माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य तथा लेखक मनऋषि धिताल पार्टीको परित्यागको घोषणा
वि.सं.२०८२ मंसिर ५ शुक्रवार १४:२५
shares

काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति सदस्य तथा लेखक मनऋषि धितालले पार्टी परित्यागको घोषणा गरेका छन्।
विगत तीन दशकदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका धितालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जनाएका हुन्। हालै माओवादीसहितका दलहरु मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको सन्दर्भमा उनले त्यसप्रति असहमति जनाउँदै पार्टी नै परित्यागको घोषणा गरेका हुन् । बृहत शान्ति सम्झौता भएको दुई दशक पुगेकै दिन पारेर उनले तत्कालीन माओवादी केन्द्र र यसको मूल नेतृत्वमाथि गम्भीर राजनीतिक तथा वैचारिक विचलनको आरोप लगाएका छन् ।
धितालले एकतापछि बनेको नेकपाका संयोजक तथा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व शैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रचण्ड सत्ता मोहमा फसेको र जनयुद्ध, शान्ति प्रक्रिया तथा नयाँ संविधान निर्माणको राजनेताबाट स-सानो गुटको नेता र संसदीय सत्ता लिप्साको खेलाडीमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।विशेषगरी २०७९ को आम निर्वाचनपछि जनताको म्यान्डेट विपरीत अप्राकृतिक गठबन्धन बनाएर सरकार बनाउने र भत्काउने खेलमा लाग्नु जनादेश विपरीत भएको उनको निष्कर्ष छ।
विज्ञप्तिमा धितालले अहिले पार्टीभित्र जनयुद्धलाई स्वीकार नगर्ने र रक्तरंजित क्रान्तिमा योगदान नभएका ‘मेन्सेभिक’ विचार समूहको हालीमुहाली रहेको आरोप लगाएका छन्। उनले पार्टीभित्र क्रान्तिकारी युवा नेतृत्वको बन्ध्याकरण गरिएको र उनीहरूलाई वरियतामा निकै तल पारिएको गुनासो गरेका छन्।’पुरानै जमेको पोखरी र जेनजी आन्दोलनले खरानी बनाएको नैतिक धरातल सफा नगरी प्राविधिक बहुमत सिर्जना गर्दै स्वाभाविक रूपमा विकास हुने नयाँ नेतृत्वको बन्ध्याकरण गरिएकाले यो समूहभित्र रहनुको औचित्य छैन,’ धितालले विज्ञप्तिमा उल्लेख गरेका छन्।
धितालले प्रचण्डको पार्टी अब परिवारवाद, नातावाद, कृपावाद, गुटगत स्वार्थ, दलाली र भ्रष्टाचार जस्ता ‘क्यान्सर’ को संगम थलो बनेको गम्भीर आरोप लगाएका छन्। उनले पार्टीभित्र इमान्दार क्रान्तिकारीहरूका विरुद्ध षड्यन्त्र र अनर्गल प्रचार हुने गरेको भन्दै अब त्यहाँ बसेर सुधारको अपेक्षा गर्नु बालुवा पेलेर तेल निकाल्नु सरह भएको टिप्पणी गरेका छन्।नेतृत्व सुदूरदक्षिणपन्थी भासमा फसेको र उत्पीडित क्षेत्र, कर्णाली, दलित, महिला तथा आदिवासी जनजातिका मुद्दाबाट नेतृत्वले हात धुने सम्भावना बढेको उनको निष्कर्ष छ।
आफ्नो ऊर्जावान् समयमा एक दर्जन पुस्तक लेखेर र जोखिमपूर्ण मोर्चाहरू सम्हालेर पार्टीलाई योगदान गरेको स्मरण गर्दै धितालले अब नवीन पुस्ता र विचारसहितको नयाँ राजनीतिक अभियानमा जुट्ने घोषणा गरेका छन्।उनले भनेका छन्, ‘तीन दशकको सहकार्य स्थगित गर्दा भावुक भए पनि शून्यबाटै नितान्त नवीन राजनीतिक मार्ग निर्माणको नयाँ यात्राको यात्री बन्ने संकल्प गर्दा गौरवान्वित महसुस गरेको छु।’ उनी प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय रहने बताइएको छ ।



































