सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भुसुनाले हात्ती रुवाउने चुनाव हुनेभयो

793
shares

 

आफूलाई राजनीतिका हात्ती सम्झनेहरु फागुन २१ को चुनावमा धुरुधुरु रुने स्थितिमा पुगे । जेनजी पुस्ताले जुन आश्चर्यजनक आन्दोलन गरिदियो, त्यसपछि ठूला पार्टी र अग्ला नेताहरु तिनले भुसुना सम्झेकाहरुबाट हायलकायल छन् । जो पाखा लागे, उनीहरुको राजनीति नै समाप्तीको किनारामा छ भने जो चुनावमा छन्, जति जति फागुन २१ को चुनाव नगिचिदैछ, तिनीहरु हारको भयले भयभित बनेका छन् ।
कसरी आफूलाई जिताउने, यही समस्या छ यिनको । तर आमनागरिकको चाहनाको लहर परिवर्तनतिर छ । आमनागरिकले परिवर्तन चाहेका छन्, परिवर्तनको लहरले धेरैलाई सकृय राजनीतिक सत्तामा रोकिदिएको छ भने धेरैको राजनीतिक क्रियाशीलता फागुन २१ को चुनावबाट रोकिने पक्का छ ।
तथापि प्रश्न एउटै छ– चुनाव त हुन्छ ? आन्तरिक अराजकता र बाह्य हस्तक्षेप दुबैको कारणले चुनावी माहोल आगोको भुङ्ग्रोजस्तो बन्न थालेको छ । भुङ्ग्रो सल्कनु डढेलो हो, अराजकता हो । भुङ्ग्रो सल्किन नदिन राजनीतिक दलहरु नै सचेत हुनुपर्छ, चुनावलाई स्वस्थ, स्वच्छ र शान्तिपूर्ण बनाउन अग्रसर हुनुपर्छ । अहिले चुनावी प्रतिस्पर्धीहरु जो अराजक अभिव्यक्ति दिइरहेका छन्, एकले अर्कोलाई खुइल्याउने तीता भाषण गरिरहेका छन्, यसपल्टको चुनावमा हिंसाका अप्रीय घटनाहरु घट्ने धेरैको अनुमान छ ।
ठूला दलहरुले जनतालाई देखाउनुसम्मको सपना देखाए । बाटोघाटो, घरघरमा ग्यासको पाइप, नदीमा पानी जहाज, मेट्रो सिटी, मेट्रो रेल, सिंगापुरको सपना पनि देखाएकै हो । नयाँ नेपाल बनाउँछु भन्नेहरुले भएकै नेपाललाई अस्तित्वको संकटमा पारिदिए, बिस वर्षमा जनताको आँखामा छारो हालेकै हो । रोजगारीका अवसर सिर्जना गर्न सकिने बजेट भ्यू टावरजस्ता अनुत्पादक क्षेत्रमा खर्च गरियो । भ्रष्टाचार बढाइयो । भएका उद्योग बन्द भए वा बेचिए । रोजगारी खोसियो, प्रत्येक वर्ष तैयार हुने ५ लाख युवाले रोजगारीका लागि विदेश दौडनु प¥यो । यतिबेला पहाडमा बुढाबुढी, बालबालिकामात्र छन्, सहरमा कमिशन, ठगी, लूट, भ्रष्टाचार, अपराधमात्र छ ।
यसकारण जनतामा राजनीतिप्रति निराशा बढेको हो । यी सबै असन्तुष्टिहरु जनताले सडकमा व्यक्त गरे, ड्य्राकुल्लाहरुले सुनेनन् । मार्कोसजस्ता भ्रष्टहरुको बिगबिगी देखियो । नेपोटिजम र नेपोबेबीइजमको स्वर्ग बन्यो नेपाल । नेपालको हालत सुडान, सोमालियाको जस्तो हुनपुग्यो । देशलाई बजेट आकारको ब्यापार घाटा र ३२ खर्ब राष्ट्रिय ऋणको खाल्डोमा हाले । कुशासनका कारणले राष्ट्रको स्तर ग्रेलिस्टमा पुगिसक्यो, ब्ल्याकलिस्टमा पर्ने खतरा बढिसक्यो । तैपनि अन्धा शासकहरु सचेत भएनन् । लोकतन्त्रको नामधारी भ्रष्ट