उपत्यकाका जिल्लामा सुरक्षा सुदृढीकरण गर्न भनेर प्रहरी प्रधान कार्यालयको सेक्टर बनाएर सुरक्षा सुदृढीकरणको प्रयास
वि.सं.२०८२ भदौ २९ आइतवार १६:००
shares

काठमाडौँ । जेनजी प्रदर्शनसँगै उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेपछि काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएका छन् । प्रहरी कर्मचारीहरू अझै काममा फर्किने अवस्था बनेको छैन ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सुरक्षा सुदृढीकरण गर्न भनेर प्रहरी प्रधान कार्यालयले सेक्टर बनाएर सुरक्षा सुदृढीकरणको प्रयास गरिरहेको छ । काठमाडौँ उपत्यकालाई ८ वटा सेक्टरमा विभाजन गरेर त्यहाँ छुट्टाछुट्टै कमाण्डर पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको अपरेशन समन्वय गर्न भनेर पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौँ झिकाइएको छ ।यसअघि लामो समय काठमाडौँको अपरेशन प्रमुख भएर काम गरेका भट्टराई प्रदर्शन र हुलदङ्गा नियन्त्रणमा अनुभवी मानिन्छन् । उनी वैशाखमा पाल्पा गएका थिए ।
काठमाडौँ उपत्यकामा प्रत्येक सेक्टरको नेतृत्व एसपीहरूले गरेका छन् । एसपीहरू दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणालाई उपत्यकाको सुरक्षा सुदृढीकरणमा समन्वय गर्ने गरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।ती अधिकृत भन्छन्, ‘ध्वस्त भएका प्रहरी युनिटहरूको मर्मत समन्वय तथा सुरक्षा सुदृढीकरण गर्न अनुभवी एसपीहरूलाई परिचालन गरिएको हो ।’
एसपी दिपक श्रेष्ठलाई कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्रको जिम्मेवारी दिइएको छ । एसपीद्वय कवित कटुवाललाई सातदोबाटो क्षेत्र र रामेश्वर पौडेललाई दरबारमार्ग, सोह्रखुट्टे तथा जनसेवा क्षेत्रमा जिम्मेवारी दिइएको छ ।रुगम कुँवरलाई बानेश्वर र सिंहदरबारमा खटाइएको छ । डिबी मल्ललाई बालाजु र स्वयम्भु तथा केशव भट्टराईलाई गौशाला र बौद्धमा खटाइएको छ । बालनरसिंह राणालाई महाराजगञ्ज र मालिगाउँमा खटाइएको छ ।
































