बालेन सरकार सफल हुने पाँच पाइला
वि.सं.२०८२ चैत ५ बिहीवार ०९:४९
shares
रास्वपाका बरिष्ठ नेता बालेन साहले सरकार गठन गर्ने पक्का भयो । बालेन सरकार सफल हुनका लागि फुकी फुकी चाल्नुपर्ने ५ पाइला हुन्–
१. सुशासन र पारदर्शिता । यसका लागि भ्रष्टाचार र भ्रष्टाचारी नियन्त्रण, कर प्रणालीमा सुधार र प्रशासनिक प्रक्रियामा सरलता र पारदर्शि । डिजिटल शासनः ई–गभर्नेन्स विस्तार गरेर नागरिकले पाउने सेवा व्यवस्थित गर्नु ।
२. आधारभूत सेवा सुधार । नागरिकले खोजेका छन्– शिक्षा, स्वास्थ्य र रोजगारी । यसका लागि ठोस कदम चाल्नैपर्छ, लोककल्याणकारी शासन पद्धति अपनाउनैपर्छ ।
३. आर्थिक नीति । देशमै अवसर पाइन्छ, बाँच्न सकिन्छ भन्ने विश्वासको प्रत्याभूति । युवा उद्यमशीलता प्रोत्साहन, स्टार्टअप र प्रविधि क्षेत्रमा लगानी व्यापक पार्नुपर्छ । विदेशी लगानी आकर्षणः पारदर्शी कानुनी ढाँचा र लगानीमैत्री वातावरण तत्काल बनाउनुपर्छ । कृषि आधुनिकीकरण, ग्रामीण क्षेत्रलाई उत्पादन वृद्धि र बजार पहुँच पहुँचमा क्रान्ति नै ल्याउनुपर्छ ।
४. सामाजिक न्याय र समावेशीकरण । महिला, दलित, जनजाति र पिछडिएका समुदायलार्य समावेशीकरणमा जोड्नुपर्छ । राज्यका सबै सञ्जालमा जोड्नुपर्छ ।
५. दीर्घकालीन रणनीति । आन्तरिक र बाह्य नीतिलाई राष्ट्रियनीतिका रुपमा सर्वस्वीकार्य बनाउनुपर्छ । जलवायु परिवर्तनदेखि राज्यसञ्जाललाई सुधार गर्नुपर्छ । मेरो पनि सरकार हो, यो मेरो देश हो भन्ने विश्वास गाउँदेखि सिंहदरवारलाई जोड्नुपर्छ ।
६. राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य गरेर विज्ञ विशेषज्ञहरुसँग सुझाव लिएर द्वेषभाव निर्मलीकरण गर्दै प्रतिषोध, विभेदको अन्त गर्ने र देशमा शान्ति, एकता र समुन्नतिको जागरण ल्याउनुपर्छ । जनतामा उच्च आशा र अपेक्षा छ । त्यसलाई परिपूर्ति गर्ने यो मूल मन्त्र नै हो । बालेन सरकारमाथि जनताको विश्वासलाई ठोस नतिजामा रूपान्तरण गर्ने जिम्मेवारी छ । सुशासन, सेवा सुधार, रोजगारी सिर्जना र समावेशी नीतिमा ध्यान दिएर मात्र यो सरकार र रास्वपा सफल हुनसक्छ, जनमत र जनबल कायम रहनसक्छ ।
यतिबेला विश्व समाचारमा छ नेपालको राजनीतिक परिवर्तन । जेनजीले पाएको व्यापक जनादेश । दिल्लीदेखि बेइजिङ, काठमाडौंदेखि वाशिङ्टनसम्म, आजतकदेखि अलजजिरा, लण्डन टाइम्स, न्यूयोर्क टाइम्स सबैतिर नेपालमा जेनजी आन्दोलनले गरेको सत्ता परिवर्तन र निर्वाचनमा रास्वपाले ल्याएको प्रचण्ड बहुमतको चर्चा परिचर्चा भइरहेको छ । ¥यापर बालेन्द्र साहले गरेको मेयरको काम, गरेको संगठन र त्यही संगठनको बलमा ल्याएको राजनीतिक परिवर्तनले ७० नाघिसकेका परिपक्व राजनीतिक नेताहरुलाई असफल पारेर किनारा लगाएको विश्लेषण भइरहेको छ । दक्षिण एसियामा नेपालमा भएको राजनीतिक परिवर्तनलाई युवामा आएको जागरुकताको परिचायक मानिएको छ । नेपालको परिवर्तनले दक्षिण एसियामा मात्र होइन, विश्वका कैयन राष्ट्रहरुमा जेनजी पुस्तामा जागरणको सञ्चार नै गर्न थालेको देखिन्छ ।
