-२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ’, एक विज्ञप्तिमा भनिएको छ ।
पेटोङटार्नको फेउ थाई पार्टी पहिले नै यो काण्डमा परेका कारण एक प्रमुख रूढीवादी गठबन्धन साझेदारले त्यागेको छ र हजारौँले सप्ताहन्तमा बैङ्ककमा उनको नेतृत्व विरुद्धमा विरोध प्रदर्शन गरेका छन् ।उनका सहयोगीहरूले राजीनामा गरेपछि थाइल्यान्डका राजाले मङ्गलबार (१ जुलाई) पेटोङटार्नको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरेका छन् ।
































