आज कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवस मनाइँदै
वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:२४
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७७ औं स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विं.स. २००६ साल वैशाख ९ गते भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।
नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रुपमा स्थापना भएको नेकपाले सामान्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।
नेकपा स्थापना दिवसको अवसरमा आज नेकपा (एमाले)ले भव्य कार्यक्रमको आयोजना गरेको छ । एमालेले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो । कार्यक्रमलाई पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीहरुले पनि आज छुट्टाछुट्टै कार्यक्रम गरेर स्थापना दिवस मनाउने तयारी गरेका छन् ।


































