उत्तर कोरियाले नेता किमले गरे चिनियाँ सीमा शहरको अघोषित भ्रमण
वि.सं.२०८३ कात्तिक ८ आइतवार ०९:५४
shares

उत्तर कोरियाली नेता किम जोङ उन चिनियाँ सीमा-शहर दान्डोङमा अघोषित भ्रमणका लागि पुगेका सियोलको एक सरकारी स्रोत र दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले शनिबार (२४ अक्टोबर) बताएका छन् ।
गत हप्ता मात्रै आधिकारिक रूपमा खुलेको प्रमुख सीमा पुल पार गरेर नेता किम चीनको सीमा-शहरमा पुगेको पुष्टि भएको एएफपीले जनाएको छ ।भ्रमणबारे उत्तर कोरिया वा चीन कसैले पनि पूर्वजानकारी दिएका थिएनन् ।
दक्षिण कोरियाली सांसद युन कुन-योङका अनुसार किमले शनिबार चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेट गरेको ‘बुझिएको’ छ । दक्षिण कोरियाको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता युनले उत्तर कोरियाली नेता किम शनिबार नै स्वदेश फर्किने सम्भावनाबारे जानकारी प्राप्त भएको बताएका छन् ।चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्योङयाङका लागि कूटनीतिक, आर्थिक तथा राजनीतिक सहयोगको महत्वपूर्ण स्रोत हो । तथापि दुई देशबीचको सम्बन्ध सधैँ सहज भने रहँदैन ।
योन्हाप समाचार एजेन्सीले पहिलो पटक किमको आगमनको समाचार दिएको थियो, जसमा अज्ञात दक्षिण कोरियाली सरकारी स्रोतलाई उद्धृत गरिएको थियो । एक सरकारी स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार उत्तर कोरियाली नेता यालु नदीमा हालै खोलिएको नयाँ पुलमार्फत चीन प्रवेश गरेको देखिन्छ । सांसद युनले शुक्रबार नै सम्भावित भ्रमणबारे जानकारी पाएको बताएका छन् ।
यात्राको उद्देश्य स्पष्ट छैन, तर यसले अमेरिका-उत्तर कोरिया शिखर सम्मेलनको सम्भावनाबारे ‘सकारात्मक सङ्केत’ दिन सक्ने बताइएको छ ।विश्वका नेताहरू नोभेम्बरमा चीनको सेन्जेनमा हुने एपेक शिखर सम्मेलनको तयारीमा छन्, जहाँ किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न सक्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाली सरकारले चीनमा किमको कार्यक्रमको तालिका पुष्टि गर्न नसकेको बताएको छ । दक्षिण कोरियाली समाचार रिपोर्टहरूका अनुसार नयाँ यालु नदी पुल सन् २०१४ मा निर्माण सम्पन्न भएको थियो ।


































