चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १२:०९
shares

काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली नकाट्न तथा पदयात्रा र पर्वतारोहणका गतिविधि स्थगित गर्न आग्रह गरेको हो।महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार जमिनमा प्रवेश गरेसँगै कमजोर बनेको चक्रवात ‘अर्नब’ हाल ‘डिप डिप्रेसन’ हुँदै ‘डिप्रेसन’ को रूपमा भारतको छत्तीसगढ आसपास तथा आन्ध्र प्रदेशको उत्तर–पश्चिमी भूभागमा अवस्थित छ। यसै मौसमी प्रणालीको अवशेषका कारण हाल नेपालभर साधारणतया बदलीको अवस्था रहेको छ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम स्तरको हिमपात तथा कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना देखिएको छ। देशका बाँकी भूभागका एक–दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षा हुनसक्ने आकलन गरिएको छ।आज रातिबाट भने वर्षाको गतिविधि थप बढ्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा र हिमपात हुनसक्ने देखिन्छ।
यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र मधेस तथा लुम्बिनी प्रदेशका तराई भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।मौसमविद् दाहालका अनुसार भोलि र पर्सि वर्षा तथा हिमपातको प्रभाव झनै बढ्ने देखिएको छ। महाशाखाले जारी गरेको चेतावनी नक्साअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने गरी रातो रङको चेतावनी दिइएको छ।ती हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेको छ। साथै, शुक्रबार र शनिबार अन्य भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने आकलन छ।
हाल धानबाली भित्र्याउने समय तथा पदयात्रा र पर्वतारोहणको अनुकूल मौसम भए पनि मौसमी जोखिमलाई ध्यानमा राखी सतर्क रहन अनुरोध गरिएको छ। ‘अहिले धानबाली काट्ने र पदयात्रा तथा हिमाल आरोहणको समय भए पनि आगामी दुई दिनलाई धान नकाट्न र पदयात्रा नगर्न म सबैमा अनुरोध गर्दछु,’ मौसमविद् दाहालले भनेका छन्। मौसम छिनछिनमै परिवर्तन भइरहने प्रकृतिको हुने भएकाले विभागको आधिकारिक वेबसाइट तथा मौसम पूर्वानुमान महाशाखाको सामाजिक सञ्जालमार्फत अद्यावधिक विवरण हेरेर मात्र आफ्ना नियमित काम तथा यात्रा तय गर्न महाशाखाले सबैमा सचेत गराएको छ।




































