गणेश नेपाली आत्मदाह प्रकरण : आफन्तले शव बुझ्न गरे इन्कार
वि.सं.२०८३ असार २६ शुक्रवार १६:२१
shares

काठमाडौं । गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले शव बुझ्न इन्कार गरेका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी गरेका हुन् ।
जलनबाट गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा उपचाररत उनको शुक्रवार बिहान ११ः२० बजे निधन भएको हो ।गणेशको मृत्यु भएपछि उनका आफन्तले सरकारले उनीमाथि अन्याय गरेको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलनको तयारी गरिरहेका छन् ।
आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश नेपाली ३–४ वर्षअघि काठमाडौं आएका थिए । उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामा काम गर्दै आएका थिए ।बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगर प्रहरीले उनलाई रु १० हजार जरिवानाको चिट काटेको शाहीले बताए । आफन्तले नगर प्रहरी नै घटनाको जिम्मेवार हुनुपर्ने उनको माग छ ।





































