भुसुनाले हात्ती रुवाउने चुनाव हुनेभयो
वि.सं.२०८२ माघ १५ बिहीवार १२:५९
shares

आफूलाई राजनीतिका हात्ती सम्झनेहरु फागुन २१ को चुनावमा धुरुधुरु रुने स्थितिमा पुगे । जेनजी पुस्ताले जुन आश्चर्यजनक आन्दोलन गरिदियो, त्यसपछि ठूला पार्टी र अग्ला नेताहरु तिनले भुसुना सम्झेकाहरुबाट हायलकायल छन् । जो पाखा लागे, उनीहरुको राजनीति नै समाप्तीको किनारामा छ भने जो चुनावमा छन्, जति जति फागुन २१ को चुनाव नगिचिदैछ, तिनीहरु हारको भयले भयभित बनेका छन् ।
कसरी आफूलाई जिताउने, यही समस्या छ यिनको । तर आमनागरिकको चाहनाको लहर परिवर्तनतिर छ । आमनागरिकले परिवर्तन चाहेका छन्, परिवर्तनको लहरले धेरैलाई सकृय राजनीतिक सत्तामा रोकिदिएको छ भने धेरैको राजनीतिक क्रियाशीलता फागुन २१ को चुनावबाट रोकिने पक्का छ ।
तथापि प्रश्न एउटै छ– चुनाव त हुन्छ ? आन्तरिक अराजकता र बाह्य हस्तक्षेप दुबैको कारणले चुनावी माहोल आगोको भुङ्ग्रोजस्तो बन्न थालेको छ । भुङ्ग्रो सल्कनु डढेलो हो, अराजकता हो । भुङ्ग्रो सल्किन नदिन राजनीतिक दलहरु नै सचेत हुनुपर्छ, चुनावलाई स्वस्थ, स्वच्छ र शान्तिपूर्ण बनाउन अग्रसर हुनुपर्छ । अहिले चुनावी प्रतिस्पर्धीहरु जो अराजक अभिव्यक्ति दिइरहेका छन्, एकले अर्कोलाई खुइल्याउने तीता भाषण गरिरहेका छन्, यसपल्टको चुनावमा हिंसाका अप्रीय घटनाहरु घट्ने धेरैको अनुमान छ ।
ठूला दलहरुले जनतालाई देखाउनुसम्मको सपना देखाए । बाटोघाटो, घरघरमा ग्यासको पाइप, नदीमा पानी जहाज, मेट्रो सिटी, मेट्रो रेल, सिंगापुरको सपना पनि देखाएकै हो । नयाँ नेपाल बनाउँछु भन्नेहरुले भएकै नेपाललाई अस्तित्वको संकटमा पारिदिए, बिस वर्षमा जनताको आँखामा छारो हालेकै हो । रोजगारीका अवसर सिर्जना गर्न सकिने बजेट भ्यू टावरजस्ता अनुत्पादक क्षेत्रमा खर्च गरियो । भ्रष्टाचार बढाइयो । भएका उद्योग बन्द भए वा बेचिए । रोजगारी खोसियो, प्रत्येक वर्ष तैयार हुने ५ लाख युवाले रोजगारीका लागि विदेश दौडनु प¥यो । यतिबेला पहाडमा बुढाबुढी, बालबालिकामात्र छन्, सहरमा कमिशन, ठगी, लूट, भ्रष्टाचार, अपराधमात्र छ ।
यसकारण जनतामा राजनीतिप्रति निराशा बढेको हो । यी सबै असन्तुष्टिहरु जनताले सडकमा व्यक्त गरे, ड्य्राकुल्लाहरुले सुनेनन् । मार्कोसजस्ता भ्रष्टहरुको बिगबिगी देखियो । नेपोटिजम र नेपोबेबीइजमको स्वर्ग बन्यो नेपाल । नेपालको हालत सुडान, सोमालियाको जस्तो हुनपुग्यो । देशलाई बजेट आकारको ब्यापार घाटा र ३२ खर्ब राष्ट्रिय ऋणको खाल्डोमा हाले । कुशासनका कारणले राष्ट्रको स्तर ग्रेलिस्टमा पुगिसक्यो, ब्ल्याकलिस्टमा पर्ने खतरा बढिसक्यो । तैपनि अन्धा शासकहरु सचेत भएनन् । लोकतन्त्रको नामधारी भ्रष्ट शासकहरुले