सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत सरकारको निर्णय, दिल्लीको विस्फोट आतङ्कवादी हमला नै हो

1.5K
shares

भारत सरकारले राजधानी दिल्लीको लाल किल्लामा भएको विस्फोटलाई ‘आतंकवादी हमला’ घोषणा गर्दै त्यससम्बन्धी प्रस्ताव पारित गरेको छ।

भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ का अनुसार बुधबार बसेको साप्ताहिक मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संघीय मन्त्री अश्विनी वैष्णवले लाल किल्ला विस्फोट ‘क्रूर र कायरतापूर्ण आतंकवादी हमला’ भएको बताएका छन्।घटनामा संलग्न र यसका समर्थकहरूलाई पक्राउ गर्ने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको उनले जानकारी दिए।

‘सरकारले राष्ट्रिय सुरक्षा र आतंकवाद विरूद्ध तत्काल कदम चाल्ने छ,’ उनले भने।यसअघि अनुसन्धान अधिकारीहरूले पनि यो घटनालाई आतंकवादी योजनासँग जोड्ने महत्त्वपूर्ण प्रमाणहरू फेला परेको बताएका थिए।यसबीच कम्तिमा १३ जनाको ज्यान जाने गरी भएको विस्फोटको घटनामा अनुसन्धानकर्ताहरू केही रहस्य सुल्झाउने प्रयासमा छन् — के भयो र किन भयो?

भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ का अनुसार सोमबार साँझ लाल किल्ला नजिक विस्फोट भएको कारका आधारमा अहिले अनुसन्धान चार मुख्य प्रश्नमाथि केन्द्रित छ —

१) किन त्यो स्थान रोजियो?

२) विस्फोट योजनाबद्ध थियो कि आकस्मिक थियो?

l
३) बम कारको बोनटमा लुकाइएको थियो कि?

४) कारभित्र को–को थिए?

किन रोजियो लाल किल्ला क्षेत्र?

अनुसन्धानकर्ताहरूको पहिलो प्रश्न हो — किन लाल किल्ला जस्तो कडाइका साथ निगरानी हुने स्थान नै रोजियो?राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) का अधिकारीहरूका अनुसार, साँझ ६:५२ बजे भीडभाडका बेला भएको विस्फोट आकस्मिक पनि हुनसक्छ।अर्थात्, आक्रमणकर्ताहरूले आत्तिएर समयअगावै बम विस्फोट गराएका हुन सक्छन्।

दिल्ली प्रहरीका स्रोतका अनुसार मुख्य अभियुक्त डा. उमर उन नबीले लाल किल्ला र चाँदनी चोक क्षेत्र वरिपरि नै विस्फोट योजना बनाएका थिए। डा. उमरले त्यो कार चलाइरहेका थिए भन्ने प्रारम्भिक अनुमान गरिएको छ।घटनास्थल र दिल्लीका विभिन्न क्षेत्रको सिसिटिभी फुटेजले उक्त कार चार घन्टासम्म त्यही क्षेत्र वरिपरि घुमिरहेको थियो।विस्फोट हुनुअघि तीन घन्टाभन्दा बढी समय त्यो कार सुनहरी मस्जिद नजिक पार्क गरिएको थियो। त्यसपछि नेताजी सुभाष मार्ग र शान्तिवन रोड हुँदै दरीगन्ज र छत्ता रेल कट ट्राफिक सिग्नल वरिपरि घुमेको देखिन्छ।

विस्फोट हुनुभन्दा १० मिनेटअघि कार नेताजी सुभाष मार्गकै एक प्रसिद्ध मन्दिर नजिक केही समय रोकिएको पनि देखिन्छ।डा. उमरले पहिलो पटक त्यही मन्दिर वरिपरि विस्फोट गराउने योजना बनाएको हुनसक्ने एक अनुसन्धान अधिकारीले बताए।’त्यो ठाउँबाट चाँदनी चोकका ठूला बजारहरू जाने बाटो खुल्छ,’ ती अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘त्यो ठाउँ नो–पार्किङ क्षेत्र भएकाले उमरले त्यहाँ कार रोक्दा प्रहरी वा ट्राफिक कर्मचारीको ध्यान गयो होला, जसबाट डराएर उनी अघि बढ्न बाध्य भए होलान्।’

योजनाबद्ध कि आकस्मिक विस्फोट?

अर्को ठूलो प्रश्न हो — यो विस्फोट सोचेर गरिएको थियो कि हतारमा?

हिन्दुस्तान टाइम्सले लेखे अनुसार प्रहरीले यसमा तीनवटा सम्भावना हेरेको छ —

१) योजना अनुसारकै आक्रमण

२) डर वा हतारमा गरिएको विस्फोट

३) बम आकस्मिक रूपमा विस्फोट हुनु

आक्रमणकारीहरूले सोमबारको दिन नै यो विस्फोट किन गराए भनेर अनुसन्धान अधिकारीहरू चकित छन्। किनभने, त्यो दिन लाल किल्ला बन्द हुन्छ।साथीहरू पक्राउ परेपछि उनले अत्तालिएर विस्फोटक पदार्थसहित भाग्ने प्रयास गर्दा यो घटना भएको हो कि भन्ने अधिकारीहरूको अनुमान छ।’जो व्यक्ति योजना बनाउने र कार्यान्वयन गर्नेमा थिए, उनी आफै विस्फोटमा मारिएका छन्, त्यसैले साँचो कारण थाहा नपाइने सम्भावना पनि छ,’ एक अधिकारीले भने।

के बम कारको बोनटमा लुकाइएको थियो?

अनुसन्धानकर्ताका अनुसार कारभित्र बम कहाँ राखिएको थियो भन्ने पनि ठूलो रहस्य हो।प्रारम्भिक फरेन्सिक परीक्षण अनुसार बम कारको बोनटभित्र लुकाइएको हुनसक्छ।एक वरिष्ठ अधिकारीले भने हरियाणाको फरिदाबादमा आइतबार राति देखिएको सिसिटिभी फुटेजमा उमरको कार सामान्य अवस्थामा देखिन्थ्यो। तर सोमबार दिउँसो सुनहरी मस्जिद पार्किङमा देखिँदा कारको बोनट पूर्ण रूपमा बन्द थिएन।

‘हामीलाई विश्वास छ, उमरले डेटोनेटर र एमोनियम नाइट्रेट–फ्युल अइल बोनट भित्र राखेका थिए,’ ती अधिकारीले भने, ‘उनले बोनट बन्द गर्न डोरी र स्टिकरजस्तो वस्तु प्रयोग गरेका थिए, जुन अघिल्लो फुटेजमा थिएन।’फरेन्सिक टोलीले पछि बोनट क्षेत्रमा एमोनियम नाइट्रेटको उच्च मात्रा पाइएको पुष्टि गरेको छ। यसले पनि विस्फोटको स्रोत त्यही ठाउँ भएको संकेत गर्छ।

कारमा को को थिए?

प्रारम्भिक रिपोर्टमा कारभित्र दुई जना रहेको भनिएको थियो, तर पछिल्लो प्रमाणले उमर उन नबी एक्लै रहेको देखाउँछ।’कार फरिदाबादबाट दिल्ली छिरेको बेला उनी एक्लै थिए,’ एक अधिकारीले भने, ‘त्यो भन्दाअघि अक्टोबर २९ मा उनलाई फरिदाबादको सेक्टर ३७ स्थित प्रदूषण परीक्षण केन्द्रमा दुई जनासँग देखिएको थियो। त्यसपछि उनी १० दिनसम्म लुकेका थिए।’

प्रहरी अहिले ती दुई व्यक्तिको पहिचान खोज्दैछ।दिल्ली प्रहरी विशेष शाखाका एक अधिकारीले भने, ‘हामीसँग ती दुई जनाको परिचयबारे केही सूचना छन् र उनीहरूका गतिविधि ट्र्याक गरिरहेका छौं।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports