सरकार स्वेच्छाचारिताको मार्गतर्फ उन्मुख
वि.सं.२०८३ असोज १५ बिहीवार ११:५७
shares

काठमाडौ । असोज १० गते सरकारले सर्बोच्च अदालतका पूर्व प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा पक्राउ गरी प्रहरी कार्यालयमा पु¥याएपछि प्रहरीले पूर्व न्यायाधिश राणालाई जेनजीहरुको थ्रेट रहेका बताएको थियो । २०८२ भाद्र २३ गते जेनजीहरुले विरोध प्रदर्शनलाई हाइज्याक गरेर आफ्नो स्वार्थ पूर्ति गर्नेहरु नै अहिले सत्तामा रहेको छ ।
बालेन सरकार त्यही जेनजीहरुको बुई चढेर सत्तामा पुगेको हो । तर अहिले आफ्नो असफलता लुकाउनैका लागि राणालाई जेनजीहरुको थ्रेट रहेका बताउँदै मध्यरातमा पूर्व प्रधानन्यायाधिशलाई पक्राउ गर्नु र करिब १२ घण्टापछि रिहा गर्नु विपक्षी दलहरुलाई तर्साउन खोज्नु नै हो । हामीले चाहेको खण्डमा पूर्व प्रधानन्यायाधिशलाई पक्राउ गरी १०÷१२ घण्टा प्रहरी कार्यालयमा कसैसँग भेटघाट गर्न नदिई राखौँ भने तिमीहरुलाई त के भन्ने देखाउन खोजेको हुन सक्छ ।
राणालाई भेट्न मानव अधिकार आयोगको टोलीलाई समेत दिएनन् । पूर्व प्रधानन्यायाधिश रहिसकेका व्यक्तिलाई प्रहरीले भेटन दिएन भने सामान्य मानिसको अवस्था कस्तो होला ? रास्वपा नेतृत्वको बालेन सरकार पछिल्लो समयमा संविधान ऐन कानुनको पालना गर्न चुकेको भएपनि त्यस विषयमा रास्वपा भने मौन रहेको छ । पूर्व प्रधानन्यायाधिश राणालाई पक्राउ गरेको विषयमा संसदमा कुरा उठेको भएपनि त्यस विषयमा नत रास्वपा बोलेको छ नत संसदमा रास्वपाका सांसदहरु नै बालेका छन् । मानौँ उनीहरुको मुखमा बुझो लागेको छ ।
रास्वपाका सांसद एवं प्रवक्ताले त यस विषयमा बोल्नुपर्ने आवश्यकता नै नभएको अभिव्यक्ति दिएका छन् । यहि विषयमा सर्बोच्च अदालतको फूल कोटको बैठक असोज १२ गते बसेको थियो सो बैठकमा प्रधानन्यायाधिश सहित सबै न्यायाधिशहरुको उपस्थिति रहेका थियो । सो बैठकले कानुनको पालना गर्न आग्रह गर्दै यस्तो कार्य स्वच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । दुई तिहाईको दम्भ र घमण्डले सरकार प्रतिशोधको राजनीतिमा मात्र लागेको छैन स्वेछाचारिताको मार्गतर्फ उन्मुख हुँदै गएको छ ।




































