२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पले बीबीसी माथी १० अर्व डलर क्षतिपूर्ति माग गर्दै अदालतमा दायर गरे मुद्धा

3.97K
shares

वासिङ्टन,  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ ।

फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ ।उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीले ‘मेरो मुखमा शब्दहरू राखिदिएको’ दाबी गर्नुभयो ।

उहाँले उक्त वृत्तचित्र सम्पादन गर्दा ‘एआई वा यस्तै कुनै प्रविधि प्रयोग गरिएको हुनसक्छ’ भन्ने आशङ्कासमेत व्यक्त गर्नुभयो र मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बिबिसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो ।सो भिडियोमा सन् २०२१ जनवरी ६ का राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उहाँले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गर्नुभएको जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ । त्यही दिन अमेरिकी सांसदहरू जो बाइडेनको सन् २०२० को चुनावी जित प्रमाणित गरिरहेका थिए ।

राष्ट्रपति ट्रम्पको कानूनी टोलीका प्रवक्ताले एएफपीलाई जारी गरेको विज्ञप्तिमा ‘पहिले सम्मानित र अहिले अपमानित भइसकेको बिबिसीले सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने निर्लज्ज प्रयासस्वरूप जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा राष्ट्रपति ट्रम्पको भाषणलाई हेरफेर गरेर उहाँलाई बदनाम गरेको’ आरोप लगाएका छन् ।विज्ञप्तिमा बिबिसीले आफ्ना दर्शकहरूलाई धोका दिने ढाँचा लामो समयदेखि कायम राखेको र त्यो सबै आफ्नै वामपन्थी राजनीतिक एजेन्डाको सेवामा गरिएको दाबीसमेत गरिएको छ ।बेलायत बाहिरसम्म व्यापक दर्शकवर्ग रहेको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन पछिल्लो समय उथलपुथलको अवस्थामा छ ।गत महिना एक मिडिया रिपोर्टमार्फत सम्पादन गरिएको उक्त क्लिपमा पुनः ध्यान केन्द्रित भएपछि संस्थाभित्र ठूलो विवाद उत्पन्न भएको थियो । यसै घोटालाका कारण बिबिसीका महानिर्देशक तथा संस्थाका शीर्ष समाचार कार्यकारीले पदबाट राजीनामा दिनुपरेको थियो ।

राष्ट्रपति ट्रम्पको मुद्दामा वृत्तचित्रमा सम्पादित भाषणलाई ‘२०२४ को राष्ट्रपति चुनावको ठीक एक हप्ता अघि प्रतिवादीहरूले राष्ट्रपति ट्रम्पलाई क्षति पुर्‍याउने, चुनावको नतिजामा हस्तक्षेप गर्ने र त्यसलाई प्रभाव पार्ने निर्लज्ज उद्देश्यले बनावटी रूपमा तयार गरी प्रसारण गरेको सामग्री’ भनेर वर्णन गरिएको छ ।बिबिसीले भने राष्ट्रपति ट्रम्पले दायर गर्नुभएको कानूनी मानहानिको दाबी अस्वीकार गरेको छ । यद्यपि बिबिसीका अध्यक्ष समीर शाहले राष्ट्रपति ट्रम्पलाई माफीपत्र पठाउनुभएको पुष्टि भएको छ ।शाहले गत महिना बेलायतको संसदीय समितिसमक्ष पनि डेली टेलिग्राफ पत्रिकामा चुहिएको एक आन्तरिक मेमोका आधारमा प्रसारणकर्ताले आफ्नो गल्ती चाँडै स्वीकार गर्दै सुधारात्मक कदम चाल्नुपर्ने अवस्था आएको स्वीकार गर्नुभएको थियो ।

बिबिसीविरुद्धको यो मुद्दा पछिल्ला वर्षहरूमा राष्ट्रपति ट्रम्पले विभिन्न मिडिया कम्पनीहरूविरुद्ध दायर गर्नुभएको कानूनी कारबाहीहरूको पछिल्लो कडी हो । तीमध्ये धेरै मुद्दाहरू अन्ततः करोडौँ डलरका सम्झौतामार्फत टुङ्गिएको उदाहरणसमेत रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports