कस्तो रहला आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का बर्षाको सम्भावना, तराईको मौसम सफा रहने
वि.सं.२०८३ कात्तिक १७ मंगलवार ०९:२५
shares

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ । तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
मंगलबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।यस्तै, राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।


































