kumari
stcnepal

होला त विशेष अधिवेशन

काठमाडौ । संघीय संसदको बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी दलले संसदको विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिन सक्ने सम्भावना बढेको छ । सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्वले गर्दा प्रधानमन्त्री केपीओलीले संसदको अधिवेशन स्थगित गर्न १८ गते असारमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएका थिए । मन्त्रिपरिषद्को सिफारिस अनुसार १८ गते बेलुका ५ बजेपछि संसदको अधिवेशन अन्त्य भएको सूचना राष्ट्रपति कार्यालयबाट जारी भएको थियो ।

संसदको अधिवेशन अचानक बन्द गरिएपछि कांग्रेस सहितका अन्य दल र सत्ताधारी दलकै केही सांसदहरुले त्यसको विरोध गरेका थिए । प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्दै सत्ताधारी दलका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल सहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल पार्टीका उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले गोप्य सहमति गरि राष्ट्रपतिलाई समेत हटाउन सक्ने रणनीति लिएको आशंकामा प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरी सोही अनुसारको निर्णय मन्त्रिपरिषद्को बैठकबाट गराएका थिए । पछिल्लो समयमा प्रधानमन्त्रीलाई राजिनामा दिन बाध्य पार्ने रणनीतिमा पार्टीको सचिवालयका बहुमत सदस्यहरु र स्थायी कमिटीका बहुमत सदस्यहरु लागेका हुनाले आफूमाथि अविश्वासको प्रस्ताव समेत संसदमा पेश हुन सक्ने आशंका प्रधानमन्त्री ओलीलाई रहेको थियो । त्यही कारण संसदको अधिवेशन स्थगित गरिएको थियो ।

संसदको बैठक अन्त्य भएको अवस्था भएपनि कांग्रेस सहित अन्य दलहरुले विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई गुहार गर्न सक्ने सम्भावना रहेको छ । प्रतिनिधिसभाका २७५ मध्येका एक चौथाई सांसदहरुले विशेष अधिवेशन बोलाउन निवेदन गर्न सक्ने भएपनि राष्ट्रपतिले कति दिनभित्रमा अधिवेशन बोलाउनुपर्दछ भन्ने संविधानमा व्यवस्था नभएकाले गर्दा केही असहज हुन सक्ने देखिन्छ । कांग्रेस र जनता समाजवादी पार्टीलाई विशेष अधिवेशन बोलाउन पुष्पकमल दाहाल र माधव नेपाल पक्षले समेत सहयोग गर्न सक्ने सम्भावना देखिएको छ ।

footer