शासकहरुले सामाजिक सञ्जाल बन्द गरिदिए । रोजगारीका गाडी संसारभरि दुःख झेलिरहेकाहरुले घरका बुढा आमाबा, परिवारजनसँग दुःखसुख साट्न पाएनन्, सन्चोबिसन्चो सोध्न पाएनन् । दुईचार पैसा कमाउन, पठाउन पाएनन् । अनि बाध्य भएर भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्न बाध्य भएका हुन् । यही आन्दोलन देशमा विद्यमान राजनीतिक बिकृति, बिसंगति, अपराधिकरणबाट मुक्तिको यूटर्न बन्नपुगेको छ । यूटर्न हुन्छ हुन्न, यसको फैसला फागुन २१ मा हुनेछ ।
यही आन्दोलनले दलहरुका भ्रष्टाचारी, दुराचारी सत्ता ध्वस्त पारिदिएका थिए । हुनुपर्ने त्यतिबेलै धेरै परिवर्तन थिए । हुनसकेनन् । त्यसपछि अन्तरिम सरकार गठन भयो र फागुन २१ मा नयाँ चुनाव हुँदैछ । यो चुनाव भयो भने नयाँ नेपालको निर्माण सुरु हुनेमा शंका नगर्दा हुन्छ । तर चुनाव हुनुपर्छ ।
चुनावपछि प्रस्थान विन्दुबाट देश नयाँ नेतृत्व चयन गर्न अग्रसर भएको छ । यो चुनावमा धेरै नयाँ पुस्ताका उमेदवार खडा भएका छन् । यो चुनाव निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा हुनसक्यो भने शासन सत्तामा विवेकशीलहरु पुग्न सक्छन् । काई, लेउ, ऐंजेरुहरु छाँटिन्छन् । ७६ जना जेनजी पुस्ताको रगतबाट रक्तबिज जन्मिन सक्छ । शासन सत्ता शुद्धीकरणको साइत फागुन २१ हो ।
हुन त सरकार गठनदेखि चुनाव हुन महिनादिन जति बाँकी हुन्जेलमा जेनजी सपनामा धेरै प्रकारका चिसोपानी खन्याउने षडयन्त्र भइसकेको छ । कसैले जिम्मेवारी बिर्से, कतिले कर्तव्य भुले । कतिले जेनजीको सहादतलाई अपमान गरे । जेनजी आन्दोलनका समयमा भूमिगत भएकाहरु फेरि चुनावी मैदानमा हुँकार मार्न थालेका छन् । जसले ०४६ सालको बहुदलदेखि लोकतान्त्रिक गणतन्त्रसम्म शासन गरे र आफूमात्र सफल भए, देश र जनतालाई छटपटीमा पारे, तिनै तत्वहरुले चुनाव जित्नु भनेको राजनीतिले समाज परिवर्तन गर्न नसक्नु र फेरि पनि राजनीतिक बिचण्डताको निरन्तरता हुनु हो ।
शासन सत्ताका नेता, प्रशासकहरुले ठूलो घात गरेका छन् । झुट बोल्ने र झुक्याउने निरन्तरताको क्रमभङ्गता हुने समय यही हो । नीति, सिद्धान्त, निष्ठा र लोकलज्जाको लक्ष्मणरेखा कोर्ने बेला पनि यही हो । सिण्डिकेट, आलोपालो, नेपोटिजम, पपुलिजम, सर्वत्र राजनीतिकरण र अपराधको श्रृङ्खला बिच्छेद गर्ने, स्वाभिमान जगाउने अहिले नै हो ।
जर्जर भइसक्यो सामाजिक, आर्थिक, राजनीतिक, सांष्कृतिक, परम्परागत संष्कार । शासक र जनतावीचको मर्दै गएको विश्वास जगाउने र चरम वितृष्णमा आशा जगाउने अहिले नै हो । किनकि जनता अन्तिम निर्णायक हुन् । जनताले सहँदा सहँदा जनतालाई जनार्दनबाट दासको दृष्टिले हेर्नेहरुलाई सवक सिकाउने अवसर हो यो ।
