मधेस प्रदेश सभाका दुई सांसदलाई कारबाही प्रक्रिया अघि बढाइयो
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:५८
shares

जनकपुरधाम । मधेस प्रदेश सभाका दुई सांसदलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने सन्दर्भमा पार्टी ह्विपविरुद्ध उभिएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेशले आफ्ना दुई सांसदमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
विश्वासको मतका दिन आह्वान गरिएको प्रदेश सभा बैठकमै पार्टीको ह्विप विपरीत उभिएर विश्वासको मत नदिने घोषणा गरेका प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णलाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको सो पार्टीका संसदीय दलका नेता भरत साहले जानकारी दिए ।यी दुई सांसदकै कारण पाँच दलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो । पार्टीको ह्विपविपरीत यी दुई सांसद उभिए पनि तत्कालीन मुख्यमन्त्री सोनलले प्रदेश सभाबाटै राजीनामा घोषणा गरेका थिए ।
माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमन्त्री साहका अनुसार, पार्टीको ह्विप उल्लङ्घन गरी प्रदेश सभाको बैठकमा वितण्डा मच्चाउने कार्य गैरसंवैधानिक र पार्टी अनुशासन विपरीत भएकाले दुवै जनामाथि संगठनात्मक कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।साहले भने, ‘पार्टीको निर्णयविपरीत आचरण गरेकाले केन्द्रीय समितिले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरिसकेको छ । केन्द्रबाट आधिकारिक पत्र आएलगत्तै प्रदेश सभामा उनीहरूको पद खारेजका लागि सिफारिस गरिनेछ ।’



































