साम्पाङलाई समला राईको चेतावनीः समानुपातिक सांसद नबनाए ठीक हुँदैन
वि.सं.२०८२ फागुन २८ बिहीवार १७:२७
shares

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेसँगै समानुपातिक सांसद कसलाई बनाउने भनेर किचलो सुरु भएको छ । ३ लाख ८५ हजार समानुपातिक मत कटाएको श्रम संस्कृतिले चारजना समानुपातिक सांसद पाउँदैछ।
निर्वाचन आयोगमा ११० जनाकै समानुपातिक उम्मेदवारको सूचि पठाएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट (पुरुष) जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ । सातजनामा ३३ प्रतिशत महिला महिला संख्या सुनिश्चित गर्नुपर्ने हुन्छ । यस हिसाबले कम्तीमा दुईजना महिला समानुपातिकतर्फबाट सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टरहरु पनि मिलाउनुपर्ने हुन्छ ।
तर, समानुपातिकको बन्दसूचिबाट को–को उम्मेदवार सांसद हुने भनेर पार्टीभित्र भइरहेको किचलो सतहमा आएको छ । महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरु भइसकेको खुलासा गरेकी छन् । हिजो धरानमा केही मिडियासँग कुरा गर्दै महिला क्लस्टरमा अन्तिम नम्बरमा रहेकी उनले आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी संस्थापक हर्क साम्पङलाई दिएकी छन् ।उनले भनेकी छन्, ‘मभन्दा संघर्ष गरेर आएको कोही छ भने म छाडिदिन्छु । तर, जनजातिमा अरु गयो भने राम्रो हुँदैन । हर्क साम्पाङ ज्युले यो कुरा बुझ्नुपर्छ ।’
उनले थप भनेकी छन्, ‘मैले सबैसँग बुझेको छु, सांसद बनाउने विषय अध्यक्षको हातमा हुन्छ । मैले मेरो विषयमा हर्क समम्पाङ ज्युलाई भनिसकेको छु । यदि मेरो कुरा सुन्नुभएन भने… म जस्तो इमानदार मान्छेलाई गाली खुवाउने हो उहाँले ? उहाँलाई यो ठाउँसम्म पुर्याउन समलाको भूमिका कति छ ? यो समलालाई हेप्ने हो ?’सबैले अवसरको मौका मात्रै छोपे पनि आफू अहिलेसम्म सदस्यमा मात्रै बनेर पार्टीमा त्याग गरेको उनको दाबी छ । अहिले पदको लोभ गरेर आउने र हतारमा माथि जान खोज्नेहरुको पार्टीमा हालिमुहाली भएको समेत उनको भनाइ छ । उनले भनेकी छन, ‘कि त मभन्दा अगाडिदेखि दुःख गर्ने इमानदार मान्छे चाहियो । अहिले आएका नयाँ मान्छे समानुपातिकबाट घुस्यो भने राम्रो हुँदैन । त्यही भएर माथि समला जानुपर्छ ।’
पार्टीभित्र गुटबन्दी भइरहेको र श्रम संस्कृति पार्टी पुरानो पार्टी जस्तो बन्न नहुने समलाको तर्क छ । श्रम संस्कृतिको महिला क्लस्टरको सुचिको पहिलो नम्बरमा मन्दिरा मुक्तानको नाम छ । दोस्रोमा मिनादेवी सिंघक र तेस्रोमा आशा लामा छिन् । समानुपातिक सूचिमा प्रायः पहिलो नम्बरमा भएको उम्मेदवारलाई नै प्राथमिकता दिइने गरे पनि पार्टीले चाह्यो भने सूचीको क्रमसंख्या तलमाथि मिलाउन पाउँछ ।





































