तलेजु भवानीको दर्शन आज विहान ५ बजेदेखि नै सुरू
वि.सं.२०८३ कात्तिक ३ मंगलवार १२:०६
shares

काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् ।
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । तर त्यसभन्दा अघिदेखि नै दर्शनार्थीहरु लामबद्ध थिए ।
आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मन्दिरमा पूजा तथा दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।
यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला हुने गर्दछ । कोरोना महामारीका कारण २०७७ सालमा भने यो मन्दिर सर्वसाधारणका लागि पनि खुला गरिएको थिएन ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो ।
तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ ।
विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।






































