एनपीएल फाइनल : सुदूरपश्चिम ८५ रनमा अलआउट
वि.सं.२०८२ मंसिर २७ शनिवार १७:२१
shares

काठमाडौं । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ ।
८५ रन एनपीएल इतिहासमा पहिलो इनिङमा बनेको यो सबैभन्दा कम स्कोर हो । एनपीएलको फाइनलको पनि कम स्कोर हो । एनपीएलमा यो संयुक्त रुपमा चौथो कम स्कोर हो । पहिलो सिजनमा जनकपुर बोल्ट्स सुदूरपश्चिमविरुद्ध ५१ रनमा अलआउट भएको थियो ।
पहिलो सिजननै पोखरा चितवन विरुद्ध ७४ र विराटनगर सुदूरपश्चिमसँग यस सिजन ७८ रनमा अलआउट भएको थियो । यस्तै गत सिजन लुम्बिनी काठमान्डुविरुद्ध ८५ रनमै अलआउट भएको थियो ।आजको खेलमा लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३/३ विकेट लिए ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो ।सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे ।
चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरेका थिए । कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्लले सानदार बलिङ गर्दै ३-३ विकेट लिए ।रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।





