पुराना र स्थापित दलहरुले जनतालाई कमजोर ठानेर दमन नीति, ल्ुटनीति चलाइरहे । जसको प्रतिरोधमा जेनजी पुस्ताले सफलता हासिल ग¥यो । जेनजी आन्दोलन र बालेन्द्रसहितका रास्वपाले शासकीय पद्धतिलाई असफलता सावित गरेपछि नेपालमा उदाएको बालेन्द्र युग कसरी अघि बढ्ला, कसरी सफल होला भन्ने चुनौतीलाई समेत विश्वभरिबाट पर्यवेक्षण भइरहेको छ । नवयुवा कसरी जाग्छन्, कसरी सफल हुन्छन् भन्ने प्रेरणा नेपाल बनिरहेको सन्दर्भमा बन्न लागेको रास्वपाको सरकार र बालेन्द्र साहको प्रधानमन्त्रीत्व असफल भयो भने के हुन्छ ? यसबारेमा पनि गहन चिन्तन मनन भइरहेको देखिन्छ, सुनिन्छ । स्मरणरहोस्, जेनजीले ल्याएको परिवर्तनलाई सफल पार्ने दायित्व छ, असफल हुने छुट जेनजीले ल्याइदिएको बालेन सरकारलाई हुनेछैन ।
मर्नुभन्दा बहुलाउनु राम्रो भनेझैं पुराना स्थापित कांग्रेस, एमाले, नेकपा, मधेसवादी र जातीय दलहरु चुनावमा जनताले नपत्याएपछि अन्यौलको अँध्यारोमा छटपटाउन थालेका छन् । यो निर्वाचनपछि २०४६ सालमा उदाएका नेता र पार्टीहरु कमजोर भए, असफल भए, निर्वाचनबाट पाखा लागे । नयाँपुस्ताले सत्ता सम्हाल्न लागेका छन् । पुराना किन कमजोर भए, असफल भए, नोज डाइभ गर्न बाध्य भए ? यही कारण पत्ता लगाएर नयाँले सफल हुने साशकीय स्वरुप तय गर्नुछ । जनतामा निकै आशा छ, भरोसा छ, जनआकांक्षा पूरा गर्छन् भन्ने विश्वास छ । यो विश्वासलाई कायम राख्नका लागि नयाँपुस्ताका लागि ढुंगा चपाउनुजस्तै चुनौती छ । जेनजी पुस्ताको सरकारले चाहेको हो, गर्न सकिदो रहेछ भनेर गरेर देखाउनुपर्ने भएको छ । नेपाली जेनजी पुस्तामा आँट र अक्किल, जोश र जाँगर, क्षमता छ भनेर नेपालका पुराना पार्टीलाई मात्र होइन, विश्वलाई देखाउनु परेको छ ।
पहिलेकाले ठूलै गल्ती गरेका हुन् । निरकंकूश भएकै हुन् । पुराना दलहरुले अहंकार गरे । राजनीतिक शक्तिहरुका पहिचान त गरे तर तिनलाई निषेध र विभेदकारी व्यवहार गरे । फलतः ०४६ सालदेखिका राजनीतिक मुद्दा कायम थिए, त्यसमाथि राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दालाई पनि संवोधन गरेनन् । पटक पटक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षबाट उजागर भइरहेको संवाद, सहमति र सहकार्यको आवाजलाई अहं अहंकारले थिचिरहे, मिचिरहे । जनताले जिल्ला जिल्लामा, क्षेत्र क्षेत्रमा राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा प्रदर्शन गरिरहे, पूर्वराजाको सम्मान र नागरिक अभिनन्दन पनि गरिरहे । यसबाट शिक्षा