सामाजिक सञ्जाल बन्द गरिदिए । रोजगारीका गाडी संसारभरि दुःख झेलिरहेकाहरुले घरका बुढा आमाबा, परिवारजनसँग दुःखसुख साट्न पाएनन्, सन्चोबिसन्चो सोध्न पाएनन् । दुईचार पैसा कमाउन, पठाउन पाएनन् । अनि बाध्य भएर भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्न बाध्य भएका हुन् । यही आन्दोलन देशमा विद्यमान राजनीतिक बिकृति, बिसंगति, अपराधिकरणबाट मुक्तिको यूटर्न बन्नपुगेको छ । यूटर्न हुन्छ हुन्न, यसको फैसला फागुन २१ मा हुनेछ ।
यही आन्दोलनले दलहरुका भ्रष्टाचारी, दुराचारी सत्ता ध्वस्त पारिदिएका थिए । हुनुपर्ने त्यतिबेलै धेरै परिवर्तन थिए । हुनसकेनन् । त्यसपछि अन्तरिम सरकार गठन भयो र फागुन २१ मा नयाँ चुनाव हुँदैछ । यो चुनाव भयो भने नयाँ नेपालको निर्माण सुरु हुनेमा शंका नगर्दा हुन्छ । तर चुनाव हुनुपर्छ ।
चुनावपछि प्रस्थान विन्दुबाट देश नयाँ नेतृत्व चयन गर्न अग्रसर भएको छ । यो चुनावमा धेरै नयाँ पुस्ताका उमेदवार खडा भएका छन् । यो चुनाव निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा हुनसक्यो भने शासन सत्तामा विवेकशीलहरु पुग्न सक्छन् । काई, लेउ, ऐंजेरुहरु छाँटिन्छन् । ७६ जना जेनजी पुस्ताको रगतबाट रक्तबिज जन्मिन सक्छ । शासन सत्ता शुद्धीकरणको साइत फागुन २१ हो ।
हुन त सरकार गठनदेखि चुनाव हुन महिनादिन जति बाँकी हुन्जेलमा जेनजी सपनामा धेरै प्रकारका चिसोपानी खन्याउने षडयन्त्र भइसकेको छ । कसैले जिम्मेवारी बिर्से, कतिले कर्तव्य भुले । कतिले जेनजीको सहादतलाई अपमान गरे । जेनजी आन्दोलनका समयमा भूमिगत भएकाहरु फेरि चुनावी मैदानमा हुँकार मार्न थालेका छन् । जसले ०४६ सालको बहुदलदेखि लोकतान्त्रिक गणतन्त्रसम्म शासन गरे र आफूमात्र सफल भए, देश र जनतालाई छटपटीमा पारे, तिनै तत्वहरुले चुनाव जित्नु भनेको राजनीतिले समाज परिवर्तन गर्न नसक्नु र फेरि पनि राजनीतिक बिचण्डताको निरन्तरता हुनु हो ।
शासन सत्ताका नेता, प्रशासकहरुले ठूलो घात गरेका छन् । झुट बोल्ने र झुक्याउने निरन्तरताको क्रमभङ्गता हुने समय यही हो । नीति, सिद्धान्त, निष्ठा र लोकलज्जाको लक्ष्मणरेखा कोर्ने बेला पनि यही हो । सिण्डिकेट, आलोपालो, नेपोटिजम, पपुलिजम, सर्वत्र राजनीतिकरण र अपराधको श्रृङ्खला बिच्छेद गर्ने, स्वाभिमान जगाउने अहिले नै हो ।
जर्जर भइसक्यो सामाजिक, आर्थिक, राजनीतिक, सांष्कृतिक, परम्परागत संष्कार । शासक र जनतावीचको मर्दै गएको विश्वास जगाउने र चरम वितृष्णमा आशा जगाउने अहिले नै हो । किनकि जनता अन्तिम निर्णायक हुन् । जनताले सहँदा सहँदा जनतालाई जनार्दनबाट दासको दृष्टिले हेर्नेहरुलाई सवक सिकाउने अवसर हो यो ।
