kumari
stcnepal

कोरोना भाइरसले उग्ररुप लिन सक्ने

काठमाडौ । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा मुलुक आक्रान्त भएको छ । सो कोरोना भाइरसलाईलाई रोकथाम र नियन्त्रण गर्न भनेर सरकारले गत चैत्र ११ गतेदेख मुलुकभरमै लकडाउन लागू गरेको थियो । लकडाउन लागु गर्दा जम्मा २ जना संक्रमित मात्र भेटिएका थिए । पटक पटक लकडाउन थप गरेर श्रावण ६ गतेसम्म पु¥याइएकोमा सरकारले श्रावण ७ गतेदेखि लकडाउन हटाएको छ । लकडाउन हटाउनु अघि केही खुकुलो पारिएको भएपनि संक्रमितहरुको संख्या थपिँदै गएको थियो । संक्रमितहरुको संख्या केही मात्रामा घटेपनि पूर्ण रुपमा कोरोना भाइरस नियन्त्रणमा आइनसकेको अवस्थामा सरकारले लकडाउन हटाएकोले गर्दा मानिसहरुको भीडभाड बढ्न थालेको छ । सवारीका साधनहरु सञ्चालन हुन थालेका छन् भने हवाई यात्रा समेतत आउँदो भाद्र १ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको छ । लामो दुरीका सवारी साधनहरु समेत सञ्चालनको तयारीमा रहेकाले अब मानिसहरुको आवात जावातमा बृद्धि हुने भएकाले गर्दा कतै कोरोना भाइरसले महामारीकै रुप लिन्छ कि भन्ने आशंका समेत उब्जिएको छ ।

खास गरेर मधेश, तराईका जिल्लाहरुमा अहिलेपनि संक्रमितहरुको संख्या बढिरहेको छ । काठमाडौ उपत्यकामै संक्रमितहरु देखिन थालेका हुनाले सरकारले हतार हतारमा लकडाउन हटाएको आरोप समेत सरकारमाथि लाग्दै आएको छ । स्वास्थ्य विज्ञहरुले अहिलेकै अवस्थामा लकडाउन हटाउनुले गर्दा कोरोना भाइरसले भयावह अवस्था आउन सक्ने बताइरहेके छन् । मन्त्रिपरिषद्को बैठकले लकडाउन हटाउने सुझाव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको बताएता पनि स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गरेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका पदाधिकारी र स्वास्थ्य विज्ञहरुले कम्तिमा श्रावण महिनाभरी लकडाउन जारी राख्नुपर्ने सुझाव कोभिड–१९ उच्चस्तरीय समितिलाई दिएपनि समितिले आफ्नो सुझावलाई वेवास्ता गरेको बताइरहेका छन् ।

अहिले पनि कोरोना संक्रमितहरुको संख्या घटेको देखिएको छैन । परीक्षण नै कम गरिएकोले गर्दा संक्रमितको संख्या घटेको जस्तो देखिएको मात्र हो । खास गरेर उक्त भाइरसले प्रदेश नं. २, नं. ५ कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा व्यापक प्रभाव पारेको छ । भारतसँगको खुल्ला सीमानाका कारण भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुबाटै संक्रमण सर्ने गरेको र नेपालसँग सीमाना जोडिएको भारतका जिल्लाहरुमा व्यापक मात्रामा कोरोनाको संक्रमण देखिएको हुनाले सर्तकर्ता नअपनाइको अवस्थामा कोरोना भाइरस समुदायमा पुग्नसक्ने सम्भावना समेत रहेको छ । भारतमा समेत लकडाउनमा केही खुकुलो पारिएपछि संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । लकडाउनमा केही खुलुलो पार्नुअघि भारतमै प्रत्येक दिन ७÷८ हजार संक्रमितहरु देखिने गरेकोमा अहिले ३५÷३६ हजारमा संक्रमण भेटिएका छन् । त्यसैले जनस्वास्थ्य विज्ञहरुले अहिलेकै अवस्थामा हतार हतारमा लकडाउन हटाउन नहुने अभिव्यक्ति दिँदै आएका भएपनि सरकारले स्वास्थ्य विज्ञहरुको कुरै नसुनी लकडाउन हटाएको छ ।

लकडाउन हटाएपनि विभिन्न प्रदेशहरुमा संक्रमितहरुको संख्या बढेको छ । उपत्यकामै प्रत्येक दिन केही संक्रमितहरु भेटिएका छन् । आजसम्म समुदायसम्म कोरोना भाइरस नपुगेको भएपनि लकडाउन हटाइएकोले गर्दा अब समुदायसम्म संक्रमण पुग्नसक्ने सम्भावना देखिएको छ । कोरोनो संक्रमितको संख्या बढेको भन्दै सप्तरीको राजविराज नगरपालिकामा निषेधाज्ञा नै जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी भएको छ । सरकारले बुधबारबाटै लकडाउन हटाएको थियो । त्यही दिनबाटै राजविराजमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसकै कारण त्यहाँका ७२ वर्षीय एक बृद्धाको निधन भएको थियो । उनको परिवारका सबै सदस्यहरु संक्रमित भएका र उनीहरुबाट पनि अरुलाई सरेकाले समुदायमै संक्रमण पुगेको आशंका गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । राजविराजमा मात्र एकै दिनमा धेरे संक्रमितहरु थपिँदै गएका छन् । कतिपय जिल्लामा प्रहरीहरुमा समेत कोरोना भाइरस देखिएको छ । कतिपय जिल्ला प्रहरी कार्यालयहरुमा प्रवेश निषेध समेत गर्न थालिएको छ । स्याङ्गजा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुमा समेत कोरोना भाइरस सरेको छ । यी सबै कारणहरुले गर्दा अहिलेकै अवस्थामा लकडाउन हटाउनु उपयुक्त थिएन ।

संक्रमितको संख्या अहिले पनि धेरै रहेको छ । लकडाउन हटेपछि बजारमा चहल पहल बढने र सामाजिक दुरी समेत कायम नहुने भएकाले संक्रमितको संख्या बढ्न सक्ने देखिन्छ । उपत्यकामै सञ्चालनमा आएका सवारीका साधनहरुमा सामाजिक दुरी कायम हुन सकेको छैन । टेम्पोहरुमा कोचाकोच गरेर मानिसले यात्रा गर्ने गरेका हुनाले संक्रमितको संख्या बढ्न सक्छ । सरकारले विज्ञहरुको सुझावलाई नसुनी लकडाउन हटाएकोले संक्रमितको संख्या बढेर संक्रमणले भयावह अवस्था लिएको खण्डमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्दछ । ओली सरकारले अरुको कुरा सुन्न जानेको छैन । सबै कुरा आफैँले मात्र जानेको छ जस्तो गरेर काम गरिरहेको हुनाले लकडाउन समेत हटाएको छ । त्यो पनि हतार हतारमा आँखिरी किन ?

footer