स्पेनमा आप्रवासीहरूको घुइँचो कम्तीमा ५७ जनाको निधन
वि.सं.२०८३ साउन १६ शनिवार १०:५१
shares

मस्कोबाट मोरक्को हुँदै स्पेनको उत्तर अफ्रिकी भूभाग सेउटामा आप्रवासीहरू प्रवेश गर्ने क्रममा कम्तीमा ५७ जनाको मृत्यु भएको छ। केवल २४ घण्टाको अन्तरालमा भएको ५० हजारभन्दा बढी विशाल आप्रवासीहरूको घुइँचोले ८५ हजार जनसङ्ख्या भएको उक्त सहरको व्यवस्थापन पूर्ण रूपमा तहसनहस पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मड्रिडमा ठूलो राजनीतिक संकट पैदा गरेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सञ्चेजले यो घटनालाई स्पेनको क्षेत्रीय अखण्डताको उल्लङ्घन भनी टिप्पणी गरेका छन् । सेउटा पुगेका प्रधानमन्त्री सञ्चेजले सहरका बासिन्दाहरूको सुरक्षाको प्रत्याभूति दिन आफ्नोतर्फबाट उपलब्ध सम्पूर्ण साधनस्रोत प्रयोग गर्ने बताए।प्रधानमन्त्री सञ्चेजले यो सामूहिक प्रवेशको कारण मानव तस्करी गर्ने माफियाहरू रहेको बताए।स्पेन सरकारले सेउटामा अस्थायी स्वागत केन्द्र स्थापना गरिने जनाएको छ, जसले कागजात तयार पार्ने, दर्ता गर्ने, वर्गीकरण गर्ने र स्पेनमा बस्ने कुनै कानुनी आधार नभएकाहरूलाई देश निकाला गर्न सहयोग गर्नेछ ।
स्पेन सरकारका अनुसार बिहीबार र शुक्रबार बिहानको सुरुवाती समयसम्म करिब ५० हजार मानिसहरू सीमा पार गरेर आएका थिए भने सेउटाका राष्ट्रपतिले यो सङ्ख्या करिब ६० हजार पुगेको बताएका छन्।अतिरिक्त प्रहरी र सैनिकहरू परिचालन गरेको स्पेनको गृह मन्त्रालयले शुक्रबार साँझ ६ बजेसम्ममा ४८ हजार ३०० भन्दा बढी मानिसहरू स्वेच्छाले मोरक्को फर्किसकेको जानकारी दिएको छ।धेरैजसोको डुबेर मृत्यु भएको छ भने केही मानिसहरू ताराजाल समुद्री किनारको ब्रेकवाटर बार पार गर्ने क्रममा चेपुवामा परेर ज्यान गुमाएका छन् ।
यो घटनापछि इटालीको दक्षिणपंथ सरकारले स्पेनलाई शेन्जेन फ्रि-मुभमेन्ट जोनबाट निलम्बन गर्नुपर्ने माग गरेको छ । इटालीका परराष्ट्रमन्त्री एन्टोनिया ताजानीले स्पेनले यसअघि १ लाखभन्दा बढी कागजातविहीन आप्रवासीहरूलाई वैधानिक बनाउने योजना ल्याएका कारण यो अवस्था सिर्जना भएको र यसले मानव तस्करीलाई प्रोत्साहन गरेको बताएका छन्।युरोपेली आयोगले सेउटा र मेलिल्ला विशेष शेन्जेन नियमहरूको अधीनमा रहेको र यसले जोनभित्र थप आवागमन रोक्ने स्पष्ट पारेको छ ।





































