जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको छ : प्रधानमन्त्री कार्की
वि.सं.२०८२ मंसिर २१ आइतवार १८:४४
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन् ।
आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी हुन् ।पूर्व राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको कुरा राखेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास व्यक्त गरेकी थिइन् ।यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दु:ख व्यक्त गरिन् ।प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलाई बराबरी प्राथमिकता दिएर काम गरिरहेको बताइन् ।भेटका क्रममा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी बीच केहीबेर भलाकुसारीका साथै समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारी समक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेकी थिइन् ।पूर्वराष्ट्रपति भण्डारीले पनि अहिलेको परिस्थितिको लोकतान्त्रिक निकास निर्वाचन भन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन् । पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
