जेनजी पुस्ताको आन्दोलनपछि देशको राजनीतिक फलाम तातेको छ, यहीबेला जनताले हम्मर हाने भने जनताले चाहेजस्तो हतियार बनाउन सक्छन् । त्यही हतियारले हातमुख जोर्ने वातावरण बनाउन सक्छ । जनताको गाँस, बास, कपास, स्वाभिमान बिर्सनेहरुलाई सवक सिकाउने समय यही हो र यहीँबाट विवेकपूर्ण युग सुरुआत हुनसक्छ । यसका लागि जनता निर्णायक हुन्, जनताको निर्णय भ्रष्टाचारविरोधी हुनुपर्छ, अपराधिकरणविरोधी हुनुपर्छ, जो जननजरमा बिझाएका छन्, तिनलाई चुनावबाटै संसद र सरकारमा जानबाट रोक्नुपर्छ । राजनीतिक ट्राफिक नियम लागू गर्नसक्ने ठाउँमा जनताको निर्णायकत्व आमइपुगेको छ ।
जनमत बिना नै राजनीतिले धेरै ख्यालठट्टा ग¥यो । मनलाग्दी निर्णय गरेर राजतन्त्र हटायो, संघीयता लागू ग¥यो, धर्मनिरपेक्षता थोपरेकै हो । समस्या बढ्दै गयो र दलहरुले राष्ट्रिय समस्या संवोधन गर्न चाहेनन् । जनताले खोजेको के हो ? त्यो कुरा फागुन २१ को चुनाव र चुनावपछि संवोधन चाहने हो भने जनताले काम गर्नसक्नेलाई मत दिनुपर्छ, संसद र सरकारमा पठाउनु पर्छ र न्यायपूर्ण समाज, सुशासन कायम गराउने र भ्रष्टाचारको अन्त्य गराउन सक्नुपर्छ ।
हामीले भोगेको सत्य के हो भने– जनबल, जनमत र जनविश्वासमाथि खेलबाड गर्नेहरुले देशलाई अन्धकार सुरुङ बनाइसके । डरलाग्दा तथ्य र तथ्याङ्कहरु सुइरो बनेर नेपाल र नेपालीमाथि घोचिरहेका छन् । समयभन्दा बलवान केही हुँदैन । यो समय जनता विवेकशील हुने समय हो । जनताको विवेकले शासन प्रशासन, समाजमा मृत्युतुल्य चेत, उर्जा, जगाउन सकिन्छ । जनताको विवेकपूर्ण निर्णयले राष्ट्रिय नीतिनिर्माण, शासन सत्तामा विवेकको पुनस्र्थापना हुनसक्छ । स्टन्ट, चर्का भाषण, चर्को आरोप प्रत्यारोप, भ्रमपूर्ण भाषण, पूरा नहुने सपना, लोभलालचमा फस्नु भनेको मृत्यु रोज्नु हो । निश्चय नै जनताले जीवन रोज्नेछन् । मासुभात, पैसामा योपल्ट भोट बिक्ने छैन । यहीपल्टदेखि चुनाव भनेको युद्ध हो, यो युद्धमा अपराध हार्नुपर्छ र जनमत जित्नुपर्छ भन्ने मान्यता स्थापित हुनसक्छ ।
यसको एउटै सर्त छ, जनतामा जागरण र चेत हुनुपर्छ । विवेकपूर्ण निर्णय गरेर विवेकीलाई जिताउनुपर्छ ।
नेपालीले खोजेको वर्तमान र भविष्य कस्तो हो ? यसमा नेताको लोभलालच–आश्वासन, बाहुबली र अपराधीको त्रासदी, बाह्य दबाब धेरै अल्झोहरु देखिन थालिसकेका छन् । यी सिस्नोका झाडी फाँडेर जनताले विवेकलाई रोज्न सके जीवन पाउनेछन् । शासक, प्रशासक, नागरिक समाजलाई पनि विवेकी हुन बाध्य पार्नसक्नेछन् । अन्धताको अन्त र उज्यालोको सुरुआत भनेकै फागुन २१ हो ।
यो चुनाव भुसुनाले जंगली हात्ती रुवाउने घटना सावित हुनुपर्छ । माल पाएर के गर्नु, चाल नपाएपछि । यो उखान जस्तो नहोस् फागुन २१ को चुनाव ।






























