kumari
stcnepal

हाम्रा नेतृत्वलाई १९७५ को सिक्किम र सुनाखरी पढाउनु पर्ने भयो

राजन कार्की
एमसीसी पास गर्ने कि नगर्ने ? स्वीकार गर्ने कि नगर्ने ? यत्ति निर्णय गर्न नसक्ने हाम्रा जनप्रतिनिधि कति सक्षम हुन् ? हुन त ६ वर्ष भत्ता खाएर संविधान लेखे, संविधानमा नेपालको बुच्चे नक्सा राखे । जनताले आन्दोलन गरेपछि नक्सा अध्यावधिक गरे, नक्साको लिपुलेक, लिम्पियाधुराको भूमि कहाँ छ, यिनले देखाउनै सक्दैनन् । भारतले ६० हजार हेक्टरभन्दा बढी सीमाभूमि मिचिसक्यो, किन मिचेको भन्न सक्दैनन् । भारतका रक्षामन्त्री, सेना प्रमुख, प्रधानमन्त्री लिपुलेकबाट चीनसँग व्यापार गर्ने सम्झौता गर्छन्, राजमार्ग उद्घाटन गर्छन्, बिस्तार भइरहेको घोषणा गर्छन्, हाम्रा सांसद, संसद, सरकार, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, बुद्धिजीवी, नागरिक समाज कोही पनि बोल्दैनन् । यी कुन तह र कति सार्वभौमिसत्ता सम्पन्न नागरिक हुन् ? यिनीहरु ब्लूब्लेडेड नेपाली हुन् कि प्लान्टेड नेपाली ?
यसकारण यिनलाई आमा पढाउनु पर्छ । जनताले आमा नपढाएसम्म यिनका लागि आमा बेच्ने र नाफा कमाउने बस्तुमात्र हुनेछ । आमा सत्य हो, संसार हो, उज्यालो हो । आमाभन्दा पर अन्धकारमात्र हुन्छ भनेर यिनलाई पढाउनु पर्छ । १९७५ को सिक्किम र सुनाखरी पढाउनुपर्छ ।

अणु आकारको बीजले आणविक मान्छे अंकुराउँछ । भूदेवी, पानी, अग्नि, वायु र आकाश बन्छ । यही पञ्चतत्वमा प्रकृति छ, प्रकृतिको अलौकिक सुन्दरता, सिर्जना र समन्वय छ । समष्टि छ । कत्रो आश्चर्य, बीजसँगै व्यापकता बढ्छ । बीजमा सम्पूर्णता अट्छ ।
अचम्म छ, बच्चा जन्मने बेलामा आमा फक्रिन्छिन्, आमाको छाती रसाउन थाल्छ । जब बच्चा जन्मिन्छ, छातीमा टाँस्नासाथ आमाको छातबाट दुधको धारा बर्सिन थाल्छ । बीजस्तारै बच्चाका दाँत पलाउन थाल्छन्, ऊ ठोस खाद्य खान सक्ने हुँदैजान्छ, आमाका दूधका धारा सुक्दै जान्छन् । आमा उमेरले नेटो काट्दै जाँदा सन्तान बालकबाट तन्नेरी हुँदै जान्छ । ऊ प्रौढ भएर वृद्धतिर लस्किँदा तिनका पनि नयाँ सन्तान हुँदै जान्छन् । पुराना पात झर्छन्, नयाँ पलाउँछन् ।
सृृष्टि पनि बीज, दृष्टि पनि बीज, सुरु पनि बीज, अन्त पनि बीज । युधिष्ठिर पनि बीज, दुर्योधन पनि बीज । अर्जुन पनि बीज, कृष्ण पनि बीज । आस्तिक पनि बीज, नास्तिक पनि बीज ।
बल पनि बीज, निर्बल पनि बीज । मानवीय मर्म मार्गको सुुक्ष्म संवेदना आमा । समयको सुई हुन् आमा । आमा छिन् र बीज छ । बीज छ र संसार छ ।

आमा  सत्य र मात्र सत्य भनेको आमा हुन् । आमाजस्ती को छन् ?
जन्मदाता आमा, जन्मभूमि आमा । बीजहान–साँझको आरती आमा, मन्दिरमा पूजा र प्रार्थना आमा । मानवीय संसारको सारथी आमा । जहाँ आमा उहीँ श्री ।
दिन आमा, रात आमा । सूर्योदय आमा, चन्द्रोदय आमा । अँध्यारो जीवनको जुनकिरी आमा । मन, वचन र कर्म आमा । घरदेखि घाटसम्म आमा ।
बाँचुञ्जेल आमा भनेर बाँच्न पाइयोस् । मर्दा आमा भनेर मर्न पाइयोस् ।
माटो आमा, ढुङ्गा आमा । हिमाल आमा, झरना, नदी आमा । पहाड आमा, तराई आमा । निर्मलता आमा, पवित्रता आमा । जीवनद्वार आमा, बागद्वार आमा, संसार आमा, स्वर्ग आमा । पारिजात आमा, सयपत्री आमा, दुबो आमा, मखमली आमा ।
हरेक व्यक्तिका भ्रूण आमा, अंकुराउने कोख आमा, जीवनको नयाँ किरण आमा । हरेक सवालको जवाफ आमा । अपूर्णतामा सम्पूर्णता आमा ।
हरेक किहानको चुल्हो आमा, हरेक रातको मीठो निन्द्रा आमा ।
उध्रिएको चोली आमा, फाटेको फरिया आमा । नाङ्गो पैताला आमा, प्राणीभित्रको रगत आमा । रगतभित्रको जीवन आमा । सर्वकालिक आशीर्वाद आमा ।

