काला व्यापारीका संरक्षक साह कि लामिछाने ?
निष्पक्ष, धाँधलीरहित, भयरहित वातावरणमा निर्वाचन हुनेमा आशंका कायमै
वि.सं.२०८२ माघ १५ बिहीवार १३:०२
shares

देवेन्द्र चुडाल
काठमाडौ । फागुन २१ गते सम्पन्न हुने भनिएको प्रतिनिधिसभाको सदस्यका लागि हुने निर्वाचन हुनेमा अहिले अनेक प्रकारका आशंकाहरु उब्जिएका छन् । ती आशंकाहरुलाई बल पुग्ने वातावरणलाई राजनीतिक दलका नेताहरु र सरकारबाटै बल पु¥याइँदै गरेको छ । राजनीतिक दलका नेताहरुले दिने गरेका आपत्तिजनक अभिव्यक्तिले गर्दा निवार्चन हुन नसक्ने र निर्वाचन भइहाले पनि निष्पक्ष, धाँधलीरहित र भयरहित अवस्थामा जनताले मतदान गर्न सक्ने अवस्था देखिएको छैन ।
निर्वाचन सुरक्षा र मतदाताको बैयक्तिक अधिकार प्रतिकुल हुने गरी उत्तेजक एवं भड्काऊ अभिव्यक्ति दिने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । त्यस्ता अभिव्यक्ति दिने क्रम बढ्दै गएपछि राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोग र नेपाल प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी बढाउँदै लगेको देखिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले भड्काऊ र अरुको मानमर्दन हुने गरी अभिव्यक्ति दिनेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइसकेको छ ।
निर्वाचन सुरक्षा योजनामा खलल् पुग्ने गरी उत्तेजक अभिव्यक्ति दिँदै आएका केही व्यक्तिहरुलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको छ भने केही व्यक्तिहरु पक्राउ समेत परेका छन् । सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिनेहरुमा रास्वपाका नेताहरु बढी सक्रिय रहेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन साहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा झापा ५ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका केपी ओलीमाथि अनेक प्रकारका आरोप, प्रत्यारोप लगाउँदै सामाजिक सञ्जाल प्रयोग गरेर आपत्तिजनक अभिव्यक्ति दिइरहेकाले उनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।
प्रतिनिधिसभा निर्वाचन लक्षित गरेर प्रमुख दलका शिर्ष नेताहरु एउटै मञ्चमा बसेर सार्वजनिक बहस हुनुपर्ने विषय सार्वजनिक रुपमा उठेपछि पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले केही दिन पहिला सार्वजनिक सञ्जाल फेसबुकमा लेखेका सामाग्रीमा साहले कमेन्ट लेख्दै भड्काउपुर्ण अभिव्यक्ति दिएको हुनाले साहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । अध्यक्ष ओलीले पब्लिक डिवेटका लागि तयार छौँ । नयाँ र पुराना सबै दलहरु अहिले निर्वाचनमा होमएिका छौँ देश जलाउने र देश बनाउने पक्षबीचमा हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी देश बनाउने तर्फबाट मैदानमा छ भनेर ओलीले पोष्ट गरेका थिए । त्यसमा बालेन साहको कमेन्ट यस्तो रहेको थियो–‘आफूलाई देश जलाउने रुपमा स्वीकारेको ठीकै छ । हुन पनि नेताहरुको घर कता कता छन् तपाईलाई नै थाहा थियो तपाईले नै आफैँ भाद्र २३ गते बच्चाहरु मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो’ भन्ने कमेन्ट गरेका थिए ।
गत भाद्र २३ गते जेननजीहरुले गरेको विरोध प्रदर्शन हुँदा बालेन काठमाडौ महानगरका मेयर रहेका थिए, उनैको निर्देशनमा काठमाडौ महानगरका नगर प्रहरीले विरोध प्रदर्शनमा पानी बाँडेका थिए भने अहिले रास्वपाका उम्मेदवार रहेका सुदन गुरुङले आफू पानी बाँड्न आएको तर आफू जेनजीहरुको नेता नभएको बताएका थिए । भाद्र २३ गतेको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४ गतेको विध्वसात्मक घटना घटाएको र उनीहरुलाई साहले सहयोग गरेको आरोप साहमाथि लाग्दै आएको छ ।