लिएर नेपाल निर्माताका सन्तानलाई यथा स्थान दिएको भए पुराना यसरी लज्जास्पद हारको स्थितिमा नपुग्न पनि सक्थे । जेनजी आन्दोलनले गरेका मागहरु न्यायोचित थिए, त्यसमा ध्यान दिन सकेको भए, ८ दशक पुराना दल र ७० नाघेका नेताहरुले यसरी मुख छोपेर जनादेशलाई मौनशिरोधार्य गर्नुपर्ने अवस्था आउने थिएन । पुराना दलहरुले निर्वाचन परिणाम स्वीकार गरेका छन् । शासनसत्ता चलाएको हेरौंला भन्ने भाव देखाएका छन् । यो परीक्षामा नयाँ पुस्ता खरो उत्रनेछन् भन्ने भरोसा नेपाली जनमानसमा देखिन्छ ।
ध्यान रहोस्, नयाँ पुस्ताको सरकार, बालेन्द्र साहका लागि असफल हुने छुट छैन । जनइच्छालाई संवोधन गर्नैपर्नेछ । संघीयताको खारेजीदेखि सुशासन ल्याउनैपर्नेछ । भ्रष्टाचारको अन्त्य गर्दै भ्रष्टाचारीमाथि कानुनी डण्डा चलाउनैपर्नेछ । यसका लागि प्राप्त जनविश्वास, जनाधारलाई सन्तुष्ट राख्न र पार्नका लागि देशको आवश्यकता भनेको संवाद, सहमति र सहकार्य नै हो र यही नै नयाँपुस्ताको सफलताको सूत्र पनि हो । यही माध्यमबाट हिमाल, पहाड, तराई आश्वस्त हुनेछ र सबै राजनीतिक शक्तिहरुले नयाँ पुस्ताको सरकारलाई समर्थन र सहयोग गर्न बाध्य हुनेछन् । खासगरी प्रत्येक वर्ष तैयार हुने ५ लाख युवाले यह िसरकारसँग हातेमालो गर्नेछन्, जसका कारणले स्वावलम्बन र आर्थिक उन्नतिका द्वारहरु खुल्नेछन् । निर्वाचन प्रचारका क्रममा बालेन्द्र साहले कर्णाली, धनुषा, झापादेखि विभिन्न क्षेत्रमा पुगेर गरेका संक्षिप्त तर साह्रै महत्वपूर्ण विषयहरु संवोधन हुनेमात्र होइन, नेपालमा रोजगारीको ढोका खुल्दै आफ्नै देशमा गरिखान पाइन्छ भन्ने आत्मविश्वास पलाउने छ । यही जग हो नयाँ पुस्ताको । नयाँपुस्ताले आउने ५ वर्षमा जनताको आवाज अनुसारको सांवेधन गर्न सके भने अर्को ५ वर्षपछिको चुनावमा प्रतिपक्षी नै नरहने स्थिति पनि आउनसक्छ ।
यसकारण रास्वपा र बालेन्द्र साहले बिर्सनै नहुने सफलताको साँचो हो– सहमति र सहकार्यलाई अँगालेर अघि बढ्नु । संकटमा परेको राष्ट्रलाई सकुसल राष्ट्रवादसहित अवतरण गराउनु ।
विविध जाति छन्, भाषा भेष छन् । क्षेत्रीयता सरल र बिकट छ । नेपाल अनेकतामा एकता कायम गर्नुपर्ने राष्ट्र हो । यो विविधतालाई एकतावद्ध पार्ने भनेकै संवाद, सहमति र सहकार्यले हो । यही नै पद्धति सुधार, सुशासन र आर्थिक उन्नतिका आधार पनि हुन् । बालेन्द्र साहजस्ता इन्जिनियरले नेपालको राजनीतिमा गर्नुपर्ने डिजाइन यही हो । बालेन्द्र साहको सरकारको सफलतामा जेनजी आन्दोलनको अभिष्ट निहित छ भन्ने बिर्सिन पुगेमा त्यो समय नेपालका लागि अर्को दुर्भाग्य हुनजानेछ । इन्जिनियर बालेन साह र रास्वपाको राजनीतिक चेतमा जनादेशको भारी छ । सफलता मिलोस्, शुभकामना ।































