kumari
stcnepal

नेकपाभित्रको द्वन्द्वको अचुक औषधी महाधिवेशन

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वले उग्ररुप लिईरहेका बेला सो पार्टीका केन्द्रीय सदस्यहरु एक सय ५२ जनाले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने माग गर्दै पार्टी कार्यालयमा निवेदन पत्र बुझाएका छन् । नेकपाभित्रको आन्तरिक द्वन्द्वलाई मिलाउन नेकपाको स्थायी समितिको बैठक असार १० गतेबाट सुरु भएको थियो । यो बीचमा पटक पटक गरेर बैठक १० पटक स्थगित भईसकेको छ । नेकपाको सचिवालय बैठक हुँदै स्थायी समितिको बैठकमा पार्टीका दुई अध्यक्ष मध्येका कहिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत पुग्ने त कहिले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्षमा बहुमत पुग्ने भएपछि दुवै अध्यक्षहरुले आ–आफ्नो स्वार्थअनुसार सचिवालय र स्थायी समितिको बैठक स्थागित गर्दे आएका थिए । पार्टीका केन्द्रीय सदस्यहरु अब सचिवालयको बैठक र स्थायी समितिले विवादको समाधान दिन नसक्ने भन्दै महाधिवेशन पछिको शक्तिशाली केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने माग गर्नेहरु अध्यक्ष दाहाल पक्ष र पार्टीका चौथो वरिष्ठता क्रममा रहेका माधव नेपाल पक्षमा केन्द्रीय सदस्यहरु मात्र रहेका छन् । पार्टीका उपाध्यक्ष वामदेव गौतमले अस्ति मात्र पार्टीभित्रको विवाद मिलाउन ६ बुँदे प्रस्ताव पार्टीका दुवै अध्यक्षलाई बुझाएका छन् । उपाध्यक्ष गौतमको प्रस्तावहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बल पु¥याउने भन्दै दाहाल नेपाल पक्षले आ–आफ्ना गुटका केन्द्रीय सदस्यहरुलाई पार्टीको केन्द्रीय समितिको बैठक माग गर्न निर्देशन दिएनुसार उनीहरुले पार्टीका केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

पार्टीका उपाध्यक्ष गौतमले अघि सारेको ६ बुँदे प्रस्ताव पार्टीको एकीकृत महाधिवेशनसम्म केपी ओली अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहि रहने र पार्टीको महाधिवेशनपछि हालको प्रतिनिधिसभाको कार्यकाल भरी ओली नै प्रधानमन्त्री रहिरहने र महाधिवेशनसम्म पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको हैसियतमा रहेर विना अवरोध पार्टी सञ्चालन गर्न प्रस्ताव अघि सारेका छन् । उपाध्यक्ष गौतमले अघि सारेका प्रस्तावलाई दाहाल–नेपाल पक्षले गौतम ओली गुटमा गईसकेका अर्थ लगाएका छन् । पार्टीको सचिवालय बैठकमा बहुमतका आधारमा निर्णय हुने भए अब गौतम ओली पक्षमा गएको खण्डमा ओली पक्षको बहुमत पुग्ने सक्ने देखिएकोले दाहाल नेपाल पक्षले केन्द्रीय समितिको बैठकबाटै आफ्ना निर्णयहरु गराउन केन्द्रीय समितिको बैठक बोलाउन आफूँ पक्षीय केन्द्रीय समितिका सदस्यहरुलाई निर्देशन दिएनुसार पार्टीको केन्द्रीय समितिको बैठक माग गरिएको हो ।

नेकपाको सचिवालयमा ९ सदस्य रहेका छन् । पछिल्लो समयमा वामदेव गौतम समेतले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुनर्पे माग गरेपछि ओली अल्पमतमा परेका थिए । पछिल्लो समयमा पार्टीलाई विभाजन हुनबाट जोगाउनका लागि भन्दै गौतमले नै ६ बुँदे प्रस्ताव ल्याएपछि उनी ओली गुटमा पुगेका छन् । सचिवालयमा प्रधानमन्त्री केपी ओली अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, सदस्य रहेका छन् ।

पछिल्लो समीकरण अनुसार दाहाल पक्ष झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ रहेका छन् भने ओली पक्षमा विष्णु पौडेल, इश्वर पोखरेल र ६ बुँदे प्रस्तावको प्रस्तावक वामदेव गौतम थपिएका हुनाले अब ओली पक्षले सचिवालयबाटै सबै समस्याको समाधान खोज्नुपर्ने बताएको छ । गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री ओलीले अहिलेकै अवस्थामा राजिनामा दिनु नहुने अडानमा रहेकाले दाहाल नेपाल पक्षले माग गरेको प्रधानमन्त्री ओलीको राजिनाका विषयमा थापाले ओली पक्षलाई सघाउने भएपछि सचिवालयमा समेत ओली पक्षमा बहुमत पुग्ने प्रायः निश्चित रहेको छ ।

नेकपाभित्रको आन्तरिक विवादले गर्दा मुलुक र सरकार नै एक प्रकारले लकडाउन रहेको जस्तो देखिएको छ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा सरकार सञ्चालन मै समस्या देखिएको र जनताले पाउनुपर्ने सेवा सुविधा समेत पाउन नसकेको अवस्थामा वामदेव गौतमले प्रस्ताव गरेको ६ बुँदे प्रस्तावले समस्याको समाधान हुन सक्छ ? नेकपाको अहिलेको विवादको अचुक औषधी भनेको महाधिवेशन नै हो । महाधिवेशनबाटै सबै समस्याको समाधान हुनसक्ने भएकाले जति सक्दो छिटो महाधिवेशन गरेर समस्याको समाधान नखोज्ने हो भने नेकपाको विभाजनलाई कसैले रोक्न सक्ने अवस्था रहँदैन ।

footer