भाद्र २४ गतेको घटनामा संलग्न रहेका र सिंहदरबार, संसद भवन, सर्बोच्च अदालतलगायत राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न सरकारी कार्यालय र केही व्यवसायिक भवनहरुमा आगजनी गर्नेहरुलाई अहिले रास्वपाले खोजी खोजी प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । उनीहरुले त्यस दिन गरेका कुकृत्यहरु अहिले पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रहेका छन् ।
सिंहदरबार सहित अन्य सरकारी भवन जलाउँदा आगो निभाउन काठमाडौ महानगरमा रहेका दमकलहरु किन प्रयोग गरिएन ? तत्कालिन मेयर साहको आदेश नभएको दमलक प्रयोग गर्न नसकिएको नगर प्रहरीहरुले नै सार्वजनिक रुपमा बताईसकेका हुनाले साहले लगाएको आरोपमा कुनै सत्यता देखिँदैन । आफुँ चोखो हुनका लागि मात्र उनले अनेक प्रकारका कमेन्ट गर्दै आएका छन् ।
अरुलाई काला बजारियाका संरक्षक रहेको आरोप लगाउँदै आएका साहले अहिले प्रयोग गरिहेका गाडी विभिन्न आरोपमा मुछिएका करेन्ट चाउचाउका मालिक रहेका मालपानीको छोराको नाममा रहेका प्रष्ट भएकोछ त्यही गाडी चढेर उनले आफ्ना विरोधी उद्योगपति र व्यापारीहरुको विरोध गरिरहनुले साह कसको संरक्षक रहेका रहेछन् भन्ने प्रष्ट हुँदैन र ? भाद्र २७ गतेको उनको स्टाटस हेर्दा लाग्छ साह नै भाद २३ र २४ गतेको घटनाका नाइके हुन् भन्ने प्रष्ट हुँदैन र ? भाद्र २७ गते सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दा अगाडि साहले लेखेको स्टाटस हेर्नुहोस् ।
भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुलाई उकास्ने कार्यमा समेत साह संलग्न रहेको उनको स्टाटस्बाटै प्रष्ट हुन्छ । भाद्र २७ गते सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि साहको सिफारिसमै हालका गृहमन्त्री ओम प्रकाश अर्याल गृहमन्त्री बन्न सफल भएका थिए भने अन्य केही मन्त्रीहरु समेत उनैको सिफारिसमा मन्त्री बनेका थिए । यी सबै तथ्यहरुले र अहिले रास्वपाले साहकै सिफारिसमा प्रतिनिधिसभाको उम्मेदवार बनाएको हुनाले रास्वपा पनि भाद्र २३ र २४ गते भएको विध्वंसात्मक कार्यमा संलग्न रहेको प्रमाणित भएको छ ।
साह रास्वपाका वरिष्ठ नेता बनेका र उनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि उनैको सिफारिसमा रास्वपाले १०÷१५ जनालाई उम्मेदवार बनाएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाउने कार्यमा समेत साहले प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेका रास्वपाकै नेता तथा कार्यकर्ताहरुले बताउँदै आएका हुनाले यस्ता व्यक्तिलाई मुलुकको प्रधानमन्त्री बनाएको खण्डमा मुलुकको अवस्था कस्तो होला ? रास्वपाले कुलमान घिसिङलाई समेत आफ्नो पार्टीमा समाहित गरेकोमा साहकै कारण घिसिङ रास्वपाबाट अलग हुनु परेको दुखेसो अहिले पोखिरहेका छन् भने रवि लामिछानेले आफू भ्रष्टाचारका मुद्दाबाट बाहिर नआएसम्म साहलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न लागि परेका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले सुदन गुरुङलाई आफ्नो जेठो छोरो भनेपछि त्यही जेठो छोरालाई उम्मेदवार बनाएर उनैमार्फत प्रधानमन्त्री कार्कीलाई दवाव दिएर रवि र साहले आफ्नो स्वार्थ पूरा गर्ने उदेश्यका साथ अघि बढेको भएपनि लामिछाने सबै मुद्दाबाट बाहिर आएपछि साहको हालत कस्तो होला ? त्यो भने हेर्न बाँकी नै रहेको छ । रास्वपाका एक नेता भन्दछन् ।



































