एमालेको सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष
वि.सं.२०८२ असोज २६ आइतवार २१:३४
shares

काठमाडौँ । नेकपा एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ ।
आइतबार भक्तपुरको गुण्डुमा करिब १० घण्टा बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार चुनावको वातावरण बनाउन भन्दा पनि बिगार्नतर्फ लागेको निष्कर्ष निकालेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको छ । पार्टी र नेताहरूलाई आफ्ना गतिविधि गर्न नदिएर सरकार नै चुनावको वातावरण बिगार्न लागेको हाम्रो निष्कर्ष छ ।
घटनाक्रमहरूले मुलुक चुनाव हुने दिशातिर अघि नबढेको उनले बताए । ‘नेताहरूलाई निश्चित ठाउँमा राखेर, दलहरूलाई धम्क्याएर चुनाव हुन सक्दैन’, ज्ञवालीले भने, ‘लोकतन्त्रको आत्म नै मरिरहेको छ । त्यसैले हामीले चुनाव हुने आधार नै देखेका छैनौ ।’साथै एमालेले लोकतन्त्र र संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय गरेको छ । एमालेले संसद् विघटन असंवैधानिक भएको बताउँदै आएको छ ।
































