इजरायल निर्वाचन : नेतान्याहू र आइजेनकोट दुवैलाई आउदैन स्पष्ट बहुमत
वि.सं.२०८३ कात्तिक ११ बुधवार ०८:५५
shares

काठमाडौं । इजरायलको संसद् नेसेट निर्वाचनको एग्जिट पोलले कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसक्ने देखाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी गदी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धन दुवै सरकार गठनका लागि आवश्यक ६१ सिटबाट टाढा देखिएका छन् ।
प्रमुख इजरायली टेलिभिजन नेटवर्कको एग्जिट पोलअनुसार १२० सदस्यीय संसद् (नेसेट)मा आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ५२ देखि ५३ सिट र नेतन्याहूको पक्षले करिब ५० सिट प्राप्त गर्ने अनुमान गरिएको छ । अरब पार्टीहरूले भने १७ देखि १८ सिट जित्ने प्रक्षेपण गरिएको छ ।यस निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको जनाइएको छ, जुन सन् १९९९ यताकै उच्च सहभागिता हो । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा युद्ध तथा लेबनान र इरानसँगको द्वन्द्वका बीच भएको निर्वाचनलाई नेतन्याहूको नेतृत्वप्रतिको जनमतका रूपमा हेरिएको छ ।
स्पष्ट बहुमत नआएपछि सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन वार्ता निर्णायक हुने देखिएको छ । नेतन्याहूले राष्ट्रिय एकताको सरकार गठनको संकेत दिएका छन् । तर, अति दक्षिणपन्थी नेता इतामार बेन–ग्भिरले आइजेनकोटसँग सहकार्य गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।यसैबीच, आइजेनकोटले जनताले परिवर्तनको पक्षमा मतदान गरेको दाबी गर्दै नेतन्याहू सरकारले विश्वास गुमाइसकेको बताएका छन् । उनले सबै समुदायको प्रतिनिधित्व गर्ने सरकार गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उता, नेतन्याहू आफ्नो दलभित्र सम्भावित दल बदल रोक्न र सरकार गठनका लागि राष्ट्रपतिबाट पहिलो आमन्त्रण प्राप्त गर्न राजनीतिक छलफल तथा लबिङमा जुटेको बताइएको छ ।एग्जिट पोलको यो अनुमानले इजरायलमा सरकार गठनको अनिश्चितता लम्बिन सक्ने देखाएका छन् । अन्तिम परिणाम र दलहरूबीचको सहमतिले आगामी सरकारको स्वरूप निर्धारण गर्नेछ ।



