हामीले जन्मदाता, जन्मभूमिको मुहारमा खुशी दियौं कि दिएनौं ? आमालाई घोचेका घाउहरुका पीडा लियौं कि लिएनौं ? मरेपछि मातातीर्थ वा कुनै तीर्थ जानु, तर्पण, श्राद्ध, पिण्ड र सम्झना गर्नु भन्दा आमा बाँच्दैमा स्याहार ग¥यौं कि गरेनौं, आमासँग मुखले मीठो दुई शव्द बोल्यौं कि बोलेनौंं ? आमासँग मन खोल्यौं कि खोलेनौं ? किनकि आमा पूजा सामग्री, आमा सप्ताह, आमा चारधाम, कोटिहोम आमा ।
सन्तानको खुशी आमाको कामना । सन्तानको सुख आमाको चाहना । भोक वा कुनै पनि पीडाले आमालाई असर गर्दैन, जब सन्तान दुःखी हुन्छ । सन्तानको सन्तुष्टि आमाको तृप्तता । पृथ्वीमा जीवित दैव छ भने ती आमा हुन् ।
मानिसका पहिलो गुरु आमा नै हुन् । आमाले जन्माउँछिन्, खान सिकाउँछिन्, बोल्न सिकाउँछिन् । उभिन सिकाउँछिन्, लडे आमाले उठाउँछिन् । हाम्रो आदि र अन्त्य सबै आमा नै हुन् । यसकारण आमा स्तुत्य छिन्, वन्दनीय छिन् ।

सन्तान घरबाट निस्किए चिन्ता गर्ने आमा हुन् । कहिले फर्कन्छ भनेर आँखा तानीतानी पर्खने आमा । बीजरामी पर्दा निको पार्न अहोरात्र खट्ने आमा हुन् । आमा गाँस हुन्, आमा वास हुन्, आमा जुनसुकै दुःख निवारणकी आश हुन् । हामीलाई ठेसलाग्दा समेत आमा भन्छौं, जीवनको सर्वस्व आमा हुन् । आमा के होइनन् ? सांसारिक जीवनको प्राण हुन्, उच्चाटित भावना र भावनाभित्रको भवानी आमा ।
जन्मदात्री र जन्मभूमि दुवै माताहरु सकसमा छन् । पीडित छन् । घरघरमा जन्मदाता माताहरुको अपमान भइरहेछ । बोक्सीको आरोप लागिरहेछ, चारपाटे मुडेर मलमूत्र ख्वाएर रुवाउने अपराध बढेका छन् । महिला हिंसा त यतिसम्मको भयावह कि श्रीमतीलाई टुक्रा टुक्रा पारेको पनि देखिन्छ । बालबालिका बलात्कार र तिनको हत्याले हाम्रो समाज ढुङ्गे युगतिर फर्कन लागेको आभास दिइरहेको छ । आमा त निर्मला पन्तकी पनि आमा हुन्, कृष्णप्रसाद अधिकारीकी आमा गंगामायाँ पनि आमा हुन् । मेची कालीभित्रको भूमि पनि आमा हुन् । आमाका अनेक रुप स्वरुप छन् । सबै आमाहरुलाई सादर प्रणाम । तर पूजनीय जन्म दिने र जन्मभूमि आमाहरु रोइरहेछन् । आमाहरुको अस्तित्वमाथि बलात्कारी र अतिक्रमणकारी धावा बोलिरहेछन् ।