जेनजी पुस्ताको आन्दोलनपछि देशको राजनीतिक फलाम तातेको छ, यहीबेला जनताले हम्मर हाने भने जनताले चाहेजस्तो हतियार बनाउन सक्छन् । त्यही हतियारले हातमुख जोर्ने वातावरण बनाउन सक्छ । जनताको गाँस, बास, कपास, स्वाभिमान बिर्सनेहरुलाई सवक सिकाउने समय यही हो र यहीँबाट विवेकपूर्ण युग सुरुआत हुनसक्छ । यसका लागि जनता निर्णायक हुन्, जनताको निर्णय भ्रष्टाचारविरोधी हुनुपर्छ, अपराधिकरणविरोधी हुनुपर्छ, जो जननजरमा बिझाएका छन्, तिनलाई चुनावबाटै संसद र सरकारमा जानबाट रोक्नुपर्छ । राजनीतिक ट्राफिक नियम लागू गर्नसक्ने ठाउँमा जनताको निर्णायकत्व आमइपुगेको छ ।
जनमत बिना नै राजनीतिले धेरै ख्यालठट्टा ग¥यो । मनलाग्दी निर्णय गरेर राजतन्त्र हटायो, संघीयता लागू ग¥यो, धर्मनिरपेक्षता थोपरेकै हो । समस्या बढ्दै गयो र दलहरुले राष्ट्रिय समस्या संवोधन गर्न चाहेनन् । जनताले खोजेको के हो ? त्यो कुरा फागुन २१ को चुनाव र चुनावपछि संवोधन चाहने हो भने जनताले काम गर्नसक्नेलाई मत दिनुपर्छ, संसद र सरकारमा पठाउनु पर्छ र न्यायपूर्ण समाज, सुशासन कायम गराउने र भ्रष्टाचारको अन्त्य गराउन सक्नुपर्छ ।
हामीले भोगेको सत्य के हो भने– जनबल, जनमत र जनविश्वासमाथि खेलबाड गर्नेहरुले देशलाई अन्धकार सुरुङ बनाइसके । डरलाग्दा तथ्य र तथ्याङ्कहरु सुइरो बनेर नेपाल र नेपालीमाथि घोचिरहेका छन् । समयभन्दा बलवान केही हुँदैन । यो समय जनता विवेकशील हुने समय हो । जनताको विवेकले शासन प्रशासन, समाजमा मृत्युतुल्य चेत, उर्जा, जगाउन सकिन्छ । जनताको विवेकपूर्ण निर्णयले राष्ट्रिय नीतिनिर्माण, शासन सत्तामा विवेकको पुनस्र्थापना हुनसक्छ । स्टन्ट, चर्का भाषण, चर्को आरोप प्रत्यारोप, भ्रमपूर्ण भाषण, पूरा नहुने सपना, लोभलालचमा फस्नु भनेको मृत्यु रोज्नु हो । निश्चय नै जनताले जीवन रोज्नेछन् । मासुभात, पैसामा योपल्ट भोट बिक्ने छैन । यहीपल्टदेखि चुनाव भनेको युद्ध हो, यो युद्धमा अपराध हार्नुपर्छ र जनमत जित्नुपर्छ भन्ने मान्यता स्थापित हुनसक्छ ।
यसको एउटै सर्त छ, जनतामा जागरण र चेत हुनुपर्छ । विवेकपूर्ण निर्णय गरेर विवेकीलाई जिताउनुपर्छ ।
नेपालीले खोजेको वर्तमान र भविष्य कस्तो हो ? यसमा नेताको लोभलालच–आश्वासन, बाहुबली र अपराधीको त्रासदी, बाह्य दबाब धेरै अल्झोहरु देखिन थालिसकेका छन् । यी सिस्नोका झाडी फाँडेर जनताले विवेकलाई रोज्न सके जीवन पाउनेछन् । शासक, प्रशासक, नागरिक समाजलाई पनि विवेकी हुन बाध्य पार्नसक्नेछन् । अन्धताको अन्त र उज्यालोको सुरुआत भनेकै फागुन २१ हो ।
यो चुनाव भुसुनाले जंगली हात्ती रुवाउने घटना सावित हुनुपर्छ । माल पाएर के गर्नु, चाल नपाएपछि । यो उखान जस्तो नहोस् फागुन २१ को चुनाव ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports