महिला सम्पूर्ण समाजको प्रगतिको आधार : पूर्वराष्ट्रपति भण्डारी
वि.सं.२०८२ भदौ १४ शनिवार १६:१९
shares

वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सम्पूर्ण समाजको प्रगतिको आधार रहेकी बताएकी छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत् महिला सम्मेलन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
परिवार निर्माणदेखि उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणमा महिलाको योगदान अग्रपङ्क्तिमा रहेको उनको भनाई छ । पूर्वराष्ट्रपति भण्डारीले समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त नभएको टिप्पणी समेत गरिन् ।उनले भनिन्– ‘हामीले महिला समाजमा पूर्णरुपमा सक्षम हुन्छन् भनेर देखाउनुपर्छ, अझ बढी महिला आत्मविश्वासी बन्नुपर्छ ।’ महिलाको शक्ति र त्यागलाई संस्थागत रुपमा सम्मान गर्न सकिए समृद्ध नेपालको सपना पूर्ण रूपमा पूरा गर्न सकिने उनले बताइन् ।
भण्डारीले मधेसको तराई क्षेत्रका जनताहरू अहिले धेरै समस्याबाट पीडित भइरहेको समेत बताइन् । चुरे क्षेत्रको दोहनका कारण मधेसका जनताहरू गम्भीर समस्याबाट जुधिरहेको उनकाे भनाइ थियाे । उनले भनिन्– ‘चुरे क्षेत्रको दोहनले तराई क्षेत्रमा मरुभूमीकरण र बाढी डुबानकाे समस्या बढिरहेको छ, भूमिगत पानीको स्तर समेत घटिरहेको छ,’ उनले भनिन् ।यी समस्याले सबै पक्षलाई गम्भीर असर पुर्याइरहेको बताउँदै उनले अब सरकारले कडाइका साथ नियमन गर्न जरुरी रहेको बताइन् । कार्यक्रममा मधेसमा उत्कृष्ट कार्य तथा समाजसेवा गर्ने महिलाहरूलाई सम्मान समेत गरिएको थियो ।





































