प्रधानमन्त्री कार्यालयको निर्देशन पछि पत्रकारलाई पक्राउ गरिएको प्रहरीको भनाई
वि.सं.२०८३ कात्तिक १४ शनिवार ०९:४५
shares

काठमाडौँ – शुक्रबार समाचार लेखेको आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको विषयमा नेपाल प्रहरीले मध्यरातमा आधिकारिक भनाइ सार्वजनिक गरेको छ। प्रहरीका प्रवक्ता एवं एआइजी अभिनारायण काफ्लेले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सोधपुछका लागि पत्रकारहरुलाई नियन्त्रणमा लिएको ह्वाटस्एप ग्रुपमा जानकारी गराएका हुन्।
चौतर्फी विरोधपछि प्रधानमन्त्री कार्यालयले पक्राउमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दालले पक्राउमा प्रधानमन्त्री कार्यालयको कुनै हातमा रहेको दाबी गरेकी थिइन्। तर त्यसलाई खण्डन गर्दै प्रहरीले माथिकै निर्देशनमा प्रेसमाथि धरपकट हुन पुगेको जनाएको हो।
त्यसअघि सरकारका कुनै पनि निकायले पत्रकारहरू विश्वमणि सुवेदी धीरज बस्नेत सोबराज बराल सहितलाई किन पक्राउ गरियो र नयाँ पत्रिका र नेपाल प्रेस सहितका सञ्चार गृहमा धरपकट किन गरियो भन्ने विषयमा अनभिज्ञता प्रकट गरेका थिए। पक्राउ गर्ने तर अनभिज्ञता प्रकट गर्ने प्रहरी र सरकारी निकायको रवैयाको चर्को आलोचना भएपछि प्रहरीले प्रधानमन्त्री कार्यालयकै निर्देशनका आधारमा सञ्चार गृहमा धरपकट र पत्रकार पक्राउ गरी गएको औपचारिक जानकारी दिएका दिएको हो।
स्रोतहरूका अनुसार पत्रकार र सञ्चार गृहमाथि धरपकट गर्न शुक्रबार बिहानै प्रधानमन्त्रीका सल्लाहकार कुमार वेन र गृहमन्त्री सुदन गुरुङले आइजीपी दानबहादुर कार्कीलाई निर्देशन दिएका थिए। कार्कीले पत्रकारहरु पक्राउ गर्दा विरोध हुने र थेग्न नसक्ने हुँदा यस्तो काम गर्न नहुने अडान लिए पनि दबाबपछि प्रहरी परिचालन गरिएको थियो।
प्रहरीको वक्तव्य–
हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादन अन्तर्गतको सही मनसाय हो। यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।




