मान्छेका विपना आमा, सपना आमा हुनुपर्ने हो । आमाहरु घरबाट फालिएका छन्, मानौं फोहर हुन् आमा । आमाहरु बृद्धाश्रम पु¥याइएका छन्, मानौं अनावश्यक वस्तु हुन् आमा । आमाहरु सीमा, सरकार, समाज यत तत्र सर्वत्र गाली बनेकी छिन्, मानौं आमा भनेको लुट्नकै लागि सिर्जना भएकी हुन् । आमाहरुले यसरी रुनुपर्ने ?
आमा– सन्तान भन्छिन्, आमाको भोक, तिर्खा, तपस्या नै सन्तान हुन् । सन्तान आमाको मान मर्दन गरिरहेका छन् । अचम्म छ हाम्रो समाज, तैपनि आमा रिसाउन्नन्, सराप दिन्नन्, सन्तानलाई सुख मिलोस्, चिरञ्जीवी हुनु भनिरहेकी देखिन्छिन् । हामीले जन्मदाता र जन्मभूमि आमा चिन्ने कहिले ?
भनिन्छ, चरित्रको मूल्य बराबर कुनै वस्तुको मूल्य छैन । हामीले आफंैभित्र आफ्नो चरित्र खोज्न सकेनौं भने जीवनको मूल्य कसरी प्राप्त गर्नसक्छौं ?
कस्तूरी आप्mनै नाभिमा रहेको बीजनाको सुवास खोज्दै यत्रतत्र दौडिरहन्छ । हामी पनि सुख, स्वर्ग खोज्न आमा छाडेर भौँतारिइहेका छौं । आमाको सेवामा सन्तुष्टि छ, आमाको पैतालामुनि सुखस्वर्ग छ भन्ने नबुझेर गल्तीपछि गल्ती गरिरहेका छौं ।
स्वर्ग टपक्क टिपेर थपक्क राखेजस्तो यति रसिलो धर्ती, विश्वले शान्ति र शिखर भएको अनुपम भूमि भनिरहेको छ, हामी नारीचुलीको महिमा भुलिरहेछौं ।

हरेक विहान सूर्यको लालिमासँगै उदाउने र साँझ बत्ती जगाएर शान्त निदाउने हाम्रो मगमगाउँदो जन्मभूमि हाम्रै अन्धोपनले रोगाउँदै जाँदो छ । स्वयम्भूका त्रिनेत्र शान्ति भनिरहेछन्, परेवा शान्तिको सन्देश छरिरहेछ, क्रान्तिको कुराले भ्रान्तिका कुहिरो र तुवाँलो बाक्लिैदै जाँदो छ । हिमाल आमा आफैं पग्लेर निरन्तरको आशीर्वाद बगिरहेको मुलुकका सन्तान आमासँग टाढिंदै छन् । आमा, सरापमोचन हुन्, शवरी बनेर मर्यादापुरुषोत्तम रामको प्रतीक्षा गरिरहेजस्तो लाग्छ । आमा शवरी र सन्तान हामी, हे पूर्ण प्रमात्मा, दोष हामीमा छ, हामीलाई दोषमुक्त हुने सद्बुद्धि देऊ ।साक्षात् देवी भनेको एउटै छिन्– जन्म आमा र जन्मभूमि आमा । माटो बाँचेको छ, माटो बाँचे आमा बाच्छिन् । आमा सन्तानको सहारा खोजिरहेकी छिन् ।

माटोवादका नाममा बीरबलको खिचडी पकाइरहनु जरुरी छैन । प्रत्येक सन्तानले नेपाल आमा बुझेका छन् । आमालाई मुटुमा पनि राखेका छन् । मात्र आमाको खुशी खोज्न र सुरक्षामा लाग्न घण्टाघरले सन्तानहरुलाई घचघच्याइरहेको छ ।

आमा । महाभारतमा भीमका नाति, घटोत्कचका छोरा बर्बरिक यस्ता महाबली पात्र थिए जसले कमजोर पक्षबाट युद्ध लड्ने बचन दिएका कारण श्रीकृष्णले बर्बरिकलाई चण्डीलाई आत्मबलि दिन प्रेरित गरे । उनका दुई इच्छा थिए– उनको शवलाई श्रीकृष्णले जलाउनु पर्ने र महाभारत युद्ध प्रत्यक्ष हेर्ने । त्यसपछि उनको शीरलाई पहाडको चुचुरोमा राखेर श्रीकृष्णले १८ दिने महाभारत युद्धको प्रत्यक्षदर्शी बन्ने सौभाग्य दिएका थिए । युद्ध समाप्तिपछि उसलाई सोधियो– यो युद्ध जित्नुमा पञ्चपाण्डवमध्ये कसलाई श्रेय जान्छ । बर्बरिकको जवाफ थियो– अहंकार सबै पाँचै पितामहमा थियो । नियम सबैले तोडेकै हुन् । महाभारतमा निर्णायक कोही थियो भने श्रीकृष्ण र श्रीकृष्णको सुदर्शनचक्र मात्र थियो ।

२०१२ सालदेखि २०७८ सालसम्मको समय र समाजको साक्षी– बर्बरिकजस्तै हो यो हाम्रो भोगाइ । नेपाली सबैलाई चेतना रहोस्, आमाको गौरवमा छाती ठोक्ने र आमालाई काँधमा बोक्ने सन्तानले नै हो । किनकि, झुत्री, मैली जस्ती भए पनि आमा भनेकी आमा नै हुन् । प्रश्न यत्ति मात्र हो कि हामीले आमाको महत्व बुझ्ने कहिले ? नयाँ नेपाल बनाउँछु भन्नेहरुलाई जनताले बुझाउने कहिले ?

 

 

footer